बजेट अधिवेशन जेठ १३ गतेबाट सुरु हुने

विराटनगर । प्रदेश सभाको चौथो अधिवेशन जेठ १३ गतेदेखि सुरु हुने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको चौथो अधिवेशन जेठ १३ गते दिउँसो १ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषद् बैठकले जेठ १७ गते प्रदेश समन्वय परिषद्को बैठक बोलाउने निर्णय पनि गरेको छ । स्थानीय तह र प्रदेश सरकारबीचको साझा सूचिमा रहेका अधिकारहरु कार्यान्वयनमा आउने जटिलताका विषयमा समन्वय परिषद् बैठकमा छलफल हुनेछ । 

प्रदेश सरकारले प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयलाई प्रोत्साहन भत्ता वितरण गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । 
यसैगरी सार्वजनिक खर्चको मापदण्ड कार्यविधि मितव्ययिता २०७५ संशोधन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तरगतको स्रोत सुनिश्चितता र बहुवर्षीय आयोजना सञ्चालन निर्देशिका पारित गर्ने निर्णय पनि भएको छ । यस्तै प्रदेश घरेलु हिंसा सम्वन्धी नियमावली २०७६ पनि पारित भएको छ । 

मन्त्रिपरिषद बैठकले मनमोहन विश्व विद्यालयका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ संसदमा पेश गर्ने निर्णय पनि गरेको छ ।  संसदको आगामी अधिवेशन सुरुभएसँगै पूर्व बजेट छलफल अघि बढ्ने छ । केही दिन पूर्व बजेट छलफल गरेपछि सरकारले एक साता भित्रमा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । आगामी आर्थिक वर्षकालागि असार १ गते प्रदेश सरकारले बजेट सार्वजनिक गर्ने तयारी सुरु गरेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर