• २०८३ असोज २७ मंगलबार
  • Tuesday, 13 October, 2026

भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ हुँदै

काठमाडौँ । सरकारले विभिन्न चार देशका लागि सिफारिस गरेका राजदूतहरूको संसदीय सुनुवाइ हुँदैछ । संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्न लागेको हो । 

राजदूतमा सिफारिस व्यक्तिहरूको सुनुवाइ गर्नुपहिले संसदीय सुनुवाइ समितिले उजुरीकर्ताहरूसँग छलफल गरेको छ । संसदीय समितिमा दुई देशका लागि सिफारिस गरिएका राजदूतहरूविरुद्ध उजुरी परेको थियो ।

जापानका लागि राजदूतमा सिफारिस जिज्ञानकुमार थापा र साउदी अरेबियाका लागि राजदूत सिफारिस गिरीबहादुर सुनारविरुद्ध उजुरी दिने व्यक्तिहरूसँग समितिले छलफल गरिरहेको छ ।संसदीय सुनुवाइ समितिमा कार्यरत सहसचिव लक्ष्मीप्रसाद गौतमका अनुसार उजुरीकर्ताहरूसँगको छलफल लगत्तै प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु हुनेछ ।

'गणतन्त्र भारतका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति डा. निश्‍चल नाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति चिरनजङ्ग थापा र संयुक्त अधिराज्यका लागि राजदूत पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्ति गौरव शमशेर जबरालाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गर्ने,' समितिको कार्यसूचीमा उल्लेख गरिएको छ ।

मन्त्रिपरिषद्काे असोज २ को बैठकले १३ देशका लागि राजदूत सिफारिस गरेको थियो । जसमा भारतका लागि पाण्डे, चीनका लागि शर्मा, अमेरिकाका लागि थापा, बेलायतका लागि पूर्वप्रधानसेनापति जबरा, जापानका लागि थापा, इजरायलका लागि  सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सरु जोशी, ओमानका लागि पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्राडा संगम श्रेष्ठ, श्रीलंकाका लागि मंचला झा र साउदी अरेबियाका लागि सुनार रहेका छन् ।

समितिले सोमबारदेखि प्रस्तावित राजदूतहरूको निरन्तर सुनुवाइ हुने जानकारी दिएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर