भारत सरकारको आदेश मान्दै प्ले स्टोरबाट हटाइयो ‘टिकटक’
एजेन्सी । भारत सरकारले प्ले स्टोरबाट ‘टिकटक’ भिडियो एप हटाउन दिएको आदेशको गुगलले पालना गरेको छ । यद्यपि, मंगलबार अबेरसम्म एप्पलको प्ले स्टोरमा भने टिकटक उपलब्ध रहेको, तर गुगल प्ले स्टोरमा नरहेको रोयटर्सले जनाएको छ ।
मंगलबार भारतको सूचना तथा प्रविधि मन्त्रालयले गुगल र एप्पललाई प्ले स्टोरबाट हटाउन बताएको थियो । सोही आदेशको पालना गर्दै गुगलले हटाएको हो ।
गत सोमबार टिकटक प्रतिबन्ध लगाउनुपर्छ भनेर परेको रिटमा सुनुवाई गर्दै उच्च अदालतले यो मुद्दामा २२ अप्रिलमा सुनुवाई गर्ने जनाएको थियो । तर मद्रासको उच्च अदालतले गरेको सुनुवाईमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न जरुरी नरहेको ठहर गरेपछि भारतमा टिकटक माथि प्रतिबन्ध लगाइएको हो ।
यसअघि मद्रासको उच्च अदालतले चीनको भिडियो मोबाइल एप प्रतिबन्ध लगाउन केन्द्रीय सरकारलाई भनेको थियो । यो एपले युवाहरुको भविष्य र बालबच्चाको दिमागमा नकारात्मक असर पारेको अदालतको ठहर छ ।
सेन्सर टावरको एक रिपोर्ट अनुसार, टिक–टकलाई हालै मात्रै एन्ड्रोएड र आईओएस दुवैमा गरी १० करोड डाउनलोड भएका छन् । सन् २०१८ मा विश्वमा सबैभन्दा बढी डाउनलोड हुने एप्समध्ये एक टिक–टक पनि हो ।
बंगलादेश, इन्डोनेसियालगायत केही देशमा यसअघि नै टिकटक प्रतिबन्ध भइसकेको छ । टिक–टकको जम्मा डाउनलोडको २५ प्रतिशत भारतबाट गरिएको र एनीको एक रिपोर्ट अनुसार, भारतमा यस एप्सका प्रयोगकर्ता करिब दुई करोड ५० लाख छन् ।
प्रतिकृया दिनुहोस