• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

कविता : हेडमास्टरको चाबुक

निर्दयको पराकाष्ठा छ यो हेडमास्टर

श्रीपेचझैँ लगाउँछचुच्चे टोपी
कोट लगाउँछ पौराणिक खालको
छाती कस्छ दौराको तुनाले
हरदम हुन्छ हातमा बेतको छडी

घरि घुँडा टेकाएर
कुखुरा बनाउँछ विद्यार्थीलाई
घरि एक खुट्टाउठाएर
उभ्याउँछ दिनभर 
घरि लगाउँछ सिस्नो पानी
निकै क्षुद्र छ यो हेडमास्टर

कहिले मातिएको हुन्छ रक्सीले
आइपुग्छ हल्लिँदै
कहिले उँगेर बस्छ कक्षा कोठामा
कहिले हात हालेर जिस्की बस्छ 
नेपाली मिससँग
विचित्रको छ यो हेडमास्टर

गाउन हुन्न गीत
बोल्न हुन्न ठूलो स्वरमा
बर्सिन्छ हेडमास्टरको कोर्रा
धेरै पढ्यो भने
किन पढिस् भन्छ
पढेनभने
किन पढिनस् भन्दै उफ्रिन्छ

भुस्सा भरिएको छ हेडमास्टरको हेडमा
थाहा छैन देशको क्षेत्रफल
थाहा छैन व्याकरणको नियम
थाहा छैन नैतिकशिक्षा

खोसेर खाइदिन्छ विद्यार्थीको खाजा
लुस्छ विद्यार्थीको गिदी
दबाउँछ विद्यार्थीको मुटु

ठेकेदार जस्तो हेडमास्टर
पुँजीवादको चौकिदार
साहुकारको हल्कारा
मालिकको निम्छरो खुट्टा

देशको कर्णधार होइन
उत्पादन गर्छ लुटेरा
उत्पादन गर्छ बलात्कारी
उत्पादन गर्छ हुत्तिहारा र नीतिहारा 

कहिले बस्ने हो बिदामा
कहिले हुने होे रिटायर्ड
र छाउने हो शान्ति

हेडमास्टरलाई पुच्छर हाल्न चाहन्छन् विद्यार्थी
हेडमास्टरको टुप्पीमा
पिङ् खेल्न चाहन्छन् विद्यार्थी

ठिक उस्तै छ
हाम्रो देशको हेडमास्टर
जसले बनाइरहेछ देशलाई कवाडखाना

निर्दयको पराकाष्ठा छ यो हेडमास्टर ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर