लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक पशुपति शर्मा
जनकपुरधाम । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं महाधिवेशनले प्रसिद्ध गायक पशुपति शर्मालाई अध्यक्ष निर्वाचित गरेको छ । शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष थिए । यसैगरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएको प्रतिष्ठानको नवौं महाधिवेसनका निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले जानकारी दिए ।
बिहीबार बर्दिबास–३ गौरीडाँडामा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले उद्घाटन गरेको महाधिवेशनमा उद्घाटनसत्र समापनसँगै निर्वाचन कार्यक्रम सुरु भएको थियो । प्रतिष्ठानमा ३८ पदाधिकारी र ३७ सदस्यसहित ७५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ ।
सर्वसम्मत भएका र शुक्रबार विद्युतीय मेसिनबाट भएको मतदानको परिणाम शनिबार समापन कार्यक्रममा घोषणा गरिने प्रतिष्ठानको निर्वाचन समितिले जनाएको छ । सातै प्रदेश, ७० जिल्ला र विदेशस्थित शाखासहित १०० वटा समितिबाट एक हजार ५०० प्रतिनिधि महाधिवेशनमा सहभागी छन् । महाधिवेशन नयाँ नेतृत्वको घोषणासँगै शनिबार समापन हुने जनाइएको छ ।







प्रतिकृया दिनुहोस