काठमाडौंमा चाडपर्व लक्षित ३ हजार ५०६ प्रहरी परिचालन

काठमाडौं । दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौंमा ३ हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ।

चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, ठगी, पाकेटमारीलगायतका आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित रूपमा चाडपर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो।

चाडपर्वका समयमा बजार, सार्वजनिकस्थल, यातायातका केन्द्र तथा सर्वसाधारणको बढी आवतजावत हुने क्षेत्रमा सुरक्षा निगरानी बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ छ।

चाडपर्व मनाउन घरबाहिर निस्कने, किनमेलका लागि बजार जाने र विभिन्न स्थानमा यात्रा गर्ने नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरी परिचालन गरिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

परिचालित प्रहरीमध्ये १०० जना सादा पोसाकमा खटिएका छन्। उनीहरूले भीडभाड हुने क्षेत्रको निगरानी गर्ने, शङ्कास्पद गतिविधि पहिचान गर्ने र सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग गर्नेछन्।

प्रहरीका अनुसार नियमित गस्तीका अतिरिक्त ड्रोन क्यामेरा, सामाजिक सञ्जाल, सामुदायिक सेवा केन्द्र तथा तालिमप्राप्त कुकुरको प्रयोगबाट पनि सुरक्षा निगरानीलाई प्रभावकारी बनाइनेछ।

चाडपर्वका समयमा सुरक्षा व्यवस्थालाई व्यवस्थित बनाउन काठमाडौंका १४ वटा सेक्टरलाई लक्षित गरी सुरक्षा योजना लागू गरिएको प्रहरी उपरीक्षक थापाले बताए। प्रत्येक सेक्टरमा सम्बन्धित प्रहरी वृत्तका प्रमुखले सुरक्षा व्यवस्थाको प्रत्यक्ष निगरानी गर्नेछन् भने जिल्ला प्रहरी परिसरले समग्र योजनाको अनुगमन गर्ने उनले बताए।

सुरक्षा योजनाअन्तर्गत प्रहरी जनशक्तिको परिचालन, नियमित गस्ती, शङ्कास्पद गतिविधिको निगरानी र आवश्यकताअनुसार तत्काल प्रहरी टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ। परिसर प्रमुखसहित वरिष्ठ प्रहरी अधिकृतसमेत सुरक्षा योजनाको कार्यान्वयन तथा अनुगमनमा खटिनेछन्।

बजार, बसपार्क र वित्तीय संस्थामा निगरानी

दसैँ, तिहार तथा छठका समयमा किनमेल गर्ने र घर फर्किने यात्रुको सङ्ख्या बढ्ने भएकाले बजार तथा सार्वजनिक यातायातका केन्द्रमा सुरक्षा चुनौती बढ्न सक्ने प्रहरीको आकलन छ।

त्यसलाई ध्यानमा राख्दै बजार, बसपार्क, सरकारी कार्यालय, वित्तीय संस्था तथा सर्वसाधारणको बढी चहलपहल हुने स्थानमा नियमित प्रहरीसँगै सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ।

चाडपर्वका बेला सर्वसाधारणले किनमेल तथा अन्य प्रयोजनका लागि रकम बोकेर हिँड्ने भएकाले आर्थिक कारोबार हुने क्षेत्रको सुरक्षामा पनि विशेष ध्यान दिइएको प्रहरीले जनाएको छ। चोरी, पाकेटमारी, ठगी तथा अन्य अवाञ्छित गतिविधि हुन नदिन प्रहरी टोलीलाई सक्रिय बनाइएको छ।

प्रहरीले जनशक्ति परिचालनसँगै प्रविधिको प्रयोग र सम्बन्धित निकायसँगको समन्वयलाई पनि प्राथमिकता दिएको छ। चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई ढुक्कसँग पर्व मनाउने वातावरण बनाउनु सुरक्षा योजनाको मुख्य उद्देश्य रहेको प्रहरीले जनाएको छ।

यसैबीच, प्रहरीले सर्वसाधारणलाई आफ्नो घर तथा सम्पत्तिको सुरक्षामा ध्यान दिन, अपरिचित व्यक्तिको गतिविधिप्रति सचेत रहन र शङ्कास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर