नेकपा मोरङको एकता प्रक्रिया टुंगो लगाउन सकस

महानगरको हैसियत नटुंगिदा कमिटी गठनमा जटिलता 

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी मोरङको एकता प्रकृयाको अन्तिम टुंगो लगाउन सकस भएको छ ।

 तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट जिल्ला कमिटीमा सहभागि हुने सदस्यहरुको सिफारिस भइसके पनि एकता प्रकृया भने टुंगिएको छैन । नेकपा केन्द्रीय समितिले जेठ ३ गते नै जिल्लाको संयोजक र सचिव तोकेर पठाइसकेपछि धेरै जिल्लामा एकता प्रकृया टुंगिसकेको छ । मोरङमा भने एकता टुंग्याएर जिल्ला कमिटी गठन गर्ने विषयमा अन्यौलमा परेको छ । 

महानगरपालिका स्तरीय कमिटी जिल्ला कमिटीको मातहतमा राख्ने वा जिल्लाकै हैशियतमा रहने भन्ने बिषयको टुंगो नलागेका कारण एकता अघि नबढेको हो । जिल्ला कमिटीमा रहने सदस्यको टुंगो लगाउन यसअघि गठन भएको कार्यदलका सदस्य गणेश उप्रेती सुशिलले एउटा जिल्लामा समान हैशियतका दुई कार्यकारी कमिटी गठन गर्नु उपयुक्त नहुने बताए । 

उनले भने, ‘यतिबेला महानगरपालिकाको विषय नटुंगिएकै कारण मोरङ जिल्ला कमिटी गठन गर्न सकिएको छैन, यसको समाधान हुने बितिकै जिल्ला कमिटी बन्छ ।’केन्द्रीय कमिटीले पठाएको सकुर्लरमा महानगर कमिटीको हैशियत जिल्ला सरहकै हुने वा मातहतमा रहने भन्ने कुरा दोहोरो अर्थलाग्ने गरी पठाएका कारण समस्या उत्पन्न भएको हो ।

नेपाल कमयुनिष्ट पार्टी प्रदेश कमिटीका सचिव सुरेश किराँतीले जिल्लाको मातहतमा रहने र समान हैशियत हुने भन्ने जनिने खालको विषयले मोरङको कमिटी गठनमा केही जटिलता भएको बताए । उनले केही दिन भित्रै छलफल गरेर समस्याको निकास निकाल्ने जानकारी दिए । एउटै भूगोलमा समान हैसियतका दुई कार्यकारी कमिटी गठन गर्दा चरम बिवाद सृजना हुन सक्ने तर्फ नेताहरु सचेत देखिएका छन् । 

महानगरपालिका जिल्ला कमिटी सरकै हुने अवस्थामा कार्यदलले दिएको सर्वसम्मत प्रतिवेदनका आधारमा कमिटी गठन गर्न समस्या छैन । तर महानगर कमिटी जिल्लाको मातहतमा रहने अवस्था भए महानगरको नेतृत्व गर्ने केही नेताहरुलाई जिल्लामा लैजानु पर्ने हुन्छ । त्यसले गर्दा पनि पहिले हैशियत स्पष्ट हुनु आवश्यक रहेको बताइएको छ । 

अर्को तर्फ पेशागत संगठनहरु कर्मचारी, शिक्षक र पत्रकारहरुलाई पार्टीको जिल्ला कमिटीमा लैजाने कि नलैजाने भन्ने अर्को जटिलता पनि देखिएको छ । पेशागत संगठनहरुको पार्टी हैशियत कसरी मिलाउने र उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि सहमति बनिसकेको छैन । यसले जिल्ला कमिटी गठन अझै केही दिन लम्बिने सम्भावना देखिएको छ । 

नेपाल कम्युनिष्ट पार्टीले १ सय ८५ जनाको मोरङ जिल्ला कमिटी गठन गर्ने सहमति यस अघि नै गरिसकेको छ । त्यसमा पूर्व नेकपा एमालेबाट १ सय १० जना र पूर्व नेकपा माओवादी केन्द्रबाट ७५ जना सहभागि हुने छन् । प्रदेश १ का १४ जिल्ला मध्ये तेह्रथुम, झापा, सुनसरी, धनकुटा, इलाम, ताप्लेजुङ लगायतको जिल्लामा एकता टुंगिसकेको छ ।

मोरङ बाहेक अन्य जिल्लामा ठूलो विवाद पनि छैन । जेठ ३ गते संयोजक र सचिवको टुंगो लागेको भएपनि जिल्ला कमिटी गठनको विषयमा औपचारिक छलफल अघि बढेको छैन । मोरङ जिल्ला कमिटीको संयोजक र सचिव दुवै पदको नेतृत्व नेकपाका केन्द्रीय सदस्यले गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर