• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

यी हुन् मोबाइल एप बनाउने ८३ वर्षीया जापानी वृद्ध

सिएनएन । एक पटक सोच्नुहोस् त, तपाई जीवनको ८१औँ वर्षको उमेरमा के गर्दै गरेको हुनुहुन्छ होला ? चौतारी गफिँदै, नातिनातिनासँग खेल्दै वा शरीरलाई स्वास्थ्य राख्न योग, अस्पताल वा मन्दिर धाउँदै । एक जापानी वृद्ध, जो जीवनको ८० को दशकमा पनि उर्जावान छिन्, त्यो पनि प्रविधिको क्षेत्रमा । 

विश्वको सवैभन्दा जेष्ठ उमेरको एप्स निर्मातामध्ये एक ‘मसाको वाकामिया’का लागि एक्लै हुनु थुप्रै तरिकाले फलदायी रह्यो । ‘सजिलो थियो, किनकि मलाई हेरचाह गर्ने कोही पनि थिएन, त्यो सही वा गलत जे भए पनि’, ८३ वर्षीया एक जापानी नागरिक मसाको वाकामियाले आफ्नो पहिलो मोबाइल गेमिङ एप्स उत्पादनको बारेमा बोल्दै भनिन् ।

वाकामियाले सन् २०१७ मा ८१ वर्षको उमेरमा आफ्नो पहिलो गेमिङ एप्स ‘हिनादान’लाई लञ्च गरेकी थिइन्, जुन वृद्धवृद्धालाई लक्षित थियो । ध्यान भड्काउने कोही नभएपछि, उनले गेम प्रोग्रामिङमा पूर्ण ध्यान केन्द्रित गर्न सकिन् । सफ्टवेयर विकास मात्रै गरिनन्, उनले विभिन्न भाषिक वाधालाई पनि नियन्त्रण गर्न सक्षम भइन् । 

वाकामियाको गेमिङ एप्स हिनादानको प्रतिक चिन्हमा एक परम्परागत जापानी पुत्तली छ । यो गेम ‘हिनामात्सुरी’ अर्थात् पुतली दिवसको वार्षिक उत्सवमा केन्द्रित छ । यस्तो उमेरमा यो काम गर्नु चानचुने भने पक्कै रहेन । 

‘सबै कुरा अंग्रेजीमा थियो’, वाकामियाले भनिन् । उनले म्यासेज त्रुटी, अनलाइन निर्देशन, इमेलहरु र एप्स स्टोरमा उनको गेम राख्ने क्रममा एप्पलसँगको कुराकानीआदी सबै विदेशी भाषामै गर्नुपर्यो । ‘मेरो पुस्ताका मान्छेहरुले अंग्रेजीसँग निक्कै लडाई गर्नुपर्यो र यो केही कठिन पनि थियो ।’

झन्डै ६० वर्षको उमेरमा वाकामियाले पहिलो कम्प्युटर किनेकी थिइन् । उनी आफ्नी वृद्ध आमाको हेरचाह गर्नका साथै साथीभाईसँग रहने गर्थिन् । ‘मेरो विचार फैलिने क्रममा रहेको महशुस गरे । विभिन्न श्रेणीका मानिसका साथै यो विशाल विश्वलाई जान्न म निक्कै उत्साहित थिए’, उनले भनिन् ।

जापानका प्रत्येक चार मध्ये एक ६५ वर्ष उमेर माथिका नागरिक छन् । अन्य वृद्ध उमेरका मानिसले पनि प्रविधिको सम्भावति फाइदा बारे थाहा पाउन सक्ने आशा उनले राखेकी थिइन्, विशेषगरी जापानका त्यस्ता थुप्रै वृद्धवृद्धा जो एक्लोपनसँग लडिरेहका हुन्छन्, उनीहरुलाई प्रविधिले एक–अर्कासँग जोड्न सक्छ भन्ने उनलाई लाग्यो । 

‘जब मैले प्रविधि उपयोगी भएको थाहा पाए, यो कुरा मेरा पिंढीका सबैलाई भन्नुपर्छ भन्ने सोचँे । त्यसपछि, मैले मेरो सानो घरमा एक कम्प्युटर सेलुन खोले र मेरो पिंढी वृद्धवृद्धालाई सिकाउन थाले’, उनले गेम एप्सको सुरुवाती चरणको बारेमा बोल्दै भनिन् । 

समय वित्दै गयो, वाकामिया आफ्नो कहानी सुनाउन विश्व भ्रमणमा निस्कन सुरु गरिन् । उनले टोकियोमा भएको ‘टेडेक्स’ कार्यक्रममा एप्पलका कार्यकारी प्रमुख टिम कुकसँग भेटिन् । उनले आफ्नो कहानी युएनमा सुनाउने अवसर पाइन् । 

सन् २०१७ मा सानफ्रान्सिस्कोमा एक कार्यक्रममा एप्पलका कार्यकारी प्रमुख टिम कुकसँग कुराकानी गर्दै मसाको वाकामिया

‘म जस्तो जेष्ठ मानिसको विचारलाई मानिसले स्विकारलान् त ? विशेषगरी ‘टेडेक्स’मा उपस्थित युवाहरुले । तर, म आश्चार्यमा परे, उनीहरुले मलाई न्यायो वाहवाहीका साथ स्वागत गरे’, उनले आफ्नो पहिलो एप्स लञ्चलाई लिएर भनिन्, ‘उनीहरुले पिंढी, राष्ट्रियता र लिंगको वास्ता नगरी गर्दै अथाह सहानुभूति देखाए ।’

वकामिया आफ्नो आशाको सन्देश फैलाउन ‘एक्सेल आर्ट’को प्रयोग गर्छिन् । त्यस्तै, माइक्रोसफ्टको स्प्रिडसिट एप्लिकेशनको प्रयोग गरी डिजाइन बनाउँछिन् । 

‘मेरो उमेरका मानिसका लागि एक्सेल अर्थहिन हुनसक्छ, तर मैले एक रोचक विचार बनाए, जसले जापान र विदेशका मेरो पिंडीका मानिसले प्रयोग गर्न सक्छन्, जस्तैः बुन्ने, कला भर्ने वा हस्तकला गर्ने’, उनी वर्णन गर्छिन्, ‘जस्तै उदाहरणका लागि, बुन्ने प्याटर्न एक्सेल मार्फत् प्रस्तुत र नक्कल गर्न सकिन्छ’ । 

वाकामियाका लागि प्रविधिको प्रयोग गर्नु भनेको विभिन्न पिंढीमा रचनात्म्कताको नयाँ माध्यम ल्याउनु हो । आफ्नो प्रयासमार्फत् उनी युवा वर्गलाई पनि आफ्नो आवाज सुन्न र खुबी पत्ता लगाउन प्रेरित गराउन चाहान्छिन् । 

‘म रचनात्मक रहन चाहान्छु र बालबालिकाहरु रचनात्मक हुन् भन्ने चाहान्छु । म सँधै उनीहरुलाई केही रचना गर्न र नवितम सोच्न भनिरहेकी हुन्छु । तपाईसँग सँधै तपाईको आफ्नै विचार र पद्धती हुनुपर्छ’, उनले भनिन्, ‘जापानका जेष्ठ मानिसमाथि मलाई विश्वास छ... उनीहरु अझ राम्रो गर्न आतुर छन् । उनीहरु सबैभन्दा राम्रो मान्छे हुन्, किनकि उनीहरु इमान्दारीका साथ आफ्नो वृद्ध अवस्थाको बारेमा सोच्छन् ।’

६० वर्षमा आफ्नो जीवनको सुरुवात भएको वाकामिया बताउँछिन् र अगाडी के–के कुरा आउनेछ भनी निक्कै उत्साहित छिन् । 

‘मलाई एक सकारात्मक व्यक्तिको रुपमा लिइन्छ र उमेर बढ्दै गए पनि मलाई जे मनपर्छ त्यही गर्दै आएको छु’, वाकामियाले भनिन्, ‘केही मानिसहरु आफ्नो बुढ्यौलीको वास्तविकतालाई अस्विकार गर्छन्, तर यो अस्ताउँदो सूर्यविरुद्ध प्रतिस्पर्धा गर्नु जस्तै हो । मलाई यस्तो निक्कै थकानपूर्ण लाग्छ ।’ वास्तविकतासँग लड्नुभन्दा सूर्यसँगै अस्ताएर सूर्यास्तमा रमाउनुपर्छ भन्छिन् उनी । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर