• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

पत्रकारहरुले प्रदेशसभा अगाडी धर्ना दिए

जनकपुरधाम । प्रदेश सरकारले ल्याएको प्रदेश संचार विधेयकको बिरोध गर्दै प्रदेश २ का पत्रकारहरुले प्रदेशसभा अगाडी धर्ना दिएका छन् । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरेपनि प्रदेश सरकारले प्रेस स्वतन्त्रतालाई समाप्त पार्ने गरी विधेयक ल्याएको भन्दै प्रदेश २ का पत्रकारहरुले नारावाजी गर्दै धर्ना दिएका हुन ।

धर्नाका लागि पुगेका पत्रकारहरुले प्रदेश संचार विधेयक फिर्ता गर, प्रेस स्वतन्त्रता हनन गर्न पाइदैन सहितका नारा लगाएका थिए । धर्ना पछि बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश २का अध्यक्ष दीपेन्द्र चौहानले सरकारलाई प्रेस स्वतन्त्रता बिरोधी विधेयक फिर्ता लिन माग गरे । उनले विधेयक फिर्ता नलिए अझै कडा आन्दोलन गर्ने चेतावनी दिए । 

यस अघि पत्रकारहरुले सभामुख र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका संसदीय दलका नेताहरुलाई ज्ञापन पत्र समेत बुझाएका थिए । 

पत्रकारहरुको टोलीले सभामुख सरोज कुमार यादव, नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव, नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, राजपाका प्रमुख सचेतक परमेश्वर साह र संघिय समाजवादी फोरमका सचेतक शैलेन्द्र यादवलाई ज्ञापन पत्र बुझाएर विधेयक फिर्ता गराउनका लागि दवाब बनाउन आग्रह गरेका थिए । 

जवाबमा नेताहरुले प्रदेशसभामा विधेयक टेबल भईसकेकाले यसमा व्यापक संशोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर