प्रधानमन्त्री बालेनको भारत भ्रमण मङ्सिर दोस्रो साता
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आगामी मङ्सिर दोस्रो साता भारत भ्रमणमा जाने तयारीमा छन्। तर भ्रमणको मिति औपचारिक रूपमा निश्चित भइनसकेको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन्।
शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले सञ्चारमाध्यममा सार्वजनिक भएका समाचारमा उल्लेख गरिएअनुसारकै समय आसपास भ्रमण हुने जानकारी दिए। 'तर आजका दिनसम्म हामीले औपचारिक रूपमा निश्चित गरिसकेका छैनौँ,' उनले भने।
वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको बताउँदै मन्त्री खनालले प्रधानमन्त्रीको भ्रमणलाई परिणाममुखी र उपलब्धिमूलक बनाउने सरकारको चाहना रहेको उल्लेख गरे। भ्रमणका क्रममा व्यापार तथा पारवहन, सम्पर्क सञ्जाल, ऊर्जा र सीमा व्यवस्थापनलगायत विषयमा सकारात्मक प्रगति गर्ने सरकारको अपेक्षा छ।
त्यस्तै, ठूला पूर्वाधार तथा जलविद्युत् परियोजनाको उद्घाटन र शिलान्यासका साथै विभिन्न सम्झौतामा हस्ताक्षर हुने बताइएको छ। गत १३ चैतमा सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री शाहको यो पहिलो भारत भ्रमण हुनेछ। भ्रमणले दुई देशबीचको आर्थिक सहकार्य र द्विपक्षीय सम्बन्धलाई थप अघि बढाउने अपेक्षा गरिएको छ।







प्रतिकृया दिनुहोस