• २०८३ मङ्सिर ३ बिहीबार
  • Thursday, 19 November, 2026

देउवा र प्रचण्डसहित आफूलाई थुन्न खोजेको ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आफूसहित पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुनिदिने चेतावनी दिएको दाबी गरेका छन् ।

बुधबार पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बोली होस्मै बोलेको हो कि बेहोसमा हो भनेर प्रश्न समेत गरे ।

उनले विगतमा हिंसात्मक, अलोकतान्त्रिक तथा आतंककारी गतिविधिमार्फत सत्ता उलटफेर गर्ने, आगजनी, लुटपाट र तोडफोडबाट लोकतान्त्रिक तथा संवैधानिक व्यवस्था कमजोर बनाउने काम भएको जिकिर गरे। 

त्यस्ता गतिविधिलाई वैधानिकता दिन निर्वाचनको मञ्चन गरिएको उनको आरोप छ। उनले हाल भय र त्रासको वातावरणको सरकार चलिरहेको बताए। सरकार दमनकारी र प्रतिशोधी व्यवहारसहित फासिवादतर्फ उन्मुख भएको उनको भनाइ छ। 

‘अहिले देश राजनीतिक रुपमा एउटा आतंकको छायामुनि, भय र त्रासको वातावरण मुनि, असंवैधानिक, गैरकानूनी कृयाकलापहरूको पेलाईमा स्वेच्छाचारी शासनको अन्तरगत देश चलिरहेको छ,’ ओलीले भने, ‘फासिवाद तर्फ दमनकारी प्रतिशोधी व्यवहार अगाडि बढिरहेको छ।’

आर्थिक अवस्था निरन्तर खस्किँदै गएको उल्लेख गर्दै उनले सरकारसँग ठूलो रकम थन्किएर बसे पनि पीडित जनताले राहत समेत पाउन नसकेको बताए। 

‘आर्थिक हिसाबले देश लगातार अधोगतितर्फ गइरहेको छ। सामाजिक हिसाबले सामाजिक मूल्य मान्यता खस्कीरहेका छन्। समाज अत्यन्तै उल्टो बाटोतिर धकेलिँदै गएको छ,’ ओलीले भने, ‘सांस्कृतिक हिसाबले हाम्रो भाषा माथि, हाम्रो संस्कृति माथि, हाम्रो सभ्यता माथि चर्को हमला भईरहेको छ।’

सरकार जनताप्रति उत्तरदायी नभएको उनको आरोप छ। ‘खर्बौ पैसा जम्मा भएको छ। पीडितहरू दुःखमा पिल्सीरहेका छन्। त्यो पैसाको पनि प्रयोग भएको छैन,’ उनले भने। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर