• २०८३ कार्तिक १६ सोमबार
  • Monday, 2 November, 2026

सुनुवाई समिति बैठक बस्दै, जापानका लागि प्रस्तावित थापा अस्वीकृत गर्ने तयारी

काठमाडौं । विवादमा परेका जापानका लागि प्रस्तावित राजदूत जीज्ञानकुमार थापाबारे निर्णय गर्न आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ। 

सुनुवाइ समितिको सचिवालयका अनुसार सोमबार दिउँसो ३ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बैठक बस्न लागेको हो। 

बैठकको एजेन्डामा जापानका लागि प्रस्तावित राजदूत थापाका सम्बन्धमा संसदीय सुनुवाइ गर्ने उल्लेख छ। यसअघि संसदीय सुनुवाइ समितिले थापाको सुनुवाइ ‘होल्ड’मा राखेको थियो।

उनीविरुद्ध जापानको पीआर लिएको उजुरी परेको थियो। त्यसबारे संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारलाई पत्राचार गरेको थियो। 

त्यससँगै थापाको जापानको स्थानीय सरकारमा बसेका काम गरेको विषयमा पनि दोस्रो पटक पत्राचार गरेको थियो। तर, त्यसबारे जापान सरकारले जानकारी दिएको छैन। 

सरकारले गत असोज २ गते थापासहित १३ जनालाई विभिन्न देशको राजदूतका लागि प्रस्ताव गरेको थियो। त्यसमध्ये १० जनालाई संसदीय सुनुवाइ समितिले स्वीकृत गरिसकेको छ। 

त्यस्तै, संसदीय सुनुवाइ समितिले दुई जनालाई अस्वीकृत गरिसकेको छ। अब थापाको मात्रै बाँकी छ। उनलाई समितिले अस्वीकृत गर्ने सम्भावना रहेकाे एक सदस्यले बताए । यसअघि उनलाई अस्वीकृत गराउन समिति तयार भएपनि सभामुख डीपी अर्यालकाे दबाबका कारण निर्णय हुन सकेकाे थिएन ।

रास्वपाका शीर्ष नेतासमेत थापा अस्वीकृत गर्न तयार देखिएकाले आज भने अस्वीकृतीकाे निर्णय हुने बताइएकाे छ । 

प्रस्तावित राजदूत थापाको परिवार जापानको स्थायी आवासीय अनुमतिपत्र लिएर बसेको, त्यहाँ चल र अचल सम्पत्ति रहेको, ऋणलगायतको कारोबार रहेको, थापाले जापान सरकारको सेवा र सुविधा लिएको, सरकारी निकायमा काम गरेको लगायतका कारणले स्वार्थको द्वन्द्व हुने निष्कर्षमा रास्वपा र सरकारको नेतृत्व पुगेको हो । 

थापालाई नाम फिर्ता लिन लगाउने वा संसदीय समितिबाट अस्वीकारको विकल्पमा जानेबारे पनि छलफल भएको छ ।  

यदि समितिले ४५ दिनभित्र निर्णय दिन सकेन भने प्रस्तावित व्यक्तिको नाम स्वतस् अनुमोदन भएको मानिन्छ। त्यसपछि नियुक्तिको बाटो खुल्छ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर