सहकारी ठगीमा मुछिएका जीबी राईकाे अडियाे नक्कली कि सक्कली? परिक्षण गर्दै सरकार
काठमाडौँ । सहकारी ठगी र संगठित अपराधको कसुरमा फरार रहेका जीबी राई ‘स्वदेश फर्किन चाहेको’ प्रेस विज्ञप्ति र अडियो सन्देश सार्वजनिक भएको छ ।
सेतोपाटी डिजिटल पत्रिकाले शनिबार सार्वजनिक गरेको अडियोमा राईले ‘सेयरधनी, बचतकर्ता, ऋणी र सरकार’ लाई सम्बोधन गर्दै सहकारी संस्था, कम्पनी र अन्य विषयवस्तुबारे जानकारी गराएका छन् । राईको भनिएको विज्ञप्तिमा विगतमा ‘तत्कालीन सरकारबाट सहयोग र सहकार्यको अपेक्षा गरिएको’ तर सहयोगको सट्टा बचतकर्ताहरूलाई मुद्दा हाल्न प्रेरित गरिएको उल्लेख छ ।
‘विभिन्न शीर्षक तयार पारेर अनेक ठाउँमा मुद्दा दर्ता गरियो । परिस्थिति यति जटिल बन्यो कि ज्यान मार्ने धम्कीसम्म आउन थालेपछि बाध्य भएर भूमिगत हुनुपर्ने अवस्था सिर्जना भयो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि अन्तर्राष्ट्रिय माध्यमबाट समेत खोजी गर्ने काम भयो । म आज एउटा प्रश्न गर्न चाहन्छु, के मेरो पक्राउ नै यो सम्पूर्ण समस्याको समाधान हो ?’
पक्राउ नै समाधान हो भने आफैं उपस्थित हुने तर त्यसो गर्दा लाखौं बचतकर्ताको अर्बौं रकम फिर्ता नआउने उनले बताएका छन् । उनले भनेका छन्, ‘सरकारलाई मेरो आग्रह छ, मेरो खोजीमा संयुक्त रूपमा शक्ति प्रयोग गर्नुपर्दैन । म बचतकर्ताहरूको रकम निश्चित समयभित्र विभिन्न वैकल्पिक उपाय अवलम्बन गरी व्यवस्थापन गर्न प्रतिबद्ध छु ।’
राईका जेठान ज्ञानबहादुर बमजनले सेतोपाटीलाई प्राप्त अडियो सुनेर त्यो आवाज उनकै भएको बताएका छन् । ‘हामीले फरेन्सिक ल्याबमा परीक्षण गरेर राईको अडियो पुष्टि गरेका छैनौं,’ सेतोपाटीले भनेको छ । जीबी राईको भनिएको अडियो सार्वजनिक भएपछि कान्तिपुरले नेपाल प्रहरीका तीन उच्च अधिकारीसँग कुराकानी गरेको छ । उनीहरूले अडियोको सत्यता परीक्षण गर्ने तयारी गरिएको बताएका छन् । ‘सञ्चारमाध्यममा अडियो आएको थाहा पायौं । त्यो सत्य हो कि होइन भन्ने भेरिफाई गर्न खोजिरहेका छौं,’ एक अधिकारीले भने ।
बमजनले कान्तिपुरलाई पनि त्यो अडियो जीबीकै भएको बताएका छन् । तर सेतोपाटीबाट आफूलाई पठाइएपछि मात्र अडियोबारे थाहा पाएको उनको भनाइ छ । ‘मैले अडियो सुनेँ, आवाज उहाँकै हो,’ उनले भने, ‘तर मेरो उहाँसँग कुरा नभएको लामो समय भइसकेको छ।’
विज्ञप्तिबारे भने आफूलाई केही जानकारी नभएको र राईसँगको सम्पर्कसूत्रबारे पनि आफूलाई केही थाहा नभएको बमजनले बताए । आफू अमेरिकामा भएका बेला राईसँग अन्तिम पटक कुरा भएको पनि उनले जानकारी दिए । ‘मलाई पनि पोखराको एउटा संस्थामा प्रतिवादी बनाइएको थियो । फेस गर्न आएको थिएँ । त्यसबेला मैले फोनमा उहाँलाई म पनि फेस गर्न आएको हुँ, तपाईंले पनि गर्नुपर्छ भनेको थिएँ,’ उनले भने, ‘उहाँले आफ्नो ज्यानमाथि चुनौती रहेको बताउनुभएको थियो ।’
राईविरुद्ध पाेखराको सूर्यदर्शन, चितवनको साहारा, वीरगन्जको सानो पाइला, बुटवलकाे सुप्रिम, नेपालगन्जको समानता र काठमाडौंकाे स्वर्णलक्ष्मी सहकारीमा रहेको हजारौं सर्वसाधारणको बचत रकम हिनामिना गरेको अभियोग छ । अहिलेको सरकारले बचतकर्ताहरूको बचत सुरक्षाका लागि गरिरहेको पहल स्वागतयोग्य र सकारात्मक रहेको राईले जनाएका छन् । बचत सुरक्षााका लागि सरकारसँग सहकार्य गर्न चाहेको उनको भनाइ छ । ‘त्यसको सुरुवातस्वरूप मैले साथीभाइ, आफन्त र शुभेच्छुकबाट केही जग्गाजमिनको व्यवस्थापन गरेको छु । आवश्यक परे त्यही सम्पत्ति प्रयोग गरेर वा कुनै अरू विकल्पबाट भए पनि म तपाईं सम्पूर्णको बचत सुरक्षित गर्न र आफ्नो दायित्व पूरा गर्न अन्तिम क्षणसम्म प्रयासरत रहनेछु,’ उनले विज्ञप्तिमा भनेका छन् ।
विभिन्न सहकारीबाट ग्यालेक्सी टेलिभिजनमा गएको सम्पूर्ण रकम अध्यक्षको हैसियतले आफ्नै जिम्मेवारीभित्र पर्ने राईले बताएका छन् । ‘आर्थिक स्रोत व्यवस्थापनमा अन्य कुनै सञ्चालकको संलग्नता रहेको छैन । साथै, कर्मचारी वा अन्य कुनै व्यक्तिबाट अभिलेख राख्ने क्रममा असावधानीवश नाम वा कागजात दुरुपयोग भएको हुन सक्छ । त्यस विषयमा अन्य व्यक्तिहरूलाई अनावश्यक रूपमा जोड्नु उचित हुँदैन भन्ने मेरो धारणा छ,’ विज्ञप्तिमा उनले भनेका छन् । तत्कालीन सञ्चालकद्वय रवि लामिछाने र छविलाल जोशीलाई त्यस विषयमा जोड्नु उचित नभएको आफ्नो बुझाइ रहेको उनको भनाइ छ ।
रास्वपा सभापित लामिछानेलाई सूर्यदर्शनसहित पाँच सहकारी संस्थाको अनियमिततासम्बन्धी मुद्दामा प्रतिवादी बनाइएको छ। मुद्दा पुर्पक्षका लागि थुनामा रहेका उनी उच्च अदालतले बिगो बराबरको धरौटी वा बैंक जमानत लिएर छाड्न आदेश दिएपछि रिहा भएका थिए। अहिले पनि लामिछाने विभिन्न सहकारीसम्बन्धी मुद्दामा तारेख लिन अदालत धाउने गरेका छन् । लामिछाने रिहा भएपछि अर्का सञ्चालक जोशी पनि बैंक जमानत बुझाएर छुटेका थिए ।
राई भने फरार रहँदै आएका छन् । प्रहरीले पछिल्लो पटक झन्डै पाँच महिनाअघि राईको खोजीका लागि सहयोग माग्दै अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) लाई पत्राचार गरेको थियो । इन्टरपोलले उनीविरुद्ध २५ माघ २०८० मा ‘रेड नोटिस’ जारी गरेको थियो । त्यसको पाँच महिनाअघि नै उनी क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया प्रवेश गरेको खुलेको थियो । प्रहरीको पछिल्लो जानकारीअनुसार मलेसियामा नै बस्दै आएका छन् ।
क्वालालम्पुरस्थित इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) ले उनी मलेसिया प्रवेश गरेको विवरण दिए पनि फिर्ता पठाउन जटिलता रहेको जानकारी गराएको थियो । ‘त्यसबेला उनको सुपुर्दगीका सम्बन्धमा कूटनीतिक माध्यमबाट अनुरोध गर्नू भनेर एनसीबी क्वालालम्पुरबाट लिखित पत्र आएको थियो,’ एनसीबी काठमाडौंमा काम गरेर अहिले एक जिल्लामा कार्यरत प्रहरी अधिकारीले कान्तिपुरसँग भने, ‘त्यसपछि राईलाई फिर्ता ल्याउने विषय सरकारको हातमा पुगेको थियो ।’
लामिछानेले उपप्रधान एवं गृहमन्त्री भएका बेला मलेसियाका समकक्षीसँग समेत यस विषयमा कुराकानी गरेका थिए । ‘राजनीतिक तहमा कुराकानी हुनुअगावैको अवस्था भए अनौपचारिक हिसाबले पनि ल्याउन सकिने सम्भावना रहन्थ्यो,’ ती अधिकारीले भने, ‘तर उच्च राजनीतिक तहमा कुरा भइसकेपछि कूटनीतिक पहल गर्नू भन्ने जवाफ आएको थियो ।’
पत्रपछि उनलाई सुपुर्दगी गरी नेपाल फिर्ता ल्याउन पहल गरिदिन भन्दै १० फागुन २०८० मा प्रहरीले गृह मन्त्रालयलाई पत्राचार गर्यो । त्यसका आधारमा परराष्ट्र मन्त्रालयसम्म अनुरोध पुग्यो र मन्त्रालयमार्फत समेत समन्वय अघि बढेको थियो । तर प्रहरीले एनसीबी क्वालालम्पुरलाई पटकपटक उनको ठेगाना खुलाउन भन्दै इमेल लेख्दा कुनै जवाफ आएन । प्रहरीले इन्टरपोल महासचिवालयसँग समेत समन्वय गरेर क्वालालम्पुर, काठमाडौं र लियोन (फ्रान्स) का अधिकारीबीच छलफल गरेको थियो ।
राईको राहदानी रद्द भए उनलाई नेपाल डिपोर्ट गर्न सकिने कुरा आएको थियो । उनी पक्राउ परेको अवस्थामा १४ दिनभित्र डिपोर्ट गर्न सकिने भनिए पनि राहदानी विभागले कानुनअनुसार राहदानी रद्द गर्न नसकिने जानकारी दियो ।
त्यसपछि उनलाई फिर्ता ल्याउन कूटनीतिक पहल गर्ने भन्दै ८ जेठ २०८१ मा गृह मन्त्रालयले एक प्रहरी उपरीक्षक र एक प्रहरी नायब निरीक्षकलाई मलेसिया पठाएको थियो । १० दिन मलेसिया बसेर फर्किँदा टोलीले त्यहाँका प्रहरी अधिकारीहरूसँग अनौपचारिक भेट भएको र उनीहरूले उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने बताएको ब्रिफिङ गरेको थियो । राईको ठेगानाबारे सोध्दासमेत उनीहरूले कूटनीतिक तहमा छलफल भएकाले केही बताउन नसक्ने जानकारी दिएका थिए । त्यसयता उनको खोजी कार्य अलपत्रजस्तै भएको थियो ।







प्रतिकृया दिनुहोस