• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

उर्जामन्त्री पुनको निर्देशन : विगतमा जे भएपनि अबदेखि हचुवाको भरमा काम नगर्नुस्

काठमाडौं । उजा, जलश्रोत तथा सिंचाई मन्त्रालयको दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ । 

वैठकको अध्यक्ष समेत रहेका उर्जा, जलस्रोत सिंचाईमन्त्री वर्षमान पुनले मंगलवार सरकारको प्राथमिकताका आधारमा मन्त्रालय अन्र्तगतका काम अघि बढ्नुपर्ने बताएका छन् ।  

उनले विगतको जस्तो हचुवाको भरमा योजना छनौट गर्ने प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने भन्दै सरकारको प्राथमिकता र मन्त्रालयले जारी गरेको स्वेतपत्रअनुसार नै काम अघि बढाउन निर्देशन दिएका छन् । 

‘अबदेखी हुचवाको भरमा काम नगर्नुहोला, विगतमा मन्त्री, सांसद, सचिव र उच्च अधिकारीका आ–आफ्ना स्वार्थहरु थिए होला तर अब त्यो हुंदैन, अब योजना छनौट गर्दा प्राथमिकता र मन्त्रालयको योजनाअनुसार हुन्छ ।’ मन्त्री पुनले समीक्षा बैठकमा भने ।

नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले आफू कुनै पार्टी र जिल्ला विशेषको मात्र मन्त्री नभएको भन्दै सिंगो देशको मन्त्री भएकाले योजना छनौट गर्दा सिंगो देश र आवश्यकतालाई हेरेर योजना बनाउने स्पष्ट पारे । उनले आयोजना छनौट गर्दा दबाव दिने प्रवृतिलाई निरुत्साहित गरेर अघि बढ्न निर्देशन समेत दिए ।

पुर्व अर्थमन्त्री समेत रहेका उर्जामन्त्री पुनले विनियोजित वजेट एक सय प्रतिशत नै खर्च हुनुपर्ने धारणा राखे । उनले अहिलेको समिक्षा वजेट तयारीको लागी समेत भएको भन्दै विनियोजित वजेट खर्च गर्न निर्देशन दिएका छन् । 

मन्त्री पुनले आगामी वर्षको वजेटमा नचाहिने आयोजित झिक्ने र सरकारको प्राथमिकताअनुसार नयां आयोजना छनौट गर्ने स्पष्ट पारे । 

उनले एकिकृत सिंचाई र उर्जा कार्यक्रम पहाडका सिंचाईयोग्य ठाउंमा सिंचित क्षेत्र बढाउनको लागी अघि सारेको योजना भएको भन्दै उक्त योजनालाई प्राथमिकतामा राखेर अघि बढाउन मातहतका निकायलाई निर्देशन दिए । 

वैठकमा मन्त्रालय मातहतका उच्च अधिकारीहरुले आयोजनामा भईरहेको प्रगती, बजेटको अवस्था र समस्याहरुको वारेमा आ–आफ्ना धारणाहरु राखेका थिए । उर्जा मन्त्रालयमा मंगलवार करिव ६ घण्टा लामो चलेको वैठकमा उठेका सबै  प्रश्नको उर्जामन्त्री पुनले जवाफ दिएका थिए ।

मन्त्री पुनले प्रधानमन्त्री, मन्त्री र सरकारको प्राथमिकतालाई ख्याल गरेर परिणाममुखी काम गर्न समेत निर्देशन दिएका छन् । भेरी ववई, सिंक्टा र रानि जमरा लगायतका राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुलाई प्रतिवद्धता गरेअनुसार समयमै काम गरेर देखाउन मन्त्री पुनले सचेत समेत गराएका छन् ।

‘तपाईहरुले मन्त्रालयलाई प्रतिवद्धता जनाएअनुसार काम गरेर देखाउनुहोस्, मैले प्रधानमन्त्रीलाई पनि जवाफ दिनुपर्छ, मलाई जसरी पनि परिणाम चाहिन्छ ।’ मन्त्री पुनले वैठकमा भने ।

प्राधिकरण मातहतका कम्पनीको अवस्था के छ ?
उर्जामन्त्री पुनले विद्युत प्राधिकरण मातहतका कम्पनीको अवस्थाको बारेमा समेत जानकारी मागेका छन् । उनले प्राधिकरण मातहत धेरै कम्पनी रहेको भन्दै त्यसको प्रगती र समस्याको रिपोर्टिंग आफुलाई नियमित हुनुपर्ने बताए ।

‘प्राधिकरण मातहतका कम्पनी धैरै भए, कम्पनीका पनि कम्पनी छन् । तिनको अवस्था के छ, कहां कहा लगानी छ, शेयरको अवस्था के छ त्यसको जानकारी हुनुपर्यो ।’ मन्त्री पुनले बैठकमा भने ।

उनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा लगानी थप्नेबारेमा समेत आफुले पहल गर्ने बताए । मन्त्री पुनले भने– ‘म अस्ति मात्र फिल्डमा जांदा लगानीको समस्या भएको जानकारी पाए, यो आयोजना हामीलाई छिटो पनि बनाउंनुपर्नेछ, त्यसका लागी आवश्यक बजेट प्रवन्ध गर्नुपर्छ, त्यसको पनि तयारी अघि बढाउंनुहोस् ।’ 

काम नगर्ने ठेकेदारको टेण्डर खारेज गर्नुहोस्
मन्त्री पुनले लामो समयदेखी समस्याको रुपमा रहेका आयोजनाको हल गर्नको लागी विशेष व्यवस्था गर्ने प्रस्ताव समेत वैठकमा गरेका छन् । उनले समस्याका रुपमा रहेका आयोजनाको हकमा विशेष व्यवस्था गर्ने भन्दै त्यसका लागी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए ।

‘आयोजनाको ठेक्का लिने तर काम नगर्ने,समय मात्र थप्ने, उच्च तहबाट दबाव दिनेहरुको ठेक्का तोड्नुहोस्, त्यस्ता ठेकेदारहरुलाई अर्को पटक काम पनि नदिनुहोस् ।’ मन्त्री पुनले भने ।

केही ठेकेदारहरुको काम नगर्ने र आयोजना होल्ड गरेर मात्र राख्ने प्रवृति रहेको भन्दै त्यस्ता ठेकेदारहरुको ठेक्का तोड्न समेत उनले निर्देशन दिए । उनले शक्तिकेन्द्रलाई भन्दा देश र जनतालाई केन्द्रमा राखेर पारदर्शी रुपमा काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

अनावश्यक गाडी मात्र खरिद गर्ने प्रवृति वन्द गरौ 

मन्त्री पुनले अनावश्यक रुपमा गाडी मात्र खरिद गर्ने प्रवृतिप्रति समेत असन्तुष्टि जनाएका छन् । उनले आवश्यकता भए मात्र गाडी खरिद गर्नुपर्ने भन्दै त्यसमा पनि मितव्ययिता अपनाउनुपर्ने बताए ।

‘गाडी घोडा आफु हिडेपछि हिड्ने,अनावश्यक खरिद गर्ने काम नगरौ, बरु चाहिन्छ भने न्यायाधीशको जस्तो आफ्नो गाडी लगेरै जांऔ, त्यसको राम्रोदेख पनि गरौ तर सुविधा लिने नाममा अनावश्यक गाडी खरिद नगरौ ।’ मन्त्री पुनले भने ।

परियोजनाको अध्ययन पेशा व्यवसायजस्तो 
मन्त्री पुनलेजलविद्यूत र सिंचाई परियोजनाको अध्ययन गर्ने काम पनि पेशा–व्यवसायजस्तो भएकोमा समेत असन्तुष्टि जनाएका छन् । ‘परियोजनाको जहिले पनि अध्ययन मात्र भईरहेको छ भन्ने तर अध्ययन कहिले पनि नसकिने रोग देखियो, परियोजना फिजिवल छ भने अघि बढाऔं छैन् भने प्रोजेक्ट वैंकमा राखौ, यो अध्ययन मात्र भईरहेको छ भनेर गुमराहमा नपारौ ।’ मन्त्री पुनले भने । 

उनले कर्णाली जलविद्युत परियोजनाको उदाहरण दिंदै मन्त्रालयमा आधा दर्जन मन्त्री  र सचिव फेरीदां समेत अध्ययन नसकिएको भन्दै यो पेशाको रुपमा अघि बढेकोमा असन्तुष्टि व्यक्त गरे ।

वैठकमा राष्ट्रिय योजना आयोगका सदस्य, कृष्ण ओली, उर्जामन्त्रालयका सचिवहरु संजय शर्मा र दिनेश घिमिरे र मन्त्रालय मातहतका उच्च अधिकारीहरुको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर