आइतबारदेखि पानी पर्ने माैसम पूर्वानुमान, काटेकाे धान भित्र्याउन आग्रह

काठमाडौँ । पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएपछि आगामी आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपात सुरु हुने सम्भावना देखिएको छ। 

केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्न सक्ने भएकाले खेतमा काट्न बाँकी रहेको धानबाली र सुकाउन राखिएको पराल सुरक्षित गर्न मौसमविद्हरूले किसानलाई सुझाव दिएका छन्।

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार शुक्रबार र शनिबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। यी दुई दिन पहाडी तथा हिमाली भेगका फाट्टफुट्ट स्थानमा हल्का वर्षा देखिए पनि ठुलो मौसमी फेरबदल हुने छैन। 

आइतबारबाट भने पश्चिमी वायु सक्रिय बन्दै सुदूरपश्चिम र कर्णालीका उच्च भूभागबाट मौसम बदलिने तथा त्यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुने सम्भावना छ। यसैगरी बागमती र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा समेत छिटपुट वर्षा हुन सक्ने आकलन गरिएको छ।

मौसमविद् पोखरेलले हाल विकसित हुन लागेको मौसमी प्रणाली तीव्र गतिमा सर्ने प्रकृतिको भएकाले यसले कुनै असामान्य विपद्को जोखिम ननिम्त्याउने स्पष्ट पारिन्। मध्यम स्तरको वर्षा र हिमपात हुने अनुमान रहेकाले यस प्रणालीबाट हिउँदे बालीका लागि आवश्यक चिस्यान प्राप्त हुने र कृषि उत्पादनमा सकारात्मक योगदान पुग्ने उनको भनाइ छ। यद्यपि, असिना र वर्षाका कारण पाकेको धानबालीमा क्षति पुग्न सक्ने भएकाले पूर्वसतर्कता अनिवार्य मानिएको छ।

मौसमको अवस्थाबारे जानकारी दिँदै पोखरेलले भनिन्, ‘आज र भोलि देशभरको मौसम सामान्यतया सफा रहने देखिन्छ। तर आइतबारदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएकाले सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ।’ 

उनले अगाडि थपिन्, ‘वर्षासँगै केही स्थानमा मेघगर्जन र असिनासमेत पर्न सक्ने भएकाले धान काट्न बाँकी रहेका किसानले विशेष सावधानी अपनाउनुपर्छ।’

मनसुनको समयमा एल निनोको प्रभावले कम पानी पर्ने आकलन गरिए तापनि नेपालमा नियमित वर्षा भएको सन्दर्भ उल्लेख गर्दै हिउँदको असर फरक हुने पोखरेलले बताइन्। मौसमी प्रणालीबारे थप प्रस्ट्याउँदै उनले भनिन्, ‘हाल ठूलो मौसमी प्रणाली विकास भइसकेको छैन, त्यसैले आत्तिनुपर्ने अवस्था नरहे पनि विभागको नियमित मौसम पूर्वानुमान र परामर्शमा ध्यान दिनु आवश्यक छ।’ 

विशेषगरी मौसम नक्सामा पहेँलो संकेत गरिएका क्षेत्रका बासिन्दा तथा किसानहरूले अद्यावधिक सूचना हेरेर मात्र बाली भित्र्याउने योजना बनाउन विभागले आग्रह गरेको छ। समग्र हिउँदयामको मौसमी विश्लेषण भने विभागले छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर