• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

व्यवसायी रोबर्ट स्मिथ, जसले ४ सय विद्यार्थीको ऋण तिरिदिए

तस्विर : बिबीसी

जर्जिया । अमेरिकाको जर्जियामा अर्बपति व्यावसायी रोबर्ट फ्रेडरिक स्मिथले विश्वविद्यालयका चार सय विद्यार्थीलाई ग्राजुएसन उपहार दिएका छन् । स्मिथले उपहारको रुपमा यी चार सय विद्यार्थीको पढाईका लागि लिएको ऋण तिरिदिएको घोषणा गरेका छन् । 

को हुन् यति मनकारी अर्बपति व्यावसायी रोबर्ट फ्रोडरिक स्मिथ ?

आइतवार बिहान विशेषगरी अश्वेत विद्यार्थी पढ्ने मोरहाउस कलेजमा भएको ग्राजुएसन समारोहलाई सम्बोधन गर्ने क्रममा स्मिथले सन् २०१९ ब्याचका विद्यार्थीहरूलाई चकित पार्दै सबै ऋण ( करिब ४ करोड डलर) तिरिदिने वाचा गरे ।

केही वर्ष अघिसम्म अन्जान रहेका यी ५६ वर्षीय धनाढ्य व्यावसायी स्मिथ निजी लगानी कम्पनी भिस्टा इक्वीटी पार्टनर्सका संस्थापक हुन् । उनी अमिकाका एक चर्चित अश्वेत परोपकारी पनि हुन् ।

सफ्टवेअर कम्पनीहरूमा केन्द्रीत भिस्टाको कुल अनुमानित मूल्य ४६ अर्ब डलर पुगिसकेको छ । उनको व्यक्तिगत सम्पत्ति ५ अर्ब डलर छ । यसको अर्थ उनी अमेरिकाकै सबभन्दा धनी अश्वेत हुन् ।

धनको मामिलामा उनी ओप्रा विन्फ्रेभन्दा पनि अगाडि छन् । उनी डेन्भर कोलोर्‍याडोस्थित अफ्रिकी अमेरिकीहरूको बाक्लो बसोबास रहेको बस्तीमा हुर्किएका हुन् । उनका बुबाआमा स्कूलका प्रधानाध्यापक थिए ।

माध्यमिक स्कूलमा हुँदै खेरि स्मिथले बेल ल्याब्स नामक विज्ञान अनुसन्धान कम्पनीमा काम गर्न निवेदन दिएका थिए । तर कम उमेरको भन्दै उनको निवेदन स्वीकार भएन ।

तर उनले निरन्तर रूपमा पाँच महिनासम्म हरेक हप्ता कम्पनीलाई सम्पर्क गरिरहे । अन्तमा उनलाई स्वीकार गरियो । पछि स्मिथले कोर्नेल विश्वविद्यालयमा रासायनिक इञ्जिनियरिङ पढे। उनले कोलम्बिया विश्वविद्यालयबाट एमबीए पनि गरे ।

त्यसपछि उनले स्यान फ्रान्सिस्कोमा गोल्डम्यान स्याक्समा काम गरे जहाँ उनले एपल र माइक्रोसफ्ट जस्ता प्रविधि कम्पनीसँग काम गर्ने मौका पाए ।

सन् २००० मा उनले गोल्डम्यान स्याक्स त्यागे र आफ्नै भिस्टा कम्पनी खोले ।

लगानी उद्योगका यी विशिष्ट क्षेत्रमा आफूले कसरी जातीयतासँग जुध्न परेको भनेर उनले सन् २०१४ मा न्यूयोर्क टाइम्स पत्रिकालाई बताएका थिए । कतिपय अवस्थामा जातकै कारण आफूले अन्य सहकर्मीभन्दा दोब्बर काम गर्न मनोवैज्ञानिक दबाब अनुभूति गर्ने गरेको उनले बताएका थिए । 

निजी जीवन गोप्य नै राख्न रुचाउने स्मिथ अस्टिन टेक्ससमा आफ्नी पत्नी तथा पूर्व प्लेबोय मोडल होप डोराजिकसाथ बस्छन् ।

यसअघि पनि स्मिथले मोरहाउसलाई सहयोग गरेका थिए । त्यहाँ उनले छात्रवृत्ति एवं संस्था विकासका निम्ति १५ लाख डलर दिएका थिए ।

सन् २०१७ मा बील तथा मेलिन्डा गेट्स अनि वारेन बफेटले स्थापना गरेको गिभिङ प्लेज नामक परोपकारी प्रतिबद्धता अभियानमा आफ्नो अधिकांश धन दिने वाचा गर्ने उनी पहिलो अश्वेत अमेरिकी थिए । बिबीसी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर