• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

किन उखेलिएन छ लेन सडकबीच रहेका बिजुलीको पोल ?

विराटनगर । सरकारी निकायबीच समन्वय नहुँदा कोशी राजमार्गको विराटनगर महानगरपालिका प्रवेशद्वार–टंकिसिनुवारी खण्डको छ लेन सडक कुरुप देखिएको छ । सडक कालोपत्रे भइसक्दा पनि विद्युत प्राधिकरणले सडक खण्डमा पर्ने बिजुलीका पुरानो खम्बा उखेलेको छैन । 

छ लेन सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने समय नजिक आइसक्दा पनि सरकारी कार्यालयहरुबीच समन्वय अभावले कामको गतिलाई सुस्त बनाइरहेको गुनासो ठेकेदार कम्पनीहरुले गर्दै आएका छन् । 

आयोजना सम्पन्न गर्नुपर्ने समय आइसक्दा पनि विराटनगर इटहरी खण्डको धेरै भागमा सडक निर्माणको सुरसारसमेत भएको छैन । यसले आयोजनाको अवधि अरु केही वर्ष लम्बिने देखिएको छ भने हतारमा काम गरे गुणस्तरहीन हुने चुनौती पनि छ । 

छ लेन सडक निर्माण कति अस्तव्यस्त छ भन्ने विराटनगर महानगरपालिका प्रवेशद्वारदेखि टंकिसिनुवारी खण्डलाई मात्र हेर्दा जोकोहीले पनि अनुमान गर्न सक्छ । सो खण्डमा सडक पिच भइसकेको छ तर सडक बीचका बिजुलीका खम्बाहरु उखेलिएका छैनन् । चौडा सडकमा उभिएका खम्बाले सडक कुरुप देखिएको छ । 

सुरक्षाका दृष्टिले पनि ति बिजुलीका पोलहरु संवेदनशिल छन् । त्यसप्रति सम्वन्धित निकाय जिम्मेवार देखिएको छैन । खम्बामा खतरा लेखिएको बोर्ड त झुण्ड्याइएको छ तर प्रभावकारी छैन । 


लामो समयदेखि नेपाल विद्युत प्राधिकरणलाई खम्बा उखेल्न अनुरोध गर्दापनि नटेरेपछि ठेकेदार कम्पनीले खम्बा नउखेली सडक पिच गरेको हो । यसले विकास निर्माणमा आवश्यक पर्ने समन्वय कति कमजोर छ भन्ने पनि उजागार गरेको छ । त्यतिमात्र होइन सडक निर्माण गर्दा कार्यालयको तर्फबाट गर्नुपर्ने सहयोग र समन्वय नहुनुमा दुई पक्षबीचको समझदारीमा समस्या भएको अनुमान गर्न सकिन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर