• २०८३ कार्तिक २६ बिहीबार
  • Thursday, 12 November, 2026

भीमफेदी ईभी दुर्घटना अपडेटः १० को मृत्यु, घाइते पाँचै जना सर्लाहीका यादव

काठमाडौँ । बिहीबार बिहान भीमफेदी–६ चिसापानी गढीस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडकखण्डमा इभी दुर्घटनामा १० जनाको मृत्यु भयो ।

पहिलो चरणमा ३ जना, पछि २ जना र थप एक बालिकासहित ६ जनाको उद्धार भयो । सडकबाट गाडी ५ सय मिटर तल झरेको र अझ ठाडो भिर परेकाले कठिनाइ भएको भीमफेदी इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक दीपेन्द्र ढकाल बताउँछन् ।  

ईभी दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा मुकेश यादव, देवेन्द्र यादव, सञ्जय यादव, सुजन यादव र सक्षम यादव रहेका छन् । उनीहरू सबै सर्लाही जिल्लाका स्थानीय बासिन्दा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको मकवानपुरका डीएसपी माधव काफ्लेले जानकारी दिए । 

उनका अनुसार उनीहरू छठ पर्व मनाउन ललितपुर जिल्लाको टिकाथलीबाट सर्लाहीतर्फ जाँदै थिए । बिहान करिब ५:४५ बजे काठमाडौंस्थित टिकाथलीबाट सर्लाहीका लागि छुटेको यात्रुवाहक ईभी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

मृतक तथा घाइते सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर क्षेत्रका स्थानीय रहेको प्रारम्भिक विवरण छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनास्थल अत्यन्तै भिरालो र दुर्गम रहेकाले उद्धारमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ ।

बिहीबारको दुर्घटनाको खबरपछि पनि सेना, सशस्त्र र प्रहरीको ४८ जनाको टोली परिचालन भयो । 

भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ आवतजावत गर्ने सुमो तथा विद्युतीय सवारीसाधन (इभी)मा यात्रु विवरण राख्ने तथा चलान व्यवस्थापन गर्ने कार्य प्रभावकारी नहुँदा यात्रु सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ । यो रुटमा सञ्चालन हुने कतिपय सवारीसाधनका चालकले यात्रुको नाम, सम्पर्क नम्बर, यात्रु सङ्ख्या, चढ्ने तथा ओर्लने स्थानसहितको विवरण उल्लेख गरिएको चलान तयार नगरेको पाइएको छ ।

कतिपय अवस्थामा यात्रुलाई टिकट नै नदिने र टिकट दिए पनि यात्रुको नाम तथा सम्पर्क नम्बर उल्लेख नगर्ने समस्या छ । सवारीसाधनमा कति जना यात्रु चढे, को कहाँसम्म जाने हो र कहाँ ओर्लने हो भन्ने विवरणसमेत व्यवस्थित रूपमा अभिलेख नराख्दा यात्रुको वास्तविक अवस्था पत्ता लगाउन कठिन भएकाे देखिन्छ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर