• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

युक्रेनमा दादुराबाट १४ को मृत्यु, ३२ हजार बढी प्रभावित 

किभ । युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । 

यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । युक्रेनको स्वास्थ्य मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । 

सन् २०१८ को डिसेम्बर २८ बाट सन् २०१९ को मार्च १२ सम्म १८ हजार १०९ जना बालबालिकासहित ३२ हजार ९३९ व्यक्ति दादुराबाट प्रभावित भएको सो मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । गत वर्ष युक्रेनभर ३५ हजार १२० व्यक्ति दादुरा रोगबाट प्रभावित भएका थिए । 

सन् २०१७ मा भने ४ हजार ७८२ व्यक्ति मात्र यो रोगबाट प्रभावित भएका थिए । विश्वमा नै दादुराबाट प्रभावित व्यक्तिको सङ्ख्या द्रूत रुपमा बढेको बाल विकास कोष (युनिसेफ)ले जानकारी दिएको छ । 

सन् २०१७ बाट हालसम्म युक्रेनमा दादुराबाट करिब ३५ व्यक्तिको मृत्यु भएको बताइएको छ । यस रोगको संक्रमणबाट बच्न सकिने उपायहरुको अवलम्बन यथेष्ट मात्रामा गर्न नसकिएकोले दादुराको संक्रमण फैलिने दर बढ्दै गएको स्वास्थ्य अधिकारीहरुको दाबी छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर