• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

संवैधानिक आयोगले तोकिएको अधिकार प्रयोग गरी काम गर्नुपर्ने : मन्त्री ढकाल

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संवैधानिक आयोगलाई निश्चित अधिकार तोकिएको र त्यसैमा रहेर उसले कामकारवाही गर्नुपर्ने बताएका छन् । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको कार्यक्रममा मन्त्री ढकालले केही समयअघि सङ्घीय संसद्मा दर्ता भएको राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी विधेयकका सन्दर्भमा आयोगले ‘सरकारले सिफारिश कार्यान्वयन नगर्दा कारवाही (जरिवानासमेत) गर्ने’ व्यवस्था हटाइएको बताए । 

उनका अनुसार विधेयकमा सुझाव दिँदै आयोगले कारवाहीको व्यवस्था गर्न  माग गरेको थियो । उनले विधेयक चाँडै पारित हुने बताए । मन्त्री ढकालले सरकारले अहिले सङ्क्रमणकालीन न्याय व्यवस्थापन गर्न लागेको बताए । आगामी दुई वर्षभित्र यो विषय पूर्णरुपमा टुङ्गिने उनकोे भनाइ थियो । 

सङ्क्रमणकालीन न्यायका लागि स्थापित दुई आयोगका पदाधिकारीको अवधि सकिए पनि आयोगको म्याद रहिरहने उनले जानकारी दिए । उनले संविधान र सङ्घीयतामैत्री कानून बनाउन दुई सयभन्दा बढी कानून बनेको र २९ विधेयक संसद्मा लगिएको बताए । मन्त्री ढकालले सरकार सबैको अभिभावक भएकाले ठूलो रुपमा मानवाधिकारको हनन नहोस भन्नेमा सजग रहेको बताए । 

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले मानवअधिकार आयोगसम्बन्धी संशोधित ऐन पारित भएमा नेपालको मानवअधिकार आयोग महान्यायधिवक्ताको अधिनमा रहने बताए । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले लोकतन्त्रको रक्षा र विकासका लागि मानवअधिकार रक्षकहरुको चुनौतीलाई बार र मानवअधिकार रक्षकले सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर