जन्मदिन पारेर ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना गरिने
काठमाडौं । ताप्लेजुङको तारेभिरमा भएको हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा प्रतिष्ठान स्थापना गरिने भएको छ ।
आगामी वैशाख २२ गते उनको जन्मदिनमा औपचारिक घोषणा गर्ने गरी ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना गर्न लागिएको पत्नी विद्या भट्टराईले जानकारी दिइन् । ‘प्रतिष्ठानको स्वरुप र संरचनाको विषय अहिले छलफल कै चरणमा छ, तयारी समिति निर्माण गरेर काम अगाडि बढाइएको छ,’ मन्त्री अधिकारीको स्मृतिमा आज प्रज्ञा प्रतिष्ठानमा आयोजित श्रद्धाञ्जलिसभाका क्रममा उनले भने ।
उनका अनुसार प्रतिष्ठान निर्माण गर्न प्रा डा भरतप्रसाद पहारीको संयोजकत्वमा नौ सदस्यीय तयारी समिति बनाइएको छ । समितिमा राजनीतिक प्रतिनिधि, परिवारका सदस्य, शुभेच्छुक र मन्त्री अधिकारीका साथी आबद्ध छन् । उनले भने, ‘म धेरै भन्न सक्ने अवस्थामा त छैन, समृद्धिबाट परिवर्तन भन्ने उहाँको जुन मान्यता थियो, त्यसलाई आगामी दिनमा अगाडि लिएर जान सक्यौँ भने उहाँ प्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।’
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई सफल बनाउन र उहाँको कृतिलाई संस्थागत गरी अमरत्व प्रदान गर्न नेपाल प्रज्ञा प्रतिष्ठानले हरतरहबाट सहयोग गर्ने बताए । ‘नयाँ रवीन्द्र अधिकारीको रुपमा विद्या भट्टराइलाई देख्ने छौँ, उहाँको छाँया पर्ने विश्वास छ,’ कुलपति उप्रेतीले भने । अधिकारीसहित भाषाशास्त्री बालकृष्ण पोखरेल र मदनकुमार दाहालको सम्मानमा बुधबार एकदिन प्रतिष्ठान बन्द गर्ने निर्णय गरेकोसमेत उहाँले जानकारी दिए ।
तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षकसमेत रहेका अधिकारीका ‘समृद्ध नेपाल’ र ‘लोकतन्त्र संविधानसभा र राज्य पुनःसंरचना’ गरी दुइवटा पुस्तक प्रकाशित छन् । प्रतिलिपी अधिकार संरक्षणको कानूनका सुत्रधार अधिकारीले तीन वटा प्रतिष्ठानलाई मर्ज गर्ने विषय उठ्दा अधिकारी त्यसको विपक्षमा उभिएको प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बुले जानकारी दिए ।
मन्त्री अधिकारी कै सिफारिसमा नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला र सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पदाधिकारीको नियुक्ति भएको थियो । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्ययले शोक प्रस्ताव पढेर सुनाएका थिए । उनले भाषा, साहित्य, कला, संस्कृति र दर्शनका कुशल संरक्षण गुमाएको बताए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले पर्यटन र संस्कृतिको फाँटमा नयाँ योजना र उत्साहका साथ अगाडि बढ्दै गर्दा उहाँको निधनले स्तब्द बनाएको भन्दै राष्ट्र कै सच्चा विकासप्रेमी नेता गुमाएको उल्लेख गरे ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ले सधैँ उत्प्रेरणा दिएर प्रेरित गर्ने असल संरक्षक मन्त्री अधिकारी काम गरेर देखाउनुपर्छ भनेर सधैँ चिन्ता गरिरहने व्यक्तिको निधनले स्तब्ध भएको स्मरण गर्दै शोकलाई शक्तिमा बदलेर अगाडि बढ्न परिवारका सदस्यहरुलाई आग्रह गरे । साहित्यकारहरुले अधिकारीलाई अरुको बाटोमा हिड्नेभन्दा आफैँ बाटो बनाएर हिड्ने नेताको रुपमा सम्झिए ।
गत फागुन १५ गते तेह्रथुमको चुहानडाँडा विमानस्थलका लागि स्थलगत अध्ययन गरेर पाथीभरा हुँदै काठमाडौँ फर्कने क्रममा ताप्लेलुङको तारेभिरमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको निधन भएको थियो ।
प्रतिकृया दिनुहोस