• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

प्रमुख नहुँदा अस्पतालको व्यवस्थापन अस्तव्यस्त

संखुवासभा ।  जिल्ला अस्पतालमा एक वर्षदेखि कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।

उक्त अस्पतालमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेर आउने अधिकांश चिकित्सक र अस्पतालका कर्मचारीको आन्तरिक विवादले बस्न नसक्ने बताउँदै कार्यालय छाड्ने गरेका हुन् । अस्पतालका कर्मचारीसँग विवाद भएपछि प्रमुख डा विनितकुमार झा एक वर्षअघि सरुवा भएर गएका हुन् ।

डा झामात्र होइन यसअघि डा विष्णुबहादुर बस्नेत, डा दयाशङ्करलाल कर्ण पनि कार्यकाल पूरा नहुँदै सरुवा भएर गएका थिए । प्रमुख नहुँदा अस्पतालको व्यवस्थापन अस्तव्यस्त हुन पुगेको छ । कर्मचारीले मागेअनुसारको सुबिधा नदिएको भन्दै कार्यालय प्रमुखमाथि हातपातसमेत भएको थियो ।

कर्मचारीको खिचातानी र विवादले अस्पतालको सेवा प्रवाहसमेत खस्कँदै गएको छ । दक्ष चिकित्सक भए पनि प्रभावकारी सेवा नभएकाले आफूहरू निजी स्वास्थ्य संस्था जानुपरेको सेवाग्राहीको गुनासो छ । जिल्ला अस्पताल ५० शैयामा स्तरोन्नति भएपछि ११ औँ तहको चिकित्सक हुनुपर्ने नीतिगत व्यवस्था भए पनि यतिखेर आठौं तहका मेडिकल अधिकृतमात्र  छन् ।

एक वर्षदेखि प्रमुख नहुँदा आठौं तहका मेडिकल अधिकृतले निमित्तको रूपमा काम गरिरहेका छन् । उक्त अस्पतालमा ५१  कर्मचारीको दरबन्दी रहे पनि हाल १९ दरबन्दी रिक्त छ । अस्पतालमा आन्तरिक मेडिसिन, बाल रोग, स्त्री तथा प्रसूति, शल्य चिकित्सक, हाडजोर्नी, नशा रोग, रेडियोलोजिष्ट र जनरल फिजिसियन पद रिक्त छ ।

विशेषज्ञ नहुँदा यहाँ उपचार गराउन आउने बिरामी कम हुँदै आएकोे छ । आर्थिक वर्ष २०७५÷०७६ को माघमा एक हजार ४६६, फागुनमा एक हजार ३९१, चैत महीनामा एक हजार १६८ बिरामी सेवा लिन आएका अस्पताल स्रोतले जनाएको छ । सो  अस्पताल २०३३ सालमा स्थापना भएको थियो ।

प्रभावकारी सेवा नपाएकै कारण बाध्य भएर बिरामी निजी स्वास्थ्य संस्थामा गएका सिलिचोङ गाउँपालिकाका युवा खेवाहाङ मेवाहाङले बताए । उक्त अस्पतालमा अधिकांश स्थानीय कर्मचारीमात्र रहेकाले स्वास्थ्य मन्त्रालयले पटकपटक सरुवा गरे पनि राजनीतिक शक्तिको आडमा पुरानै ठाउँमा फर्केर आउने गरेका चैनपुर नगरपालिका–२ का खगेन्द्र अधिकारीको भनाइ थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर