• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

जल माफिया बिरूद्द उर्जामन्त्रीको कार्बाहीः २८ सय मेगावाटको अनुमतिपत्र खारेज

काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अनन्तले काम नगर्ने तर लाईसेन्स होल्ड गर्ने आयोजनाहरुको लाइसेन्स खारेज गर्न दिएकाे निर्देशनलाई कार्यान्वयन गर्दै विद्युत विकास विभागले २ हजार ८ सय मेगावाट क्षमताका आयोजनाको अनुमतिपत्र खारेज गरेको छ । अनुमतिपत्र लिने तर काम नगर्नेको अनुमति लाइसेन्स खारेज गरिएको हो । 

मन्त्री पुनले यसअघि नै काम नगरी अनुमतिपत्र मात्र ओगटेर बस्ने अायाेजनाहरूकाे लाइसेन्स खारेज गर्न निर्देशन दिएका थिए । उनले झोलामा खोला बोक्ने प्रवृतिलाई निरुत्साहित गर्ने बताउंदै आएका छन् ।

विभागका अनुसार अहिलेसम्म २ हजार ८ सय ३ मेगावाटका १ सय ६ आयोजनाको अध्ययन अनुमतिपत्र खारेज गरिएको छ । विभागले यी मध्ये २ हजार ७ सय ८८ मेगावाटका १ सय ४ आयोजना जलविद्युतका र १४.५ मेगावाटका दुई आयोजना सोलारका छन् । 

 अब काम नगरी बस्नेको अनुमति धमाधम खारेज गर्दै जाने विभागका महानिर्देशक मधुप्रसाद भेटुवालले बताए । ‘काम गर्ने प्रवर्द्धकलाई सकेसम्म सहयोग र सहजीकरण गर्दै जाने हो । सरकारी तहमा देखिएका समस्या पनि समाधान गरिनेछ,’ उनले भने, ‘काम नगर्नेलाई अब छुट दिइरहन सकिंदैन । खारेज गर्दै जानेछौं ।’ 

खारेज गरिएका आयोजना सरकारी बास्केटमा रहने र यहांबाट आयोजना लिन चाहनेले तोकिएको शुल्क र अध्ययन गर्दाको लागत तिर्नुपर्ने हुन्छ । विभागले अहिलेसम्म १८ हजार १ सय ९३ मेगावाटका ३ सय ३७ आयोजनाको अध्ययन अनुमतिपत्र बांडेको छ ।  यसमध्ये ४ सय ६१ मेगावाटका ५१ आयोजना सोलारका छन् । 

यस्तै, गत पुस १६ गतेपछि मात्र जलविद्युततर्फ ७ सय १५ मेगावाटका ८ आयोजनाको अनुमतिपत्र दिइएको छ भने २२.४ मेगावाटका ४ आयोजना सोलारसंग सम्बन्धित छन् । विभागले अहिलेसम्म ७ हजार ७ सय ४२ मेगावाटका १ सय ७६ जलविद्युत आयोजनालाई उत्पादन अनुमतिपत्र प्रदान गरेको छ  । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर