• २०८३ असोज २८ बुधबार
  • Wednesday, 14 October, 2026

कांग्रेस पदाधिकारीमा विजेता यी हुन् देउवा पक्षीय नेता

काठमाडौँ । कांग्रेस महाधिवेशनले पदाधिकारीमा विशेष महाधिवेशन पक्षधर नेतालाई नै अनुमोदन गरेको छ । सभापति गगन थापासहित मुख्य पदाधिकारीमा धेरैजसो विशेष महाधिवेशन पक्षधर निर्वाचित हुनुले पार्टीमा भएको नेतृत्व परिवर्तनलाई नियमित महाधिवेशनले समेत स्विकारेको देखाएको छ । अझ निर्वाचित भएका पदाधिकारीमा पुरानाे लिगेसी हेर्ने हाे भने देउवा पक्षमा खुलेका नेताहरु पनि प्रसस्त छन्।

यस परिणामले पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट आएका नेताहरूलाई भावनात्मक रूपमा जोडेर लैजाने दिशामा भने सभापति थापाका लागि थप चुनौती आउन सक्ने देखिएको छ । महामन्त्री निर्वाचित उदयशमशेर राणा सबैलाई एकताबद्ध बनाएर लैजाने विषयमा कुनै कमी नहुने बताउँछन् । ‘सबैलाई जोडेर सिंगो पार्टी एक भएर सभापतिको नेतृत्वमा अब स्थानीय निर्वाचनको तयारीमा जुट्छौं,’ उनले भने । 

देउवा पक्षबाट आएका नेताहरूलार्ई जोडेर लैजाने उद्देश्यका साथ पदाधिकारीको संख्यासमेत बढाइएको थियो । यसअघि १४ पदाधिकारी रहेकामा उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहितको संख्या बढाएर २५ पुर्‍याइएको थियो । प्रवक्तासमेत यस पटकदेखि विधानमै व्यवस्था भएकाले पदाधिकारीको संख्या २६ पुगेको छ । 

आइतबार राति थप ६ पदाधिकारीको परिणाम आएको छ भने सहमहामन्त्रीतर्फको नतिजा आउन बाँकी छ । उपसभापतिको दुई खुला पदमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा एक समावेशी पदमा विनोदकुमार चौधरी निर्वाचित भएका छन् । महामन्त्रीको दुई खुला पदमा प्रदीप पौडेल र उदयशमशेर राणा तथा एक महिला पदमा डिला संग्रौला निर्वाचित भएका छन् । कांग्रेसको इतिहासमा संग्रौला पहिलो महिला महामन्त्रीसमेत बनेकी छन् । उनीहरु विगतमा देउवा पक्षमा खुलेका नेता थिए । उपसभापतिमा निर्वाचित पुष्पा भुसाल नै कुनै बेला देउवा पक्ष अझ खुमबहादुर खेमामा खुलेकी नेतृ हुन् ।

उपसभापतिमा निर्वाचित भण्डारीले ३ हजार ७ सय ३५, आचार्यले २ हजार ३ सय ४२ र चौधरीले १ हजार ७ सय ४५ मत प्राप्त गरे । आचार्यपछि प्रतिस्पर्धामा नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराई थिए । आचार्यले भट्टराईभन्दा ५ सय ९० बढी पाए । भट्टराईले १ हजार ७ सय ५२ मत पाएका थिए । खुला उपसभापतिमा गण्डकीका मुख्यमन्त्रीसमेत रहेका सुरेन्द्रराज पाण्डेसमेत प्रतिस्पर्धामा थिए । उनी चौथो स्थानमा आए । उनले १ हजार ६ सय ७३ मत ल्याए । तत्कालीन उपसभापतिसमेत रहेका नेता धनराज गुरुङ भने पाँचौं स्थानमा पुगे ।

नेता शेखर कोइराला पक्षमा रहेका गुरुङ अन्तिम समयमा महाधिवेशनमा आएका थिए । उनले १ हजार ५ सय ९६ मत पाएका थिए । अर्का नेता दीपक गिरीले ९ सय २३ र चन्द्रमोहन यादवले ७ सय ६० मत पाए । 

समावेशीतर्फ उपसभापति पदमा चौधरीले निकटतम प्रतिस्पर्धी जीवन परियारलाई ८७ मतले पराजित गरे । परियारले १ हजार ६ सय ५८ मत ल्याएका थिए । विशेष महाधिवेशनपछि पनि सहमहामन्त्री रहेका फरमुल्ला मन्सुर तेस्रो स्थानमा पुगेका छन् । उनले १ हजार १ सय ४४ मत पाए । अर्की नेता सीता गुरुङ १ हजार १ सय १२ मत ल्याएर चौथो स्थानमा रहिन् । नेविसंघका पूर्वअध्यक्ष रहेका रञ्जित कर्णले ५ सय ६२ मत ल्याए ।

महामन्त्रीमा निर्वाचित पौडेलले ४ हजार १ सय ९४ मत प्राप्त गरे । राणाले २ हजार ३ सय ३० र संग्रौलाले ३ हजार १ सय १८ मत पाए । महामन्त्री पदका लागि राणासँग निकटतम प्रतिस्पर्धी सुनील शर्मा थिए । शर्माले २ हजार २ सय ५७ मत प्राप्त गरेका थिए । राणाले २ हजार ३ सय ३० मत प्राप्त गरे । यी दुईको अन्तर जम्मा ७३ मतको थियो । 

तत्कालीन महामन्त्रीसमेत रहेका गुरुराज घिमिरेले १ हजार ५ सय १३, नैनसिंह महरले १ हजार १ सय ३४, अमरसिंह पुनले १ हजार १ सय २५, शंकर तिवारीले १ सय २३ र सन्तोष उपाध्यायले ९७ मत मात्रै प्राप्त गरे । महिला महामन्त्रीमा निर्वाचित संग्रौलाले ३ हजार १ सय १८ मत प्राप्त गर्दा प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’ ले २ हजार ८ सय ६४ मत पाइन् । रीता खनालले ८ सय ४ मत प्राप्त गरेकी थिइन् ।

१५ सहमहामन्त्रीमध्ये ९ वटा क्लस्टरबाट र दुई खुलाबाट निर्वाचित हुनेछन् । बाँकी मनोनीत गरिनेछ । आइतबार साँझ खुलातर्फको मतगणना सुरु भए पनि परिणाम आउन समय लाग्ने देखिएको छ । 

उपसभापति र महामन्त्रीको ६ पदमा नै विशेष महाधिवेशन पक्षधर नेताहरू आएका छन् । उपसभापतिमा निर्वाचित भण्डारी विशेषको अगुवाइ गर्नेमध्येमा नभए पनि पछिल्लो समय साथ दिएका थिए । अरू सबै अगुवाइ गर्नेमै पर्छन् । अहिले महामन्त्री निर्वाचित पौडेल १४ औं महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा पराजित भएका थिए । विशेष महाधिवेशनबाट उनी महामन्त्री बनेका थिए । 

राणा पनि विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका थिए । विशेष अगाडि उनी देउवा पक्षमा थिए । महाधिवेशनको प्रक्रिया सुरु हुन केही दिनअघिमात्रै देउवा समूह छाडेर आएकी महालक्ष्मी उपाध्याय ‘डिना’ भने संग्रौलासँग पराजित भइन् । स्रोतका अनुसार उनलाई पदाधिकारीमा ल्याउने मनसायबाटै नेतृत्वले महिला पदाधिकारी पद सिर्जना गरेको थियो । उनकै नेतृत्वमा तत्कालीन देउवा केन्द्रीय कार्यसमितिका ५० भन्दा बढी पदाधिकारी तथा सदस्य मूलधारमा आएका थिए ।

उपसभापतिमा निर्वाचित इन्जिनियरिङ पृष्ठभूमिका आचार्य विशेष महाधिवेशनका लागि देशभर अभियानमा सक्रिय थिए । समावेशी उपसभापतिमा निर्वाचित चौधरी उद्योगी तथा व्यवसायी हुन् । उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेस प्रवेश गरेका थिए । तत्कालीन सभापति शेरबहादुर देउवाको आग्रहपछि उनी कांग्रेसमा आबद्ध भएका थिए ।  त्यसअघि उनी एमालेमा थिए । चौधरी छोटो समयमै नै कांग्रेसको नेतृत्व तहमा आएका छन् । 

कांग्रेसको १५ औं महाधिवेशन २३ असोजमा सम्पन्न भएको थियो । भोलिपल्टै सार्वजनिक परिणामअनुसार सभापतिमा गगन थापा निर्वाचित भएका थिए । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल पहिल्यै निर्विरोध भए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर