• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

दुग्ध पदार्थ गुणस्तरसम्बन्धी निर्देशिकाप्रति उत्पादकको असन्तुष्टि

चितवन । दुध तथा दुग्ध पदार्थमा स्वच्छता एवम् गुणस्तर सम्बन्धी निर्देशिका २०७५ प्रति दुग्ध उत्पादकहरुले असन्तुष्टि जनाएका छन् । कार्यान्वयनको चरणमा रहेको यस निर्देशिका किसानमुखी र व्यवहारीक नभएको उनीहरुको गुनासो छ । भुमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. ३ को आयोजनामा मंगलबार भरतपुरमा भएको दुध स्वच्छता सम्बन्धी दुग्ध व्यवसायी बीच अन्तरक्रिया कार्यक्रममा बोल्दै व्यवसायीक पशुपालक दुध उत्पादक कृषक समाज नेपालका केन्द्रीय अध्यक्ष एवम् युनिक गाई फार्म भरतपुरका सञ्चालक आनन्द न्युरेले निर्देशिका व्यवहारीक नभएको प्रतिक्रिया दिए ।

ठुला दुध डेरीहरुले नचाहिँदो हल्ला फैलाएर किसानहरुको भुक्तानि नदिने र काल्पनिक रुपमा मिल्क होलिडेको बहाना बनाउने गरेको आरोप लगाए । सड्न लागेका धुलो पाउधर दुध ल्याएर ठुला दुध डेरीहरुले कालोबजारी गरेका उनको भनाइ छ । किसानका हरेक घरगोठमा पुगेर पशु विज्ञहरुले सेवा दिनुपर्ने भन्दै उनले हैकम जमाउने मनशायले ल्याइएको निर्देशिका कागजमा मात्रै सिमित रहने वताए । 

भुमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. ३ का खाद्य अनुसन्धान अधिकृत घननाथ अधिकारीले विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरु संगको छलफलबाट नै निर्देशिका आएको वताए । दुधको स्वच्छता कायम राख्नका लागी न्युनतम मापदण्ड निर्देशिकामा उल्लेख रहेको भन्दै उनले कार्यान्वयनमा कुनै जटिलता आए संशोधनमा जान पनि सकिने वताए । स्वच्छ दुध उपभोग गर्न पाउने उपभोक्ताको अधिकार कार्यान्वयनका लागी अघि बढिएको उनको भनाइ छ । 

गोरखकाली गाई फार्मका सञ्चालक एवम् चितवन दुध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले निर्देशिकामा उपभोक्ताहरुले सफा र स्वच्छ दुध र दुधजन्य पदार्थ उपभोग गर्न पाउनुपर्छ भनेर उल्लेख गरिनु सकारात्मक भएको वताए । एउटै किसानले घाँस काट्ने, गोबर सोहर्ने, गाईभैंसीको स्याहार गर्ने र दुध दुहेर चिस्यान केन्द्र सम्म पु¥याउँदा धेरै समय लाग्ने भएकाले समय अभावका कारण जान्दाजान्दै पनि सरसफाईमा ध्यान दिन नसकेका उनले वताए । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख बिक्की राउतले निर्देशिका सम्बन्धी दुग्ध उत्पादक र डेरी व्यवसायीहरुलाई जानकारी गराएका थिए । चितवनमा दैनिक तीन लाख लिटर दुध उत्पादन हुँदै आएको छ जसमध्ये दुई लाख लिटर दुध चितवनमा नै खपत हुने गरेको छ । यहाँ चार सय बढी दुग्ध उत्पादक किसान र करिब १० जना व्यवसायीक दुग्ध उत्पादक किसानहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर