• शुक्रबार ८-२८-२०७५/Friday 12-14-2018/ 12:36 am

पर्यटनमा धनी प्रदेश १ मा के छन् सम्भावना ?

झापाको दक्षिणी सिमानाको कचनकवल केचनादेखि सगरमाथाको शिखरसम्म एक नम्वर प्रदेशमा पर्नु पर्यटकीय विकास र सम्भावनामा भाग्यमानी प्रदेश मानिन्छ, एक नम्वर प्रदेश । 

झापाको दक्षिण कुनामा पर्ने नेपालकै सबैभन्दा होचो गाउँपालिका समुन्द्र सतह भन्दा केवल ७० मिटरको उचाईमा रहेको कचनकवलदेखि पर्यटकलाई आफूतिर आकर्षित गर्ने विश्वको सर्वाेच्च शिखर सगरमाथासहित आठ हजार मिटरमाथिका पाँच हिमाल– मकालु, ल्होत्से, कन्चनजंघा र कुम्भकर्ण हिमाल प्रदेश नं १ मा पर्छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र र कोशी टप्पु वन्यजन्तु आरक्ष जस्ता पर्यटकीय स्थल यहीँ छन् ।

प्राकृतिक मात्र नभै धार्मिक र सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना पनि प्रदेश १ मा छ । यस आधारमा मुलुककै पर्यटनको ‘हब’ बन्न सक्छ १ नम्बर प्रदेश । पर्यटकीय हिसाबले प्रदेश नम्बर १ धनी प्रदेशका रुपमा पर्दछ । 

लेखक

पछिल्लो समय पूर्वका पर्यटकीयस्थल घुम्न आउने पर्यटकको चाप बढेको छ । मोरङलाई केन्द्र बनाएर पूर्वका भेडेटार, नमस्ते झरना, हिले, वसन्तपुर, मिल्केजलजले, जेफाले पर्यटकीय क्षेत्रलगायतका ठाउँ  चर्चामा छन् । पछिल्लो समयमा धरानमा प्याराग्लाइडिङ शुरु भएको छ भने तमोर तथा कोशी जलमार्गमा ¥याफ्टिङ पनि शुरु भएको छ ।

झापाका केचनाकवल, अर्जुनधारा, दोमुखा, सताक्षिधाम, माइधार घुम्न जाने भारतीय, वंगाली र चाइनिज पर्यटक बढेका छन् । यस्तै, इलामको गजुरमुखी, सन्दकपुर, कन्याम, माइपोखरी, फाकफोकथुम ३ आमचोकको ज्ञानदिलदासको मन्दिर, ज्ञानदिल झरना, गुफा, जोरधारा, कालीदेवी पछिल्लो समय चर्चामा आएका पर्यटकीय स्थल हुन् ।

इलाममा पर्यटकीय आर्कषणका अनेकाैं स्थान र विषय छन् । हरियाली चियाबारी डाँडा मात्र होइन दृश्यावलोकनका लागि अब्बल स्थान, झरना, सिमसार, विश्वमै दुर्लभ रेडपान्डालगायत जैविक विविधतायुक्त संस्कृति पर्यटकका लागि आर्कषण बन्ने गरेको छ ।

डेढ दशकअघि स्थानीयले पर्यटन विकासमा सक्रियता बढाएसँगै पर्यटक आगमनमा सुधार छ । स्थानीयको प्रयासमा दरिलो साथ दिने योजना नहुँदा भने सोचेअनुरूप काम हुन नसकेको सरोकारवाला बताउँछन् । बर्सेनी महोत्सव गरेर ग्रामीण पर्यटनको अभ्यास गरेका अन्तुबासीले १५ वर्षअघि गरेको मेहनत अनुसार भर्खर मात्र प्रतिफल चाख्न भ्याउँदै छन् ।

सूर्याेदय दृश्यावलोकनका लागि उत्कृष्ट मानिने अन्तुडाँडासँगै लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तुपाखेरी, चियाबारीले सजिएका डाँडाकाँडा र कृषिबाट सुधारिएको जीवनशैलीले आकर्षण गर्ने गरेको छ । अन्तुमा पर्यटक आवगमन १० औं गुणा बढेको छ । 

चियाबारीले भरिएको कन्याम, रामसार क्षेत्रमा सूचीकृत जैविक, धार्मिक र सांस्कृतिक महत्त्वको माईपोखरीले पर्यटक आकर्षण गरेको छ । त्यसैगरी दृश्यावलोकनका लागि चर्चित, सिद्धिथुम्का, माङमालुङ, धार्मिकस्थल लारुम्बा, पाथिभरा, गजुरमुखी, जिल्लाकै अग्लो टोडे झरना, मावुथाम, रेडपान्डा पाइने, चोयाटार, दोबाटे, हाँगेथाम, पाटेनागीजस्ता पर्यटकीय महत्त्वका स्थान छन् । 

संघीय संरचनासँगै तेह्रथुमको पर्यटन व्यवसायले गति लिएको छ । तीनजुरे, कालापानी, पटकेडाँडा, हलीमेला, हयात्रुङ झरना, वसन्तपुरलगायत क्षेत्रमा आन्तरिक पर्यटक आउन थालेका छन् ।
एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे, मिल्के, जलजले क्षेत्र गुराँस फुल्ने मौसम सुरु भएसँगै विदेशी पर्यटकको संख्या बढ्ने गरेको छ । जैविक विविधताले महत्त्वपूर्ण मानिएको यो क्षेत्र परिवारसहित घुम्न अत्यन्तै राम्रो मानिन्छ ।

संखुवासभाको सभापोखरी, भोजपुरको साल्पापोखरीजस्ता अत्यन्तै माथिल्लो भेगमा रहेका रमणीय पोखरी तथा तालले पनि यहाँको सौन्दर्यता बढाएका छन् भने तराईमा रहेका धेरै सीमसार क्षेत्रले पर्यावरणको सुरक्षा अझै सशक्त बनाएका छन् ।

पर्यटकीय स्थलमा विश्वको धनी मुलुक

राष्ट्रिय स्तरलाई हेर्ने हो भने नेपाल पर्यटकीय सम्पदामा विश्वमा धनी राष्ट्रको रूपमा रहेको छ । विश्वमा आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये आठवटा नेपालमा रहेका र हालै नेपाल सरकारले प्रकाशित गरेको रिपोर्टमा नयाँ छ वटा हिमाल आठ हजार मिटरभन्दा अग्ला रहेको पत्ता लागेको भनिएको छ । नेपालको मुख्य पर्यटकीय आकर्षणको रूपमा सगरमाथालगायतका हिमशृङ्खला र शान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी, प्राकृतिक पोखरा, चितवन, ढोरपाटन, मुस्ताङ, चिसापानी, तातोपानी, राष्ट्रिय निकुन्ज, शिकार आरक्ष, पाथीभरा, इलामको श्रीअन्तु, विश्वकै गहिरो अरुण उपत्यका आदि छन् । 

शाहसिक पर्यटन, हिमाल आरोहण, बन्जी जम्पिङ, रक क्लाइमिङ, क्यानोइङ, प्याराग्लाइडिङ आदि विभिन्न उद्देश्यले नेपालमा बर्सेनी लाखौं विदेशी पर्यटक आउँछन् ।

पर्यटन क्षेत्र नेपालको आर्थिक विकासको आधार बन्दै आएको छ । नेपालमा पर्यटक आउने क्रम शुरू भएपछि यस व्यवसायसँग सम्बन्धित अन्य थुप्रै  क्षेत्र क्रमशः फस्टाउन थालेका हुन् । होटल, रेष्टुराँ, ट्राभल एण्ड टुर्सजस्ता क्षेत्रको माग पनि पयर्टक आगमनसँगै बढ्न थालेको हो । अर्काेतर्फ नेपालका करीब सबै जिल्ला सदरमुकाममा सडक यातायात पुगिसकेको छ । सडक यातायात पुग्न नसकेका थुप्रै स्थानमा लामो समयदेखि हवाई सेवा सञ्चालन भएको छ । यी हरेक क्षेत्रको विकासका पछाडि पर्यटन क्षेत्रको उल्लेख्य योगदान छ ।

पर्यटक र पर्यटन 

पर्यटक भन्नाले घुम्ने ब्याक्ति बुझिन्छ भने यो पर्यटक भन्ने शब्द सन् १७७२ मा  प्रचलनमा आएको हो ।  ‘पर्यटन’ भन्ने शब्दले घुमाइलाई बुझाउँछ, अर्थात व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ ।

सन् १८११ मा प्रयोग भएका हुन् । फुर्सदको समय पर्यटकका रुपमा बाहिरी वातावरणमा बिताउने प्रचलन बेलायत लगायतका पश्चिमा देशहरुमा औद्योगिक क्रान्ति पछि शुरु भएको हो र यसैको क्रम बढ्दै गएर पर्यटन एउटा विशाल उद्योगको रुपमा विकसित हुन गएको हो ।

थमस कुकले ट्राभल एजेन्सी मार्फत समूहगत रुपमा पाहुनाहरुलाई घुमाउन थालेपछि यो व्यावसायिक रुपमा विकसित हुन थालेको हो भनिएको छ । इन्डोनेशियाको बाली, कोलम्विया, ब्राजिल, क्युबा, मलेसिया, थाइल्याण्ड, अष्ट्रेलिया लगायतका ठाउँहरु हिउँद तथा ग्रिष्म दुवै ऋतुमा उच्च भ्रमण गरिने स्थानमा पर्छन् । 

पर्यटनमा सञ्चारको महत्व

मुलुकको पर्यटन प्रवद्र्धन र बिकासका लागि सञ्चार माध्यमको पनि उल्लेखनीय भूमिका रहेको हुन्छ । जति धेरै प्रचारप्रसार गर्न सक्यो त्यति नै पर्यटकलाई स्वदेशमा भित्र्याउन सकिन्छ त्यसका लागि सञ्चार माध्यमले बिशेष योगदान गरेको छ र हाल संसारभरीकै लागि पर्यटन उद्योग सबैभन्दा ठूलो ब्यबसायका रुपमा परिणत भइसकेको छ ।

पर्यटन प्रबद्र्धनका लागि प्रायः सम्बन्धित निकायहरूले अहिले यस्ता संक्षिप्त जानकारीहरू वेभसाइडहरूमा समेत दिने हुने हुँदा विश्वको एक कुनाको बारेमा अर्काे कुनाका मानिसले घरैमा बसेर ज्ञान हासिल गर्न सक्छन् भने त्यसै अभिरुचिले थप जानकारी लिने, हेर्ने, देख्ने वा प्रत्यक्ष अनुभूति राख्ने इच्छा हुन्छ र पर्यटकीय गतिविधिलाई बढाउँछ । 

मानिसहरुको व्यस्तता, मुद्राहरुको सहज प्रयोग, अंग्रेजी भाषा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम हुनु, सञ्चारको तिब्र विकास र बिश्वब्यापीकरण हुनु, इन्टरनेटको सहज पहुँच हुनु, बिश्व एक गाउँ अर्थात संसार एउटा सानो गाउँ जस्तो बन्दै जानु, अन्तर्राष्ट्रिय संगठनहरु स्थापित र विकसित हुँदै जानु शिक्षा, खेलकुद, सभा–सम्मेलनको अन्तर्राष्ट्रिय सञ्जाल बन्दै जानु आदि कारणले पर्यटन उद्योग विश्वव्यापी र विशाल उद्योग बन्दै गएको छ । 

 पर्यटनमा नारा मिले, पारा मिलेनन्

पर्यटन विकासका अथाह सम्भाव्यता बोकेको भए पनि नेपालमा अपेक्षित रुपमा यसको विकास हुन सकेको छैन । सन् १९५० भन्दा पहिलाको राणाशासनकालमा विदेशीलाई पर्यटकको रुपमा आमन्त्रण गर्ने नीति नै नभएको हुनाले यसको विकास हुने कुरै भएन । सन् १९७० को दशकमा आएर नेपालमा राजमार्गहरु बन्न थालेपछि पर्यटनले व्यवसायिक रुप लिन थालेको हो ।

सन् १९९० मा राजनैतिक व्यवस्था परिवर्तन भएर बहुदलीय व्यवस्था स्थापना भएपछि उकालो लाग्न थालेको पर्यटन उद्योग बेलाबेलामा आयोजना गरिने बन्द, हड्तालले प्रभावित भएकै थियो । सन् २००० तिर आइपुग्दा इन्डियन एयरलाइन्सको अपहरण, दरबार हत्याकाण्ड, राज्य र माओवादीबीच जनयुद्धकालमा भएको हिंसा, प्रति हिंसा, जनआन्दोल, मधेस जनआन्दोल लगायतका कारणले गर्दा पर्यटनमैत्री वातावरण बन्न सकेन ।

सन् २००६ मा भएको बृहत शान्ति सम्झौता पश्चात पुनः घुँडा टेक्न थालेको पर्यटन उद्योगलाई राज्य र राजनैतिक पार्टीहरुको तर्फबाट चुनावि घोषणापत्रमा मुख्य नारा बनाएर प्रतिबद्दता प्राथमिकता प्राप्त क्षेत्र भनिएता पनि त्यसका लागि आवश्यक पूर्वाधार, नीतिनिर्माण र वातावरण निर्माण हुन सकेको छैन । बिगत २५ वर्ष अगाडिदेखि आवधिक निर्बाचनताका बिभिन्न राजनीतिक दलहरुका घोषणापत्रमा महत्वकांक्षी योजना सहितका बैज्ञानिक पर्यटनका नारा लगाइएता पनि क्रायान्वयन पक्षमा सक्रियता पुग्न सकेको छैन ।

मुद्रा आय आर्जनको श्रोत

आर्थिक रूपमा पर्यटनको महत्व सर्वाधिक रूपमा बढिरहेको छ । नेपालमा सन् १९६० को दशक अगाडि पर्यटन उद्योग वा व्यवसायबाट हुने आम्दानीलाई त्यति महत्व दिइएको थिएन । त्यसपछि प्रायः सबैजसो देशहरूले यसलाई वैदेशिक मुद्रा आर्जन गर्ने मुख्य माध्यम ठानि क्रमशः देशीय र अन्तर्राष्ट्रिय पर्यटन गतिविधि तीव्र रूपमा अगाडि बढ्यो ।

तब यसले आन्तरिक विकास बढाएको, देशको गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, राष्ट्रिय आय बढाउनुका साथै ठूला तथा घरेलु उद्योग र उत्पादनमा वृद्धि गराएको, बेरोजगारी समस्या कम गराएको, शोधानान्तर स्थिति सुध्रिएकोजस्ता प्रत्यक्ष आर्थिक क्रियाकलापहरूमा प्रभाव परेकाले पर्यटन क्षेत्र आर्थिक महत्वको विषय बन्न गएको छ ।
 

विशेषगरी एसियामा पर्यटन व्यवसायबाट चीन, भारत, जापानलगायतका देशहरूले आफ्नो स्थितिलाई मजबुद पारेका छन् । नेपालको गतिविधि पर्यटकको अनुकूल नरहे पनि पर्यटन क्षेत्रले राष्ट्रिय आम्दानीमा वृद्धि भइरहेको छ ।

पर्यटनको आर्थिक महत्वलाई दृष्टिगत गरी सन् १९६३ मा रोममा भएको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन, सन् १९८० को मनिला सम्मेलनलगायत पाटा, संयुक्त राष्ट्रसंघ, विश्व बैंक आदिले आर्थिक गतिविधिको सफल पक्ष भनी स्वीकारी पर्यटन विस्तार महत्वका साथ यसको विकासलाई प्राथमिकताको सूचीमा राखेका छन् ।

त्यसैगरी कुनै पनि राष्ट्रको विकासलाई औद्योगिकीकरणले विशेष भूमिका निर्वाह गरेको हुन्छ । हुनत पर्यटनलाई पनि एउटा उद्योगकै रूपमा हेरी पर्यटन उद्योग भन्ने गरिन्छ । तर पनि कुनै देश वा स्थान विशेषमा भएको पर्यटन प्रवद्र्धन एवं विकासले त्यस क्षेत्रमा प्रयोग हुने वस्तुहरूको उत्पादन गर्ने र उद्योग कलकारखानाहरूको वृद्धि गराउँदछ । जस्तै ः ट्वाइलेट पेपर, गार्मेन्ट इन्डस्ट्रि, होटेल, रेष्टुरा, लज र पर्यटकीय क्षेत्रमा बिक्री हुने उपहारयोग्य वस्तु, एवं सजावटका सामानहरूको राष्ट्रिय, अन्तर्राष्ट्रिय उद्योगधन्दालगायत स्थानीय घरेलु उद्योगधन्दाहरूको वृद्धि गराउने काम पर्यटनले गर्दछ ।

धर्म र संस्कृतिको जगेर्ना

कुनै पनि व्यक्तिको आफ्नो व्यक्तिगत पहिचान भनेको उसले आफूले अवलम्बन गरेको धर्म र संस्कृति हो । भौगोलिक प्रभाव वा धार्मिक कारणले त्यो एक ठाउँको मानिसको भन्दा अर्काे ठाउँको मानिसको भिन्दै हुन सक्छ । कतिपय अवस्थामा एकै धर्मका मानिसहरूको परम्परा र संस्कृति फरक पनि हुनसक्छ । धर्म, संस्कृति, परम्परा, खानपान, चाडपर्व, संगीत, मानिसका चासोका विषय हुन् भने त्यस विषयसँग सम्बन्धित धार्मिक, सांस्कृतिक ऐतिहासिक र पुरातत्विक स्थल र जीवन्त संस्कृति एवं परम्पराहरू  पर्यटकीय रूपमा कहिलै पुराना हुँदैनन् । यिनीहरूले मानिसका लागि त्यत्तिकै दर्शनीय महत्व बोक्दछन् । विशेष गरी विकसित देशहरूभन्दा अविकसित देशहरूले बढी महत्व राखेका छन् । 
    
 पर्यटन लक्ष्य तथ्यांक प्रतिशतमा
 
नेपालको विद्यमान जैविक, जातीय–सांस्कृतिक विविधता तर सद्भावपूर्ण व्यवहारजस्ता आर्कषणले विश्वको ध्यानाकर्षण गरेको छ । अध्यागमन विभागका अनुसार सन् २०१७ मा नेपालमा नौ लाख ४० हजार २१८ पर्यटक भित्रिएको तथ्याङ छ । भ्रमण र पर्यटन आर्थिक प्रभाव प्रतिवेदन २०१७ अनुसार विश्वको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान सन् २०१७ मा ३ दशमलव ८ प्रतिशत रहेको छ ।

चौधौं योजना (आ.व. २०७३/७४ – २०७५/७६) ले नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान चार प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । योजना अवधिको अन्तिम वर्षमा विदेशी पर्यटन आगमन १२ लाख पुगेको हुने र बसाइँ अवधि १५ दिन पुग्ने प्रक्षेपण गरेको छ । नेपाल राष्ट्रिय पर्यटक रणनीति योजना सन् २०१६–२०२५ ले २५ लाख पर्यटक भित्र्याउने, बसाइँ अवधि १५ दिन पु¥याउने र पर्यटकीय क्षेत्रमा छ लाख रोजगारी प्रदान गर्ने साथै पर्यटन क्षेत्रको कुल गार्हस्थ उत्पादनमा हाल कायम २ दशमलव ९ प्रतिशत योगदानलाई ९ दशमलव २९ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । 

नेपाल पर्यटन दुरदृष्टि २०२० ले सन् २०२० सम्म वार्षिक २० लाख पर्यटक भित्र्याउने दीर्घकालीन लक्ष्य लिनुका साथै सन् २०१३ देखि सन् २०२० सम्म ७५ जिल्ला समेट्ने गरी १८ वटा पर्यटक अभियान घोषणा गरेको छ । जसअनुसार सन् २०१८ लाई अरुण–सगरमाथा पर्यटन वर्ष, सन् २०१९ लाई चिसापानी–खप्तड रामारोसन वर्ष र सन् २०२० लाई आन्तरिक भ्रमण तथा नागरिक उड्डयन वर्ष मनाउने तयारी छ । त्यसैगरी नेपाल भ्रमण वर्ष २०२० ले १५ लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । 

आ.व २०७५–७६ को बजेटले आगामी दुई वर्षमा २० लाख पर्यटक भित्रियाउने गरी ‘भिजिट नेपाल २०२०’ अभियान सञ्चालन गर्ने भनेको छ । प्रदेश र स्थानीय तहसँगको साझेदारीमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि मुलुकभरमा कम्तीमा १०० वटा नयाँ पर्यटकीय गन्तव्यस्थल पहिचान गरी विकास तथा प्रवद्र्धन गर्ने, ‘पहिले देश अनि विदेश’ को भावना अनुरूप आन्तरिक पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गर्ने, नेपाल पर्यटन वोर्डबाट भारत र चीन लक्षित पर्यटक प्रवद्र्धन कार्यक्रमलाई विशेष रूपमा अगाडि बढाउने, पर्यटन क्षेत्रको सूचना जानकारी र वित्तीय पक्षलाई स्याटालाईट लेखा प्रणालीमा आवद्ध गर्ने, अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रचारप्रसार र बजारीकरण गर्न विदेशस्थित नियोगलाई परिचालन गर्ने कार्यक्रम घोषणा गरेको छ । जसका लागि रु. पाँच अर्ब २० करोड ३४ लाख विनियोजन गरेको छ । 

पर्यटन क्षेत्रको सम्भावना र चुनौती

प्राकृतिक रूपमा प्राप्त नेपालका पर्यटकीय क्षेत्रको निर्माण गर्न ठूलो मानवीय परिश्रम खर्च  भएको छैन । नेपालमा यस्ता थुप्रै स्थान छन्, जसका बारेमा स्वयम् नेपालीहरूलाई पनि जानकारी छैन । पर्यटकीय स्थलका रूपमा हामीले केवल काठमाडौं उपत्यका, पोखरा, चितवनजस्ता सीमित स्थानलाई मात्र चिनेका छौं । नेपालमा यीभन्दा धेरै सुन्दर र राम्रा ठाउँ पनि छन् । ओझेलमा परेका त्यस्ता स्थानको बारेमा खोजी हुनु जरूरी छ ।

प्राकृतिक वातावरण, भौगोलिक विविधता तथा हावापानीका कारण नेपाल विश्वमा एक उत्कृष्ट बसोवास स्थल र गन्तव्य मुलुकका रूपमा चर्चित छ । विशेष गरी पानी, पर्यटन र जनशक्ति नेपालको आर्थिक भविष्यका आधार हुन् । यसको अत्यधिक उपयोगमार्फत नेपालले आर्थिक उपार्जन गर्न सक्ने सम्भावना छ । हाल ठूलो संख्यामा जनशक्ति विदेशिएको छ । उसलाई देशमा तत्काल रोजगारी उपलब्ध गराउन सक्ने अवस्था छैन । महँगो प्रविधिका कारण जलविद्युत उत्पादनमार्फत तत्काल आर्थिक उपार्जन गर्न सक्ने अवस्था पनि छैन । त्यसकारण नेपालले तत्काल आम्दानी गर्न सक्ने एकमात्र क्षेत्र पर्यटन हो । पर्यटन उद्योग कम लगानीमार्फत ठूलो आर्थिक उपार्जन गर्न सक्ने क्षेत्र हो ।

झण्डै २ हजार माइल लामो हिमालयमध्ये करीब ८ सय माइल नेपालको उत्तरी सिमानामा अवस्थित छ । छोटो दूरी भए पनि फेरबदल भइरहने हावापानीका कारण हिमाल, पहाड र तराईको उत्कृष्ट संरचना निर्माण भएको छ । त्यस संरचनाभित्र नदीनाला, तालतलैया, जङ्गल, वन्यजन्तु, जडीबुटी, फाँट तथा मरूभूमिसम्म छ । सानो मुलुक भए पनि विशाल भौगोलिक अन्तरमा समेत नभेटिने प्रकारको विविधता हुनु नेपालको विशेषता हो । अर्काेतर्फ २ सय फीटदेखि २९ हजार फीटसम्मको भौगोगिक बनावट एउटै मुलुकमा हुन प्रकृतिबाट प्राप्त ठूलो उपहार हो । वास्तवमा यिनै तत्व पर्यटकीय दृष्टिमा आकर्षक वस्तुहरू हुन् ।

नेपालले हरेक प्रकारका पर्यटकलाई व्यवस्थापन गर्न सक्दैन । विलासी प्रकृतिका पर्यटकहरूका लागि नेपालमा पर्याप्त सुविधा–सम्पन्न होटलहरू छैनन् । तर, पर्वतारोहण, ट्रेकिङ, शाहसिक खेलजस्ता कामका लागि पर्यटक आउँदा पनि नेपालले सजिलै व्यवस्थापन गर्न सक्छ । त्यसकारण हाम्रो क्षमता बढि भएको क्षेत्र पहिचान गर्दै त्यस प्रकृतिका पर्यटक आकर्षित गर्नेतर्फ सरोकारवाला निकायको ध्यान जानुपर्छ ।


प्रदेश एकमा पर्यटनका लागि  मोनोरेल

आन्तरीक तथा बाहिय पर्यटकहरूको गन्तब्य संगै आकर्षक केन्द्र बनाउनकालागि बिराट मोनोरेल ईन्टरनशनल प्रालिले मोरङको बिराटनगर देखि सुनसरीको इटहरी हुदै तरहरा सम्म मोनोरेल संचालनको तयारी थालेको छ । आगामी तीन बर्षमा पुरा हुने गरी करीब ७ अरबको लगानीमा सो रेल सञ्चालनको तयारी भइरहेको छ । बिराटनगरको जोगवनीदेखि इटहरीको तरहरासम्मको ३५ किलोमिटरको दुरीमा बिद्युतीय मोनोरेल संचालन गर्ने पहिलो चरणको तयारी अन्तरगत प्रारम्भिक कार्य सुरू भएको छ ।

बिराटनगर देखि इटहरी हुदै तरहरा सम्म करीब २०० किलोमिटरको गतिमा कुद्ने बाताबरण मैत्री बिद्युतीय मोनोरेल सञ्चालनको तयारी भइरहेको र यसको प्रारम्भिक कार्य समेत अघि बढाइएको सो कम्पनिले जनाएको छ । मोनोरेल सञ्चालनमा आए यात्रुहरूले घण्टौ सम्मको यात्रा १५ देखि २० मिनेटमै छोटिने छ । निजी क्षेत्रको पहलमा स्वदेशी तथा विदेशी कम्पनिहरूको लगानीमा सञ्चालनमा आउने मोनोरेलभित्र करीब ९ सय देखि १ हजार सम्म यात्रुहरू बोक्न क्षमता राख्ने जनाइएको छ ।

सम्भाब्यता अध्ययन शुरु भएको सो कम्पनीका अध्यक्ष परमानन्द मेहताले बताए । उनका अनुसार यो प्रोजेक्टका लागि करिब ७ अर्ब रुपैँया लागत लाग्ने प्रारम्भीक अनुमान लगाइएको र आगामि ३ बर्ष भित्रमा यसले पूर्णता पाइसक्ने बताए । कम्पनीका संचालक रञ्जीत झाका अनुसार बिराटनगर–धरान सडकखण्डमा ब्यापारीक मार्गको माथिबाट लिक बनाएर रेल संचालन गरिने योजना रहेको बताएका छन । यसकालागि अब सम्बन्धित निकाय बिराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकासँग समन्वय भइरहेकोे बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

धर्म, मार्क्सवादी सिद्दान्त र नेपालका कम्युनिष्टहरु

  • १९ मङ्सिर, २०७५

नेपालमा भर्खरै एसिया प्यासेफिक समिट नामको भव्य कार्यक्रम भयो । यो कार्यक्रमको आयोजना युनिभर्सल पिस फाउण्डेशन नामक क्रिश्चियन धार्मिक एनजिओले गरेको

मृत्यु, काजकिरिया र रूपान्तरणको प्रश्न

  • १५ मङ्सिर, २०७५

मानिस मरेपछि भूतप्रेत बनेर तर्साउँदै हिँड्छ भनेर विश्वास गर्नेले खसीबोका, कुखुरा, राँगा मारेर खाँदा उनीहरुको भूतप्रेतले तर्साउँछ कि भनेर कत्ति पनि

नृत्यकलाको अन्य कलासँग सम्बन्ध 

  • १५ मङ्सिर, २०७५

नृत्यकला विभिन्न किसिमका कलामध्ये निकै पुरानो कलाको रुपमा चिनिन्छ । यसको चर्चा परिचर्चा विभिन्न कालखण्डमा व्यापक रुपमा गरिँदै आएको पाइन्छ । प्राचीन