• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

गरिबको घरमा अझै आएन लोकतन्त्र

विश्लेषक भन्छन् :  लोकतन्त्रलाई चलाउने डाईभर भनेजस्तो भएन

तस्बिर: वेभ

काठमाडौं । नेपाली जनताको ठूलो त्याग तथा बलिदानबाट नेपालमा लोकतन्त्र आएको आज १३ वर्ष पुगेको छ ।

यो अवधिमा गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, अधिकारमुखी संविधान, तीन तहका सरकार, दुई तिहाइको सरकार उपलब्धीका रुपमा लिन सकिन्छ । यसलाई हेर्दा पनि सात दशक लामो राजनीतिक आरोहअवरोह छिचोलेका दलका नेताहरुले सहि बाटो देखाउन नसकेको टिप्पणी हुन थालेको छ ।

मुलुक अहिले नीतिबाट भन्दा पनि नेताबाट सञ्चालित भएको राजनीतिक विश्लेषकहरुले बताउने गरेका छन् । उनीहरुले भन्ने गरेका छन्, ‘राणा फाले, राजा फाले तर आफैभित्रको सामन्ती संस्कार फाल्न सकेनन् । ’

संसदवादी दलहरुले अगाडि बढाएको आन्दोलन र सशस्त्र संघर्षमा रहेको तत्कालीन नेकपा माओवादीबीच सम्पन्न १२ बुँदे सहमतिपछि १९ दिने ऐतिहासिक जनआन्दोलन सफल भएको दिन अर्थात प्रत्यक्ष शासन संचालन गर्दै आएको निरंकुश राजतन्त्रले घुँडा टेकेको दिन हो लोकतन्त्र दिवस ।

२०६३ साल वैशाख ११ गते राती तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए ।  पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।

जनआन्दोलनमा कमाण्डरसमेत रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो ।  संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो ।

त्यसयता देशमा धेरै परिवर्तनहरु भएका छन् । संविधानले परिकल्पना गरेको संघीय शासन प्रणालीको व्यावहारिक अभ्यास यो अवधिमा सुरु भइसकेको छ । स्थानीय तह, प्रदेश र संघ गरी तीन तहकै चुनाव भएका छन् । तीन तहकै शासकीय संरचना तयार छ । संरचनाहरूले काम गर्ने प्रक्रिया भने अझै चुस्त भएको छैन ।

संविधानले नागरिकका लागि ३१ वटा मौलिक हकको व्यवस्था गरेको छ, जसभित्र नागरिकले अपेक्षा गर्ने जति अधिकारका सूची छन् । ती सूचीका अधिकार कार्यान्वयन गर्ने कानुनहरू पनि निर्माण भएका छन् ।
 देशमा शान्ति र स्थायित्वको सुरुवात भएको छ । तर लोकतन्त्र स्थापनाका क्रममा जुन सम्वृद्धि र विकासको सपना जनतालाई देखाइएको थियो त्यो सपना भने पुरा भएको देख्न पाइएको छैन ।

व्यवस्था परिवर्तन भयो, सरकारहरु परिवर्तन भए, नाराहरु परिवर्तन भए परिवर्तन भएन त केवल नेतृत्वमा पुगेका नेताहरुको व्यवहार र जनताको जीवनस्तर ।  परिवर्तनलाई संस्थागत गर्ने र व्यवहारमा लोकतान्त्रिक चरित्र देखाउने काममा सरकार र राजनीतिक दल चुक्दा नागरिकका सपना अझै पूरा हुन सकेका छैनन् ।

 जसरी लोकतन्त्र स्थापनाका लागि आन्दोलन गर्ने क्रममा तत्कालिन राजनीतिक दलहरु एकतृत भएका थिए लोकतन्त्र स्थापनापछि भने त्यस्तो एकता नेताहरुले देखाउन नसक्दा नागरिक भने निराश छन् ।
मुलुकमा अझै पनि निरकुश लोकतन्त्र बाँकी नै रहेको छर्लाङ्ग देख्न सकिन्छ । राजनीतिक दलमा हेर्ने हो भने नीतिबाट चल्नु पर्ने हो तर यहाँ नेताबाट सञ्चालित भएको छ ।

मुलुकमा लोकतन्त्र आएको १३ वर्ष पुगेपनि यसको व्यवहारीक कार्यान्वयन पक्ष भने फितलो देख्न सकिन्छ । दक्षिण एसियाको राजनैतिक हिसाबले पहिलो पार्टी बनेको छ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । एसियाको राजनीतिका लागि समेत महत्वपूर्ण घटना बनेको छ ।

तत्कालिन नेकपा एमाले र माअ‍ोवादी केन्द्रको पार्टी एककरणपछि चीन र भियतनामपछि एसियाकै तेस्रो ठूलो कम्युनिस्ट पार्टी बनेको छ । तर यसमा पार्टी र सरकार दुवै मोर्चामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको हावी देखिन्छ । ओलीकोे विचार र योजनाले सरकार र पार्टीलाई अगाडी बढाइएको छर्लाङ्ग देख्न सकिन्छ । 

श्याम श्रेष्ठ–

                                        समाचार दैनिक डटकमसँगको कुराकानीमा राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भने,‘ लोकतन्त्र नेपालमा सिस्टममा आयो, यो धेरै राम्रो हो । तर यसलाई लागू गराउने डाइभर भने खोजेजस्तो हुन नसक्नु दुःखद कुरा हो ।’ लोकतन्त्र आएको १३ वर्षलाई हेर्ने हो भने पनि बद्लिएको राजनीतिक व्यवस्था तर नबद्लिएको नेताको व्यवहार प्रष्ट देखिने श्रेष्ठको भनाई छ ।

उनले अगाडी थपे, ‘गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, अधिकारमुखी संविधान, तीन तहका सरकार, दुई तिहाइको सरकार उपलब्धी हो तर यसलाई कार्यान्वयन तहमा लैजाने नेता भ्रष्ट हुनु, नेतृत्व र प्रशासन यन्त्र नफेरिनुले पनि अझै पनि निरंकुश लोकतन्त्र बाँकी नै रहेको प्रष्ट छ ।  

श्रेष्ठले अहिले लोकतन्त्रको आभास धनिले मात्र गरेका छन् तर गरी खाने गरिब जनताको घर आँगनमा लोकतन्त्र पुग्न सकेको छैन । जबसम्म नेतृत्व र प्रशासन संयन्त्र फेरिदैन, तबसम्म यो अवस्था यस्तै रहन्छ ।’

लोकतन्त्रको सहि आभास जबसम्म नेतृत्व फेरिदैन र स्पष्ट भिजन लिएर अगाडी बढेको नयाँ पुस्तामा यो हस्तान्तरण हुँदैन तबसम्म मुलुकको अवस्था यस्तै रहने छ । तसर्थ मुलुकमा केहि सुधार ल्याउनका लागि पनि भ्रष्ट नेतालाई हटाएर स्पष्ट भिजन बोकेका नयाँ पुस्तालाई नेतृत्व दिन आवश्यक छ ।’

हरि रोका–

 

                                                   समाचार दैनिक डटकमसँगको कुराकानीमा राजनीतिक विश्लेषक हरि रोकाले लोकतन्त्र आएको १३ वर्ष भएपनि राजनीतिक दलहरु संस्थागत हुन नसक्दा पनि यसको व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए । उनले भने, ‘लोकतन्त्र ल्याउनका लागि लामो संघर्ष भएपनि राजनीतिक दलहरुले अपनाएका विचार, नीति निश्चित वर्गका लागि मात्र भएकाले पनि आज यो अवस्था आएको हो ।’

विश्लेषक रोक्का भन्छन्– ‘राजनीतिक पार्टी हुनका लागि जुन खालको भुमिका हुनुपर्ने हो हाम्रो मुलुकमा त्यो देखिएको छैन, कति सैद्धान्तिक, कति वैचारिक, कति सम्म जाने भन्ने कुरा स्पष्ट देखिदैन । नेपालका प्रमुख राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेसले अपनाएको नीति, पावर निश्चित वर्गका लागि मात्र हुन्छ भने साँचो लोकतन्त्र आउन सक्दैन ।’

उनले भने, ‘पहिला राजनीतिक दलले सैद्धान्तिक रुपमा स्पष्ट नीति अपनाउनु पर्यो, कस्तो समाज बनाउने त्यसको खाका स्पष्ट हुनुपर्यो, सत्तामा रहेका पार्टीले समाजवाद ल्याउछु भनेर संकल्प गरे अनुसार त्यो व्यवहारमा कार्यान्वय हुनुपर्यो ।

अहिले अपनाएको नीतिले पुँजीवाद पनि आउँदैन । त्यसैले राजनीतिक दल संस्थागत हुनुपर्यो कार्यक्रम र नीति स्पष्ट आउनुपर्यो अनि मात्र लोकतन्त्रको सहि कार्यान्वयन हुने संकेत देख्न सकिन्छ ।’
कुनै एजेण्डा र मुद्धामा राजनीतिक पार्टीहरुभित्र बृहत्त छलफल कमै मात्र हुने गरेका छन् ।

विशेष गरी नेतृत्वले नै यसको निर्णय लिने गरेको देख्न सकिन्छ । नेताहरुलाई लागेका दृष्टिकोण र योजना अनुसार नै चलायमान छन् । त्यसैले पनि अब राजनीतिक दलहरुले आफूलाई संस्थागत गर्न आवश्यक छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर