• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

अमेरिका–चीन व्यापार युद्ध की शक्ति संघर्ष ?

एजेन्सी । विश्वका दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनबीच अहिले अघोषित व्यापार युद्ध चलिरहेको छ । दुई देशले एक अर्काको सामानमाथि भन्सार वृद्धि गर्ने दोहोरी चलेसँगै यी दुई शक्ति राष्ट्रबीच व्यापार युद्ध चलेको ठम्याउन विश्व जगतलाई धरै समय लागेन । शक्ति राष्ट्रबीचको यो व्यापार युद्धले विश्व अर्थतन्त्रमा नै नकारात्मक असर परिरहेको छ ।

धेरैले दुई राष्ट्रबीचको व्यापारिक तनावलाई शक्तिको संघर्ष भनेर पनि व्याख्या गरेका छन् । यो संघर्षले विश्व अर्थतन्त्रमा प्रभाव परिरहेको सन्दर्भमा  दुईदेशबीच व्यापार सम्झौता हुने चर्चा पनि चलिरहेको छ जसका लागि दुबै देशका शिर्ष नेताहरु जुटि पनि रहेका छन् । तर के व्यापार सम्झौताले दुई ठूला अर्थतन्त्रबीचको द्वन्द्व अन्त्य गर्न सहयोग गर्ला त ? 

जानकारहरु भन्छन्, ‘व्यापार सम्झौता हुनु र नहुनुले दुई देशबीचको सम्बन्धमा खासै असर पर्दैन, द्वन्द्व घट्ने भन्दा झन बढ्ने देखिन्छ जसको समाधान भेटाउन मुस्किल पर्न सक्छ’ । 
युरेसिया ग्रुपका एसिया निर्देशक माइकल हिर्सन भन्छन्, ‘हामी नयाँ अध्ययायमा प्रवेश गरेका छौँ जहाँ अमेरिका चीनको भू–राजनीतिक प्रतिस्पर्धा स्पष्ट रुपमा बढ्दै गएको छ ।’ उनी भन्छन्, ‘व्यापार सम्झौताले दुईदेशबीचको शक्ति संघर्षलाई केहि साम्य त पार्छ तर केहि समयको लागि मात्र र यसको प्रभाव पनि धेरै हुने छैन’ । 

प्रविधिको लडाई

दुबै देश आफुलाई विश्वमा प्रविधिको क्षेत्रमा अब्बल दावी गर्ने होडमा यी दुई बीच अब प्रविधिको क्षेत्रमा पनि द्न्द्व बढ्ने खतरा विश्लेषकहरु औँल्याउँछन् । धेरैले यी दुई शक्ति राष्ट्रबीच प्रविधिको क्षेत्रमा पनि लडाइ सुरु भइसकेको बताउँछन् । र यसको केन्द्रमा चीनको ‘टेक जायन्ट’ हुवावे रहेको छ । 


अमेरिका लगायत विभिन्न देशहरुले सुरक्षाको चासो देखाउँदै हुवावेमाथि प्रतिवन्ध लगाएका छन् । अमेरिकाले आफ्ना संघीय निकायहरुलाई हुवावे प्रयोग नगर्न आदेश दिएको छ । यस्तै अष्ट्रेलिया र न्युजिल्याण्डमा पनि हुवावेमाथि प्रतिवन्ध लगाइएको छ । तर हुवावेले भने चीन सरकारबाट आफ्नो कम्पनी स्वतन्त्र रहेको बताउँदै आएको छ । हुवावेका संस्थापक रेन जेङ्फीले आफ्नो कम्पनीले कुनैपनि हालतमा जासुसीको काम नगर्ने स्पष्ट पारेका छन् । 

यो विवाद यति उत्कर्षमा पुग्यो कि गत डिसेम्बरमा संस्थापक रेनकी छोरी पक्राउ समेत परिन् । त्यस्तै हुवावेले अमेरिकामा आफ्नो उत्पादनमाथि प्रतिवन्ध लगाएको भन्दै उजुरी गरेको छ । त्यस्तै केहि समयअघि वाल स्ट्रिट जर्नलमा विज्ञापन छपाउँदै अमेरिकालाई सुनेका सबै कुरा विश्वास नगर्न आग्रह समेत गरेको थियो । 

अमेरिका–चीनबीचको यस्तो खालको द्वन्द्वलाई शित यद्धको संज्ञा पनि दिइएको छ तर विश्लेषकहरु यसलाई प्रविधिको लडाई भनेर पनि अथ्र्याउँछन् । 

चीनमाथि अमेरिकाको बढ्दो चासो 

पछिल्लो समय चीनमाथि अमेरिकी चासो बढ्दै गएको छ । विश्वबजारमा चीनको प्रभाव बढ्न थालेसँगै अमेरिकी चासो बढेको हो । चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ तथा ‘मेड इन चाइना २०२५’ योजना र हुवावे तगा अलिबाबा जस्ता कम्पनीको विश्वबजारमा बढ्दै गरेको महत्वका कारण अमेरिका संशंकित भएको मान्न सकिन्छ । अमेरिका चीनको आक्रमक अर्थतन्त्रबाट संशकित छ भन्ने पुष्टि अमेरिकी उपराष्ट्रपति माइक पेन्सको भाषणबाट पनि हुन्छ । उनले अक्टोबरमा आफ्नो भाषणका क्रममा भनेका थिए, ‘चीनले वृहत मित्रतालाई भन्दा आर्थिक आक्रमकतालाई बढावा दिँदैछ’ । 

अहिलेकै रफ्तारमा चीनले अर्थतन्त्रमा गति लिइरहने हो भने चीनले पश्चिमा मोडलको उदारवादी लोकतान्त्रीक प्रणाली अवलम्बन गर्छ भन्ने आशा नगरेपनि हुने विश्लेषकहरु बताउँछन् । 

अब के त ? 
व्यापार युद्ध र त्यसभित्र पनि प्रविधिको दौडमा आफुलाई अब्बल सावित गर्ने होडमा अब अमेरिकाले चीनमाथि थप कडाइ गर्न सक्ने देखिन्छ । अमेरिकामा चीनियाँ लगानीमाथि प्रतिवन्ध, चीनमा अमेरिकी प्राविधिक वस्तु तथा प्रविधिको निर्यातमा नियन्त्रण लगायत विभिन्न तिक्डम अमेरिकाले अवलम्बन गर्न सक्छ ।

दुई शक्ति राष्ट्रबीचको सम्बन्ध आगामि दिनमा कस्तो हुन्छ भन्ने कुराको निर्धारण अब दुई देशबीच हुने व्यापार सम्झौतामा निर्भर हुने बताइन्छ । दुईबीच ‘जस्तालाई तस्तै गर्नुपर्छ’ भन्ने नीति जसरी यसअघि एक अर्काको वस्तुमाथि भन्सार वृद्धि गर्ने क्रममा अवलम्बन गरियो त्यसबाट माथि उठेर दुबैले वार्ताका लागि पहलहरु गरेका छन् । 
यद्यपी यी दुईको सम्बन्ध केहि निश्चित पारस्परिक लाभका क्षेत्रमा मात्र सुदृढ हुनसक्ने जानकारहरु बताउँछन् । 
(एजेन्सीहरूकाे सहयाेगमा )

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर