बुढीगण्डकीमा यस कारण आएकाे थियाे बाढी

काठमाडाैं। गोरखाको बुढीगण्डकीमा आएको बाढीको उद्गम क्षेत्रनजिकैको साँघुरो र ठाडो खोलामा हिलोमाटोको छिटा अग्ला रुखसम्म पुगेको देखिएको छ ।  

आइतबार श्री एयरलाइन्सको हेलिकप्टर चार्टर गरी हवाई रेकी गरेको साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिका प्रबन्ध निर्देशकले सुशील थापाले त्यहाँबाट फर्केपछिको अवस्थाबारे कान्तिपुरसँग बताए ।

थापाका अनुसार बुढीगण्डकीको सहायक खोला स्यार खोलामा मिसिने उङ्गेलिङ खोला क्षेत्रको माथिल्लो भागमा ठूलो पहिरो गएको देखिएको छ । 

बाढी पुर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीले पनि चुमनुव्री-६ तुम्जेमा पहिरोले उङ्गेलिङ खोला थुनिएको बताए । उनले भने, 'भू-उपग्रहका तस्बिर हेर्दा चुमनुव्री-६ तुम्जेमा पहिरो गएको देखिन्छ । शनिबार साँझ नै पहिरो गएको हो ।' 

बाढी बेनीघाट पार गरिसकेकाले तल्लो तटीय क्षेत्रमा बाढीको उच्च जोखिम नरहेको पनि उनले बताए । आरुघाटमा रहेको जलमापन केन्द्रको सेन्सर बगाएको पनि उनले जानकारी दिए । 

पहिरो गएको ठाउँनजिकै पुगेर गरिएको हवाई निरीक्षणमा ढुंगामाटो खसिरहेको र खोलाको तीव्र बहावले हिलोमाटो माथिसम्म उडाएको देखिएको थापाले बताए । ‘त्यहाँ एकदम ठाडो खोला छ । तीव्र वेगमा आउँदा हिलो माटो उडेर माथिमाथिसम्म पुगेको देखिन्छ । कुनैकुनै ठाउँमा अग्ला रुखको टुप्पोसम्मै हिलो पुगेको देखिएको छ,’ थापाले भने, ‘पहिरो गएको देखिन्छ र अहिले पनि खसिरहेको छ ।’

पहिरो गएको क्षेत्रबाट टाइम्स इनर्जीको आयोजनास्थल करिब १० किलोमिटर तल रहेको छ । बाढीले चुमनुब्री-३ सल्लेरीमा निर्माणाधीन ३४१ मेगावाटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प र केही उपकरणसमेत बगाएको छ ।

हवाई निरीक्षणमा संलग्न एक पाइलटका अनुसार माथिल्लो पहाडी भागमा पहिरो गएको स्थान हवाई दृश्यबाट देखिएको थियो । बाढीमा कालो लेदो बगेको र तल्लो क्षेत्रमा पानीको बहाव असामान्य देखिएको ती पाइलटले बताए । ‘पानी परेर पहिरो बगाएको जस्तो अवस्था थिएन । माथिल्लो क्षेत्रमा के भएको हो भन्ने कुरा हेर्न गएका थियौं,’ पाइलटले भने । 

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे बाढीसम्बन्धी प्रारम्भिक जानकारी प्राप्त भएको बताएको छ । उक्त क्षेत्रमा पछिल्लो २४ घण्टामा छिटपुट मात्र वर्षा भएकाले तत्कालीन वर्षाका कारण बाढी आएको सम्भावना नदेखिएको महाशाखाको विज्ञप्तिमा उल्लेख छ । घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको महाशाखाले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर