• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

भारत सरकारले गुगल र एप्पललाई भन्यो – ‘टिक टक’ एप डिलिट गर्नुहोस् 

तस्बिर : वेभ

एजेन्सी । भारतको केन्द्र सरकारले गुगल र एप्पललाई आफ्नो एप्स स्टोरबाट चर्चित चिनियाँ भिडियो मोबाइल एप्लिकेशन ‘टिक टक’ हटाउन भनेको छ । 

सोमबार मद्रास हाई कोर्टको तर्फबाट यस भिडियो एपमाथि लगाइएको प्रतिबन्धलाई निरन्तरता दिनबाट सर्वोच्च अदालतले अस्विकार गरेको थियो । त्यसपछि भारतको सूचना तथा प्रविधि मन्त्रालयले यो कदम उठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

सर्वोच्च अदालतको प्रमुख न्यायाधीश रञ्जन गोगोईको नेतृत्वको बेञ्च यस मामिलाको सुनुवाई अर्को मिती २२ अप्रिल राखेको छ, किनकि यसअघि मद्रास हाई कोर्टले १६ अप्रिलमा यस मामिलामा सुनुवाई गर्नेछ । 

यस घटनाक्रमको जानकारी राख्ने स्रोतका अनुसार, सुचना तथा प्रविधि मन्त्रालयको यस आदेशले टिक टक र डाउनलोड हुनबाट रोक्नमा मद्दत गर्नेछ । तर, जसले पहिले नै टिकटक एप डाउनलोड गरेर राखेका छन्, उनीहरुले भने आफ्नो स्मार्टफोनमा यसको प्रयोग गर्न पाउने बताइएको छ । 

दुई साताअघि भारतको मद्रास हाई कोर्टले केन्द्र सरकारसँग टिक–टक भिडियो एप्समाथि प्रतिबन्ध लगाउन आदेश दिएको थियो । टिकटकले पोर्नोग्राफी(अश्लिल गतिविधि)लाई बढावा दिएका हाई कोर्टको भनाई छ । 

सेन्सर टावरको एक रिपोर्ट अनुसार, टिक–टकलाई हालै मात्रै एन्ड्रोएड र आईओएस दुवैमा गरी १० करोड डाउनलोड भएका छन् । 

सन् २०१८ मा विश्वमा सबैभन्दा बढी डाउनलोड हुने एप्समध्ये एक टिक–टक पनि हो ।  टिक–टकको जम्मा डाउनलोडको २५ प्रतिशत भारतबाट गरिएको र एनीको एक रिपोर्ट अनुसार, भारतमा यस एप्सका प्रयोगकर्ता करिब दुई करोड ५० लाख छन् ।  

भारतअघि टिक–टक एप्स इन्डोनेसियामा पनि प्रतिबन्ध लगाइएको छ । रोयटर्सको एक रिपोर्टअनुसार, इन्डोनेसियामा प्रतिबन्ध हुनुको कारण पोर्नोग्राफी, गलत सामाग्री आदी बताइएको थियो । टिक–टकले अमेरिकामा पनि आलोचनाको सामना गर्नु पर्यो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर