पछि हटे नेतान्याहु, विपक्षी दलका नेतालाई पहिलाे प्रधानमन्त्री मान्न तयार
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सत्ता जोगाउन विपक्षी नेता गादी आइजेनकोटसँग एकता सरकार गठनको प्रस्ताव गरेका छन्। प्रस्तावअनुसार आइजेनकोट पहिले प्रधानमन्त्री बन्नेछन् भने नेतान्याहुले केही समयका लागि सत्ता छाडेर वैकल्पिक प्रधानमन्त्रीको भूमिका निर्वाह गर्नेछन्।
शनिबार नेतान्याहुले सामाजिक सञ्जालमार्फत् राष्ट्रिय एकता सरकार गठनका लागि आफू तयार रहेको बताएका हुन्। उनले सबैभन्दा ठूलो दलको नेता पहिले प्रधानमन्त्री बन्नुपर्ने सिद्धान्तसमेत छाड्न आफू तयार रहेको उल्लेख गरेका छन्।
इजरायलमा अक्टोबर २७ मा भएको निर्वाचनले कुनैपनि पक्षलाई स्पष्ट बहुमत नदिएपछि राष्ट्रपति आइज्याक हर्जोगले सरकार गठनका लागि पूर्वसेनाप्रमुख आइजेनकोटलाई जिम्मेवारी दिएका थिए। उनलाई सरकार गठनका लागि डिसेम्बर ६ सम्मको समय दिइएको छ। आवश्यक परे थप १४ दिन समय दिन सकिने व्यवस्था छ।
निर्वाचनमा आइजेनकोट नेतृत्वको याशार पार्टीसहित विपक्षी गठबन्धनले ४८ सिट जितेको थियो भने नेतान्याहुको गठबन्धनले ५३ सिट पाएको थियो। १२० सदस्यीय संसद् नेसेटमा सरकार गठनका लागि ६१ सिट आवश्यक पर्छ। अरब नेतृत्वका दुई गठबन्धनले १९ सिट जितेका छन्।
आइजेनकोटले बहुमत जुटाउने प्रयासस्वरूप वामपन्थी दल द डेमोक्र्याट्स र दक्षिणपन्थी दल यिस्रायल बेइतेनुसँग गठबन्धन सम्झौता गरिसकेका छन्। पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट नेतृत्वको बेयाचाद पार्टी पनि उनको गठबन्धनमा छ। बेनेटले पनि नेतान्याहुको लिकुड पार्टी सहभागी हुने र आइजेनकोट पहिले प्रधानमन्त्री बन्ने एकता सरकारको समर्थन गरेका छन्।
नेतान्याहुले अस्तित्वकै लागि खतरा उत्पन्न भएको परिस्थितिमा त्यस्तो चुनौती सामना गर्नसक्ने सरकार गठन आवश्यक रहेको भन्दै आफूले व्यक्तिगत तथा राजनीतिक स्वार्थलाई अलग राख्न खोजेको बताएका छन्। उनले सबैभन्दा ठूलो दलको नेतृत्व गर्ने सिद्धान्तभन्दा राष्ट्रिय जिम्मेवारीलाई प्राथमिकता दिएको दाबी गरेका छन्।
नेतान्याहुको प्रस्तावपछि आइजेनकोटले वार्ताका लागि आफू तयार रहेको बताएका छन्। उनले आफ्नो याशार पार्टीको वार्ता टोलीले नेतान्याहुको लिकुड पार्टीसँग वास्तविक र तीव्र वार्ता गर्न खोजेपनि उताबाट अस्वीकार र टार्ने प्रवृत्ति देखिएको आरोप लगाए।
‘यदि लिकुड वास्तविक एकताका लागि तयार छ भने आगामी २४ घण्टामा उसको प्रतिबद्धता जाँच्न म तयार छु,’ आइजेनकोटले भनेका छन्। उनले सरकारका नीतिगत प्राथमिकता र मुख्य विषयमा गम्भीर वार्ता गर्न नेतान्याहुलाई आमन्त्रणसमेत गरेका छन्।
अरब नेतृत्वका दलको समर्थनले पनि सरकार गठनमा निर्णायक भूमिका खेल्नसक्ने देखिएको छ। तर, निर्वाचनअघि अधिकांश यहुदी दलले अरब नेतृत्वका दलसँग मिलेर सरकार नबनाउने प्रतिबद्धता जनाएका थिए। शनिबार मध्यमार्गी इस्लामवादी राम पार्टीका नेता मन्सुर अब्बासले हमासलाई आतंकवादी समूहका रूपमा स्वीकार गर्ने संकेत दिएका छन्। उनले आफ्नो पार्टीले सहप्रस्तावक रहेको त्यस्तो विधेयकको पक्षमा मतदान गरेको पनि बताएका छन्।
इजरायलमा कुनैपनि दलले एक्लै स्पष्ट बहुमत ल्याउन नसकेकाले सरकार गठनका लागि गठबन्धन आवश्यक पर्दै आएको छ। सन् २०१९ देखि २०२२ सम्मको राजनीतिक अस्थिरताका क्रममा नेतान्याहु र उनका प्रतिस्पर्धीबीच सहकार्य हुन नसक्दा पाँचपटक निर्वाचन भएको थियो।




2026-11-20-11-17-53.jpeg)
.2026-11-19-04-34-20.jpeg)
प्रतिकृया दिनुहोस