प्रधानमन्त्री निवाससहित ५१ वटा आधुनिक सरकारी भवन निर्माण गर्दै सरकार, ८ करोड बजेट
काठमाडौं । शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६/७७ मा ५१ वटा आधुनिक र सुविधासम्पन्न भवन निर्माण गर्ने भएको छ । मन्त्रालयले संघीय संसद भवन, प्रधानमन्त्री आवाससहित ५१ वटा भवन निर्माण गर्ने भएको हो ।
यसका लागि आगामी आर्थिक वर्षको बजेटमा जम्मा ८ करोड बजेट छुट्याइने भएको छ । मन्त्रालयले प्राप्त गरेको सिलिङ अनुसार यी भवन निर्माणका लागि बजेट विनियोजन गरिएको जनाइएको छ ।
यी भवन निर्माणका लागि १४ अर्ब बढीको लागत अनुमान गरिएको छ । यही हिसाबले बजेट विनियोजन गर्ने हो भने यी भवन निर्माण सम्पन्न गर्ने झण्डै १८ वर्ष लाग्ने देखिन्छ ।
शहरी विकास मन्त्रालयले एक संघीय संसद भवन, प्रधानमन्त्री आवास, २५ वटा मन्त्रालय, प्रदेश तथा मुख्यमन्त्री सम्पर्क कार्यालय १४ वटा र दश वटा अतिथि गृह आवास निर्माण गर्ने भएको हो ।
एकदशकदेखि बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलनकेन्द्रलाई संसदले भाडामा प्रयोग गर्दै आएको थियो । अबदेखि आफ्नै भवन निर्माण थालिने भएको हो । सरकारले सिंहदरवारस्थित पुतली बगैंचामा संघीय संसद भवन निर्माण गर्ने भएको हो ।
अर्थ मन्त्रालयले शहरी विकास मन्त्रालयलाई ३१ अर्ब ९१ करोड ९३ लाख रुपैयाँको बजेट सिलिङ दिएको छ । मन्त्रालयले सबैभन्दा बढी रकम शहरी विकास तथा भवन निर्माणमा २४ अर्ब २० करोड १४ लाख छुट्याएको छ ।
प्रतिकृया दिनुहोस