मापदण्डविना कर्मचारीलाई भत्ता बाढ्दै सरकार
काठमाडौं । चालू आवको बजेटमा घोषणा भएअनुसार राष्ट्रसेवक कर्मचारीले गत साउनदेखि नयाँ तलबमानको १० प्रतिशत प्रोत्साहन भत्ता पाइरहेका छन् । तर, साढे चार महिना बित्दा पनि कार्यसम्पादनका आधारमा दिइने प्रोत्साहन भत्ताको सूचक बनेको छैन ।
जबकि, १५ जेठमा बजेट प्रस्तुत गरेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भनेका थिए, ‘बढेको तलब (१० प्रतिशत तलब वृद्धिपछि)को आधारमा अर्को १० प्रतिशत प्रोत्साहन भत्ता दिइएको हो । यो अहिलेलाई सबैले पाउँछन् । पछि कार्यसम्पादनसम्बन्धी मिजर (मापदण्ड) सुरु गरिएपछि यो मिलान हुन सक्छ । त्यसपछि दिइने प्रोत्साहन भत्ता भने साँच्चिकै कार्यसम्पादनमै आधारित हुनेछ ।’ कार्यसम्पादनसम्बन्धी मापदण्ड बनाएपछि प्रोत्साहन भत्ता प्रणाली मिलान हुने उनले स्पष्ट पारेका थिए ।
गत ३ भदौमा अर्थ मन्त्रालयले तलब वृद्धि तथा प्रोत्साहन भत्ता सम्बन्धमा जारी गरेको परिपत्रको सर्त नम्बर १ मा प्रोत्साहन भत्ता कार्यसम्पादन सूचकका आधारमा प्रदान गर्ने व्यवस्था क्रमिक रूपमा मिलाउँदै जाने उल्लेख थियो ।
तर, हालसम्म पनि सरकारले कार्यसम्पादन मापदण्ड तयार गरेको छैन । प्रोत्साहन भत्ता दिनेसम्बन्धी कार्यसम्पादन मापदण्डबारे प्रक्रिया सरकारले अघि बढाएको छैन । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख सहसचिव बन्धुप्रसाद बाँस्तोलाले यसबारे आफूलाई जानकारी नभएको बताए । ‘कार्यसम्पादन सूचक बनाउनेबारे बजेटमा उल्लेख भएको विषय हो । प्रोत्साहन भनेको पनि कार्यसम्पादनसँग जोडिने विषय हो,’ उनले भने, ‘तर, यसबारे जानकारी भएन । प्रक्रिया अघि बढेजस्तो लाग्दैन ।’
खासगरी तलब सुविधा ज्यादै न्यून भएको, कार्यचाप बढी भएका, अतिरिक्त समय काम गर्नुपर्ने, जोखिमका काम इत्यादिका आधारमा यस्तो भत्ता दिने प्रचलन विगतमा पनि थिए । तर, भत्ताको दुरुपयोग भएपछि विवाद हुने र सुविधा कटौती गर्नुपर्ने अवस्था बनेका थिए । यसपटक भने सरकारले तलबस्केल वृद्धि गर्दा पनि सबैका लागि एकमुस्ट अतिरिक्त प्रोत्साहन भत्ता दिएकामा कतिपयले प्रश्न उठाउँदै आएका छन् । यसले नियमित काम गर्दा पनि कर्मचारीले प्रोत्साहन भत्ता पाइरहेका छन् ।
चालू आवमा गरिएको तलब वृद्धिले राज्यकोषमा ६० अर्ब रुपैयाँको व्यायभार थपेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिले राज्यकोषबाट तलब/पारिश्रमिक बुझ्नेहरूको संख्या झन्डै ६ लाख छ । तलब वृद्धिबाट उक्त संख्या लाभान्वित छ ।
चालू आवका लागि सरकारले पारिश्रमिक सुविधामा मात्र दुई खर्ब ३७ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यसमा कर्मचारी र पदाधिकारीको पारिश्रमिक, पोसाक, खाद्यान्न, औषधि–उपचार खर्च, स्थानीय भत्ता, महँगी भत्ता, फिल्ड भत्ता, कर्मचारीको बैठक भत्ता, कर्मचारी प्रोत्साहन तथा पुरस्कार, वैदेशिक भत्ता, अन्य भत्ता, पदाधिकारी बैठक भत्ता, पदाधिकारी अन्य सुविधा र पदाधिकारी अन्य भत्ता समावेश छन् । नयाँ पत्रिकाबाट





.2026-11-27-11-45-45.jpeg)

प्रतिकृया दिनुहोस