पुटिनले सम्बाेधन गरेकाे कार्यक्रममा प्रचण्डले भने:आर्थिक स्वतन्त्रता नभएसम्म राजनीतिक स्वतन्त्रता पूर्ण हुदैन
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसियाको मस्कोमा आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गरेका छन् ।
सत्तारूढ पार्टी ‘युनाइटेड रसिया’ द्वारा आयोजित यस कार्यक्रममा आयोजक दलका संयोजक V. Yakushev ले अवधारणा पत्र प्रस्तुत गरेका थिए भने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले लिखित सम्बोधन पठाएका थिए ।
चीन, भारत, अफ्रिका, अमेरिका र युरोपलगायत विश्वका ७६ देशबाट ४८० जना प्रतिनिधिहरूको सहभागिता रहेको यस सम्मेलनमा संयोजक प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट अन्तर्राष्ट्रिय संवादका लागि महत्त्वपूर्ण मञ्च तयार गरिदिएकामा आयोजकप्रति हार्दिक आभार प्रकट गरे ।
सम्बोधनका क्रममा संयोजक प्रचण्डले विश्व इतिहास अहिले एक संवेदनशील मोडमा उभिएको बताउँदै भू–राजनीतिक तनाव, आर्थिक असमानता र वातावरणीय चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता अपरिहार्य रहेको औंल्याए । उनले सम्बोधनको क्रममा मुख्यतया निम्न विषयहरूमा जोड दिए ।

आर्थिक र राजनीतिक स्वाधीनता: जबसम्म कुनै पनि राष्ट्र आफ्नै आर्थिक नीति र विकासका प्राथमिकताहरू तय गर्न स्वतन्त्र हुँदैन, तबसम्म उसको राजनीतिक स्वतन्त्रता पूर्ण हुन सक्दैन ।
बहुध्रुवीय विश्व व्यवस्था: कुनै पनि राष्ट्रलाई बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारण गर्ने मौलिक अधिकार छ । सार्वभौम समानता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित न्यायपूर्ण र लोकतान्त्रिक बहुध्रुवीय विश्व व्यवस्थाको विकास गर्नुपर्छ ।
दक्षिण–दक्षिण आर्थिक सहकार्य: सीमित बाह्य वित्तीय केन्द्रहरूमा निर्भर रहनुको साटो विस्तारित व्यापार, लगानी र पूर्वाधार साझेदारीमार्फत अर्थतन्त्रहरू बलियो बनाउनुपर्दछ ।
अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा सुधार: विश्वव्यापी वित्त नियन्त्रण गर्ने संस्थाहरू लोकतान्त्रिक र उत्तरदायी हुनुपर्छ । जोखिम न्यूनीकरणका लागि स्थानीय मुद्रामा व्यापार र वैकल्पिक वित्तीय प्रणालीको खोजी गर्नुपर्नेमा जोड ।
प्रविधि हस्तान्तरण र औद्योगिकीकरण : ‘ग्लोबल साउथ’ केवल कच्चा पदार्थको आपूर्तिकर्ता मात्र बन्न नहुने बताउँदै औद्योगिकरण, वैज्ञानिक अनुसन्धान र डिजिटल आधुनिकीकरणमार्फत उत्पादन क्षमता बढाउनुपर्ने ।





2026-11-16-12-15-14.jpeg)
प्रतिकृया दिनुहोस