• २०८३ कार्तिक २० शुक्रबार
  • Friday, 6 November, 2026

नरेश भट्टले स्वीकारे ममताकाे शव टुक्राटुक्रा पारेको 

काठमाडाैं । पत्नी ममता काफ्ले भट्टको हत्या अभियोगमा अमेरिकामा मुद्दा खेपिरहेका नरेश भट्टले उनको शव बेडरुममा फेला पारेपछि टुक्राटुक्रा पारेको बताएका छन् । बिहीबार अदालतमा बयान दिने क्रममा उनले शव टुक्र्याउन थाले पनि शारीरिक शक्ति नपुगेपछि बीचमै रोकेको बयान दिएको फक्स न्यूजले उल्लेख गरेको छ ।

भट्टका अनुसार सन् २०२४ जुलाई ३० को बिहान उनले ममताको शव बेडरुमको भुइँमा देखेका थिए । उनको अनुहार र भुइँमा बान्ता थियो । बान्तामा रगत, खानाका कण, औषधिका क्याप्सुल र कीरा मार्न प्रयोग गरिने कृषि रसायन सेल्फोसको संकेत रहेको भट्टले अदालतमा बताए ।

उनले पत्नीलाई छोएर बोलाउने प्रयास गरेको र सीपीआरसहितका जीवन बचाउने उपाय अपनाएको दाबी गरेका छन् । तर त्यसपछि शव टुक्र्याउन थालेको उनको बयान थियो । सुरुमा खुट्टालाई शरीरबाट अलग गर्ने प्रयास गरेको उनले बताए ।

ममताको शव बाथरुममा सारेको तर, पहिलो दिन शारीरिक शक्ति नपुगेपछि काम रोक्नुपरेको उनको भनाइ थियो । त्यसपछि बेडरुमको ढोका छेकेर छोरीलाई लिन, खाना खुवाउन र सुताउन गएको उनले अदालतमा बताए ।

ममताको शव अहिलेसम्म फेला परेको छैन । भट्टमाथि  हत्या, शव लुकाएको  अभियोग छ । सन् २०२४ अगस्टमा पक्राउ परेयता उनी हिरासतमा छन् ।

ममता युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्स थिइन् । उनी काममा उपस्थित नभएपछि प्रहरीले अनुसन्धान थालेको थियो । सुरुमा भट्टले आफूले पत्नीलाई अन्तिम पटक जुलाई २९ मा देखेको बताएका थिए । ममताका साथी र परिवारले भने उनले शिशु छोरीलाई छाडेर नजाने भन्दै प्रहरीलाई जानकारी गराएका थिए ।

भट्टले अगस्ट ५ मा पत्नी हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए । उनले ममताले घर छाड्ने र सम्बन्धविच्छेद गर्ने कुरा गरेको दाबी गरेका थिए । अगस्ट २२ मा दम्पतीको बेडरुम र बाथरुममा रगतका दाग फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर