मनाङेको पार्टी प्रवेशसँगै गण्डकी प्रदेशमा नेकपाको दुई तिहाइ

पोखरा । गण्डकी प्रदेशको मनाङ जिल्ला प्रदेश ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश गरेका छन् । सांसद गुरुङलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गण्डकी इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टीमा स्वागत गरेका छन् । 

मुख्यमन्त्री गुरुङले सांसद राजीवलाई टीका तथा खादा लगाएर नेकपाको विधान–२०७५ र निर्देशिका हस्तान्तरण गरेर पार्टी प्रवेश गराएका हुन् । सांसद गुरुङसँगै विप्लव नेतृत्वका पुराना कम्युनिस्ट नेता पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् । माछापुच्छ्रे गाउँपालिकाका इन्चार्ज कार्कीलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नै पार्टी प्रवेश गराएका थिए । 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांसद राजीव गुरुङ नेकपामा प्रवेशसँगै गण्डकी प्रदेशमा नेकपाको दुई तिहाइ पुगेको बताए । ६० सदस्यीय प्रदेशसभामा नेकपाका ४० जना सदस्य पुगेका छन् । 

मुख्यमन्त्री गुरुङले मनाङ जिल्लासँगै अब गण्डकी प्रदेश नै लालकिल्ला हुने बताए । अब नेकपामा पार्टी प्रवेशको लहर सुरु भएको भन्दै गुरुङले राम्रो काम गर्छु भनेर आउनेलाई नेकपामा स्वागत रहेको बताए । उनले कुनै व्यक्ति सुध्रन्छु भन्दा सुध्रने मौका नेकपाले दिने बताए । 

हाल विप्लव समूहमा रहेका पुराना कम्युनिस्ट नेता पुष्प कार्कीले बिहीबारदेखि विप्लव नेतृत्व नेकपाको सबै जिम्मेवारी परित्याग गरेर नेकपामा प्रवेश गरेको बताएका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर