• २०८३ कार्तिक ११ मंगलबार
  • Tuesday, 27 October, 2026

एनपीएलः आज विराटनगरविरुद्ध चितवन, जनकपुरविरुद्ध कर्णाली कसले जित्ला?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज मंगलबार दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्नेछन् भने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । दोस्रो खेल साँझ ५ बजे हुनेछ ।

विराटनगर र चितवनबीच प्रतिस्पर्धा

आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुँदा दुवै टोली जित निकाल्ने लक्ष्यमा हुनेछन् । विराटनगरमा नेपालका सन्दीप लामिछाने, लोकेश बम, बसिर अहमद र प्रतिश जिसीजस्ता खेलाडी छन् । वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल र श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजको उपस्थितिले टोलीलाई बलियो बनाएको छ ।

यस्तै, धम्मिका प्रसादको प्रशिक्षणमा रहेको टोलीमा चरिथ असलंकाको आगमन र शुभम रन्जानेको अलराउन्ड प्रदर्शन महत्त्वपूर्ण हुन सक्छ ।

यता चितवन राइनोजमा देव खनाल, अर्जुन साउद, कमलसिंह ऐरी र रिजन ढकालजस्ता युवा खेलाडी छन् । मध्यक्रममा रवि बोपारा र सिकन्दर राजाले टोलीलाई बलियो आधार दिन सक्छन् । पाकिस्तानी पूर्वबलर सोहेल तनवीरको टोलीमा उसामा मिर र कलिम सनाको उपस्थितिले बलिङलाई थप मजबुत बनाउने अपेक्षा छ ।

यी दुई टोलीबीच अघिल्ला दुई संस्करणमा भएका खेलमा दुवैले एक–एक जित निकालेका छन् । पहिलो संस्करणमा विराटनगरले चितवनलाई ५१ रनले हराएको थियो । उक्त खेलमा विराटनगरले १८१ रन बनाएको थियो भने जवाफमा चितवनले १३० रन मात्रै जोड्न सकेको थियो ।

दोस्रो संस्करणमा भने चितवनले विराटनगरलाई ४८ रनले पराजित गरेको थियो । १७५ रनको लक्ष्य पछ्याएको विराटनगर ११६ रनमै समेटिएको थियो ।

प्रतियोगिताको पहिलो संस्करणमा चितवन अन्तिम चारमा पुगेको थियो भने दोस्रो संस्करणमा विराटनगरले प्लेअफमा स्थान बनाएको थियो । यसपटक दुवै टोलीको लक्ष्य सुरुआती खेलबाटै लय समात्ने हुनेछ ।

जनकपुर र कर्णालीको दोस्रो भेट

आजको दोस्रो खेलमा पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सले कर्णाली याक्सको सामना गर्नेछ । पहिलो संस्करणमा उपाधि जितेको जनकपुर दोस्रो संस्करणमा भने अंकतालिकाको पुछारमा रहेको थियो । त्यसैले तेस्रो संस्करणमा टोलीले कस्तो पुनरागमन गर्छ भन्ने चासो छ ।

यता पहिलो संस्करणमा काठमाडौं गोर्खाजलाई रनरेटका आधारमा पछि पार्दै शीर्ष चारमा पुगेको कर्णाली पनि जित निकाल्ने लक्ष्यमा हुनेछ । अघिल्लो संस्करणमा पाकिस्तानी खेलाडीको नियमित उपस्थितिबाट अपेक्षित फाइदा लिन नसकेको कर्णाली यसपटक आफ्नो प्रदर्शन सुधार्न चाहन्छ ।

एनपीएलमा जनकपुर र कर्णालीबीच अहिलेसम्म तीन खेल भएका छन् । तीमध्ये जनकपुरले दुई खेल जितेको छ भने कर्णालीले एक खेलमा सफलता पाएको छ ।

पहिलो संस्करणको लिग चरणमा जनकपुरले कर्णालीलाई ८ विकेटले हराएको थियो । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५ ओभर एक बलमा दुई विकेट गुमाएर पूरा गरेको थियो । सोही संस्करणको क्वालिफायरमा पनि जनकपुरले कर्णालीलाई दुई विकेटले पराजित गरेको थियो ।

दोस्रो संस्करणमा भने कर्णालीले जनकपुरसँग अघिल्ला हारको बदला लिँदै तीन रनको झिनो अन्तरले जित निकालेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर