अमेरिकालाई चुनौति दिइरहेका कम्युनिष्ट नेता लुला ब्राजिलमा फेरि राष्ट्रपतिमा निर्वाचित
एजेन्सी । अमेरिकालाई चुनौति दिइरहेका कम्युनिष्ट नेता लुइज इनासियो लुला दा सिल्भा ब्राजिलमा फेरि राष्ट्रपतिमा निर्वाचित भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रखर आलोचकका रूपमा सार्वजनिक छवि बनाएका लुला दा सिल्भा ब्राजिलमा पुनः राष्ट्रपति निर्वाचित भएका हुन् ।
८१ वर्ष पुग्न लागेका लुलाको जितले ल्याटिन अमेरिकामा अमेरिकाको बढ्दो प्रभावको आलोचना गर्नेहरूलाई राहत दिएको छ ।
पूरै मतगणना सकिएपछि ब्राजिलको निर्वाचन अदालतले लुलाले उनका प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोभन्दा झन्डै ४४ लाख बढी मत प्राप्त गरेको घोषणा गरेको छ ।
अन्तिम समयमा मतदानको समय दुई घण्टा थप्ने निर्णयपछि ब्राजिलभरका मतदान केन्द्रमा विवाद उत्पन्न भएको थियो । अन्तिम मतपरिणाम घोषणासँगै ब्राजिलको निर्वाचन प्रक्रिया टुंगिएको छ ।
ट्रम्पसँग गठबन्धन गरेका दक्षिणपन्थी विचारधाराका राष्ट्रपतिका उम्मेदवारहरू पछिल्लो समय बढ्दो संख्यामा विजयी हुँदै आएको प्रवृत्तिलाई लुलाको जितले चुनौती दिएको छ ।
उनको जितसँगै ल्याटिन अमेरिकाका सबैभन्दा बढी जनसंख्या भएका दुई देश मेक्सिको र ब्राजिलमा वामपन्थी झुकावका नेताहरू सत्तामा रहने भएका छन् ।
यसले वार्षिक २६ खर्ब अमेरिकी डलरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भएको ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र ब्राजिललाई अमेरिकी दबाबका बाबजुद आफ्नो स्वतन्त्र हैसियत कायम राख्ने दिशामा अघि बढाएको छ ।
श्रमिक नेताका रूपमा राजनीतिक जीवन सुरु गरेका लुला यसअघि भ्रष्टाचारको अभियोगमा जेलसमेत परेका थिए । तर, अदालतले उनीविरुद्धका मुद्दा खारेज गरिदिएको थियो ।
त्यसपछि उनी सन् २०२२ मा तेस्रो पटक राष्ट्रपति बने । यद्यपि, महँगी र अपराध नियन्त्रणको विषयलाई लिएर जनतामा उनीप्रति केही असन्तुष्टि देखिएको छ । चुनावका क्रममा उनले अमेजन वर्षावनको संरक्षण गर्ने र गरिबहरूका लागि सञ्चालित ‘बोल्सा फेमिलिया’ कल्याणकारी कार्यक्रमलाई निरन्तरता दिने वाचा गरेका थिए।
ब्राजिलको यसपटकको निर्वाचनमा अमेरिकी प्रभाव पनि प्रमुख विषय बनेको थियो । राष्ट्रपति पदका उम्मेदवार लुलाले अमेरिकालाई ब्राजिलको आन्तरिक निर्वाचनमा हस्तक्षेप नगर्न बारम्बार चेतावनीसमेत दिएका थिए ।



2026-10-26-11-35-08.jpeg)



प्रतिकृया दिनुहोस