राधेराधेकाे प्रजापति कम्प्लेक्समा आगे लाग्याे

भक्तपुर । मध्यपुरथिमि-९ राधेराधेस्थित प्रजापति कम्प्लेक्सको साताैँ तलामा आज बिहान आगलागी भएको छ ।

बिहान करिब ८ बजे कम्प्लेक्सका सञ्चालक कुमार प्रजापतिले आफ्नो पसल खोल्ने क्रममा धुवाँको मुस्लो देखेपछि दमकल र प्रहरीलाई जानकारी गराएका थिए । आगलागीबाट ‘द ट्रयाङ्कुली टाइम्स स्पा एन्ड वेलनेस प्रालि’ मा विद्युत् सर्ट भई आगलागी भएको स्पाका सञ्चालक नरेश रन्जितले जानकारी दिए ।

कम्प्लेक्स र स्पामा गरी करिब रु ८० लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । उनका अनुसार आगलागी भएको करिब डेढ घण्टामा जुद्ध बारुण यन्त्र भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस ब्यासीबाट आएको टोली र प्रहरी वृत्त थिमिबाट आएको प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । नेपाली सेना रणशेर गण सूर्यविनायकको टोलीले पनि आगलागी नियन्त्रणमा सहयोग गरेको थियो ।

अग्लो भवनको माथिल्लो तलमा आगलागी हुँदा पानीको फोहोरा माथिसम्म पुर्‍याउन दमकललाई केही कठिनाइ भएको थियो ।

जुद्ध बारुण यन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले अग्लो भवनमा हुने आगलानी नियन्त्रणमा लागि नेपालमा पनि ड्रोन प्रविधि भित्र्याउन माग गरिरहेको बताए । सरकारले अग्लो भवनमा हुने आगलागी नियन्त्रणका लागि नयाँ प्रविधि भित्र्याउनुपर्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर