• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बैतडीमा मौसम परिवर्तनसँगै बिरामीको संख्या बढ्दै, औषधि अभाव

बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । 

जिल्ला अस्पताल बैतडीमा दैनिक बिरामीको चाप बढ्दै गएको अस्पतालका स्वास्थ्य सहायक खेमराज भट्टले जानकारी दिए । मौसमी ज्वरो, रुघाखोकी, झाडापखालालगायतका बिरामीको सङ्ख्या बढेको उनले बताए ।  यी रोगबाट अन्यको तुलनामा बालबालिका बढी प्रभावित भएको उनको भनाई छ ।  

अस्पतालमा दैनिक १०० को हाराहारीमा बिरामी आउने गरेको भट्टले जानकारी दिए । यस्तै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पनि दैनिक ७० को हाराहारीमा बिरामी आउने गरेको स्वास्थ्य सहायक मुकेशकान्त दयालले जानकारी दिए । 

पहिलाको तुलनामा आजभोलि ज्वरो, झाडापाखालालगायतका बिरामी बढेको तर प्राथमिक स्वास्थ्य केन्द्रमा औषधिको अभाव रहेको उनले बताए । मेलौली नगरपालिकाले औषधिका लागि बोलपत्र आह्वान गर्न नसक्दा औषधि अभाव भएको दयालले बताए । 

सरकारले प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भए पनि आधा औषधि पनि नभएको उनले बताए । केन्द्रमा औषधि नहुँदा बिरामी मर्कामा परेका छन् ।

मौसम परिवर्तन भएसँगै स्वास्थ्यमा विभिन्न समस्या आउनसक्ने भएकाले खानपिनमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । यो समयमा प्रशस्त मात्रामा पानी पिउनुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर