• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने

कैलाली । धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने भएको छ । धावन मार्ग अति जिर्ण भईसकेकाले स्तरोन्नतीका लागि वैशाख २२ गतेदेखि एक महिना सम्मका लागि विमानस्थलमा उडान बन्द गरिने विमानस्थलका प्रमुख तेज बहादुर बुढ्थापाले बताए । 

झण्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्य हुने भएकाले एक महिनाका लागि बन्द गर्ने निर्णय गरेको उनले बताए । उक्त सुचना नेपाल नागरिक उड्यान प्राधिकरणको प्रधान कार्यालयलाई प्रकाशन गर्न आग्रह गर्ने निर्णय पनि भएको उनले जानकारी दिए । 

त्रिभुवन विमानस्थल पछिको सवैभन्दा ठुलो धावनमार्ग रहेको धनगढी विमानस्थलमा धावन मार्ग र पार्कीङ क्षेत्र विस्तारका लागि ठेक्का सम्झौता भएको छ । त्यस्को ठेक्का लुम्बिनी, कोषी एण्ड न्यौपाने, खड्का, कोईराला जेभी काठमाडौँले पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवन्धक तथा धनगढीमा निर्माण आयोजनाका प्रमुख रत्नवहादुर श्रेष्ठले बताए । उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक बर्षभित्र सेवा सुधारका लागि धनगढी विमानस्थलमा विभिन्न काम गर्दै आएको छ । 

नेपाल नागरिक उड्यान प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ । १७ करोड ८८ लाखमा अव धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २÷२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना समेत रहेको छ ।

यस्तै अहिले ३ वटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार योजना रहेको छ । चालुआर्थिक बर्षमा धवनमार्ग वृद्धि, दमकलको सुविधा थप, एप्रोच लाईट र अन्य लाईटहरु थप, सञ्चार उपकरण वृद्धि, लगायतका सेवा थप र विस्तारको काम अगाडी वढिरहेको प्राधिकरणको दावी रहेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर