• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

लेनिनलाई आज विश्वभरका कम्युनिष्टले सम्झदै

को हुन् लेनिन ?

काठमाडौं । आज अप्रिल २२ तारिख व्लादिमीर इलीइच उल्यानोव (लेनिन)को १४९ औँ जन्मजयन्ती मनाइदैँछ ।

विश्वभरका कम्युनिष्टहरुले लेनीनलाई सम्झदै  लेनिन जयन्ती मनाउने गरेका छन् । विश्वका महान् समाजवादी चिन्तक संगठक एवंम दार्शनिक लेनिनको जन्म १८७० अप्रिल २२ तारिखमा सिम्ब्रिस्क (उल्यानोभस्क) सहरमा भएको थियो । यो सहर रुसको प्रसिद्ध भोल्गा नदप्को किनारमा पर्दछ ।

लेनिनका पिताको नाम इल्या निकोलायभिच उल्यानोभ र माताको नाम मारिया अलेक्सान्द्रोभ्ना ब्लाङ्क हो । २० औँ शताब्दिका विश्वका सबैभन्दा प्रभावशाली नेता हुन् लेनिन । उनकै नेतृत्वमा विश्वमा पहिलो पटक रुसमा सोभियत सत्ता अर्थात कम्युनिष्ट सत्ताको स्थापना भएको थियो ।

लेनिन एक कुशल संगठक मात्र थिएनन्, एउटा राम्रो सिद्धान्तकार पनि थिए । माक्र्सवादमा थप योगदान दिदैँ माक्र्सवादको तीनवटै संगठक अङ्गमा लेनिनले योगदान दिएका छन् । दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवादमा लेनिनले पुर्याएको योगदानलाई लेनिनवादको रुपमा संश्लेषण गरिएको छ ।

लेनिनले सन् १९१७ मा रुसको सत्ता आफ्नो हातमा लिएपछि युद्धसमाजवादी अर्थनीति अपनाए भने सन् १९२२ मा नयाँ आर्थिक नीति (नेप) ल्याए । रुसमा मानवजातीले पहिलो पटक शोषणरहित समाजवादी राज्यव्यवस्था स्थापना गर्यो । जुन लेनिनकै नेतृत्वमा सम्भव भएको थियो ।

सन् १९२२ मा एउटा कार्यक्रममा सहभागि हुँदा लेनिनमाथि गोली प्रहार भएको थियो । त्यसपछि झण्डै २ वर्ष विरामी अवस्थामा रहेका लेनिनको सन् १९२४ मा ५४ वर्षको उमेरमा निधन भएको थियो । लेनिनको श्रीमती क्रुप्सकाय हुन् । उनीहरुको सन्तान भने भएको थिएन ।

 तेस्रो अन्तर्राष्ट्रिय गठनमा महत्वपूर्ण योगदान दिएका लेनिन अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका नेता समेत हुन् । उनीले सोभियत कम्युनिष्ट पार्टी मार्फत अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा सहयोग पुर्याउने नीति लिए । जसको फलस्वरुप उनको मृत्युपछि झण्डै आधा विश्वमा कम्युनिष्ट पार्टीको शासन चल्यो ।

लेनिनले स्थापना गरेको सोभियत संघ र कम्युनिष्ट पार्टी सोभियत संघमा १९९० मा विघटित भयो । यद्धपी आजपनि विश्वभर माक्र्सवाद र लेनिनवाद प्रति आस्था राख्नेहरुले लेनिनलाई उच्च सम्मानका साथ सम्झने गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर