प्रदेश १ सरकारले प्रदेशको नाम र स्थायी राजधानीका लागी गृहकार्य थाल्यो

विराटनगर । प्रदेशको नाम र राजधानी टुंगो लगाउन सरकारले कसरत सुरु गरेको छ । प्रदेश १ को स्थायी राजधानी र नाम प्रदेश सभाको चालु अधिवेशनबाट टुंगो लगाउने प्रयास स्वरुप बिहीबार सर्वदलिय बैठक पनि सम्पन्न भएको छ । यद्यपी सरकारले भने वृहत विराट क्षेत्र विकास सम्वन्धी विधेयकमा उठेका आशंका निवारणकालागि बैठक आयोजना गरेको जनाएको छ । 

विधेयकमाथि प्रदेश सभा सदस्यहरुले उठाएका आशंकाको विषयमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कुमार कार्कीले यस अघि संसदमा नै प्रष्ट पारिसक्नु भएको थियो । विधेयक राजधानीसँग सम्वन्धित नभई विकाससँग मात्र सम्वन्धित रहेको स्पष्टिकरण कार्कीले दिएका थिए । 

मुख्यमन्त्री शेरधन राईको प्रयासमा आएको वृहत विराट क्षेत्र विकास सम्वन्धी विधेयकमा एकरुपता कायम गर्न बुधबार नेकपा संसदीय दलको बैठक पनि बसेको थियो । बैठकमा ३३ जना सांसदहरुले आफ्नो धारणा रखेका थिए । 

नेकपा संसदीय दलको बैठकमा पनि प्रदेशको नाम र राजधानीको विषयमा व्यापक छलफल भएको थियो । सांसदहरुले प्रदेशको नाम र स्थायी राजधानी छिटो टुंगो लगाउनु पर्ने भन्दै सरकारलाई दवाव दिएका थिए ।

दलको बैठकपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले संसदको चालु अधिवेशनमा नै प्रदेशको नाम र राजधानी टुंगो लगाउने बताएका छन् । बैठकमा उनले संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरेर मिति तोक्नु उपयुक्त हुने पनि बताएका थिए । सभामुखले प्रदेश राजधानीकालागि छिट्टै प्रस्ताव आव्हान गर्ने विश्वास व्यक्त गरेका थिए ।

प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीले यसै अधिवेशनबाट प्रदेश नामाङ्कन र राजधानी टुंगो लगाउने पक्षमा आफु रहेको बताएका छन् । नाम र राजधानी टुंगो गर्न नियमावलीसमेत संशोधन भइसकेको अवस्थामा ढिलो गर्नुपर्ने अरु कारण नभएको उनले बताए । वैशाख १५ गते वरिपरि नै नाम र राजधानीको प्रस्ताव आव्हान हुन सक्ने संकेत पनि गरेका छन् ।

बिहीबारको सबैदलीय बैठकमा पनि मुख्यमन्त्री शेरधन राईले यसै अधिवेशनमा प्रदेशको राजधानी टुंग्याइने र सहज अवस्था देखिए नामको पनि टुंगो लगाउने जानकारी गराएका थिए । त्यस क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेंसले सबैको सहमतिमा राजधानीको प्रस्ताव दर्ता गराउने गरी पहल गर्न आग्रह गरेको छ । बैठकमा सहभागि एक नेताले भने ‘हामीले सहमतिमै राजधानी र नामको संयुक्त प्रस्ताव दर्ता गराएर निर्णय गरौं भनेका छौं, त्यसो भयो भने आम सहमति हो भन्ने सन्देश पनि दिन सक्छौं ।’ 

नेपाली काग्रेंसका प्रमुख सचेतक केदार कार्कीले भन्नुभयो ‘वृहत विराट क्षेत्र विकास सम्वन्धी विधेयकमा छलफल गर्न बैठक बोलाइएको थियो र सोही विषयमा मुख्यमन्त्रीले प्रष्ट पारेका छन् । बैठकमा यसै अधिवेशनमा प्रदेश राजधानी र नामको टुंगो लाग्ने जानकारी उनले गराएपछि त्यस विषयमा मुख्यमन्त्रीले छुट्टै बैठक आयोजना गछौं भन्नुभएको छ ।’

प्रदेश सभाका सभामुख भण्डारीले वैशाख १५ देखि १९ गतेसम्म राजधानी सम्वन्धमा प्रस्ताव दर्ता गर्न आव्हान गर्ने तयारी गरेको बताइएको छ । वैशाख २१ गते मतदान गरेर राजधानीको अन्तिम टुंगो गर्ने विषयमा अनौपचारिक छलफल पनि भएको छ । 

प्रतिपक्षी दलहरुले भने वैशाख १५ देखि १७ गतेसम्म प्रस्ताव दर्ता गर्ने समय दिएर २० गते संसद अधिवेशन अन्त्य गर्ने गरी तालिका बनाउनु उपयुक्त हुने सुझाव दिएका छन् । प्रदेश सभामा चालु अधिवेशनकालागि अब एउटा विधेयक बाहेक कुनै बिजनेश छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर