बैंक तथा वित्तीय संस्था एकैसाथ मर्जरमा गए के होला सेयर बजार ?

' काराेबार राेक्का अवधि छोट्याउन माग'

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति संभवत राष्ट्र बैंकले यसै साता ल्याउँदैछ । मौद्रिक नीतिमा समेट्नुपर्ने विषयमा राष्ट्र बैंकले सरोकारवाला निकायबाट विभिन्न माध्यममा राय लिने क्रम जारी छ । 

मुद्रा आपूर्ति नियन्त्रण गर्नको लागि बनाइने नीति मौद्रिक नीति हो । वित्तीय नीति जस्तै मौद्रिक नीतिलाई पनि अर्थतन्त्रमा विशेष महत्वका साथ हेरिन्छ । मौद्रिक नीति आउने दिन नजिकिंदै गर्दा नीतिले समेट्ने विषयबारे विभिन्न कोणबाट बहस पैरवीहरु भइरहेका छन् । 

१८ औं मौद्रिक नीतिका रुपमा आउन लागेको तथा गर्भनर चिरञ्जीवि नेपालको अन्तिम मौद्रिक नीतिमा आउन लागेको बैंकहरुको बिग मर्जरले यतिबेला बजार तातिएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको बिग मर्जरको नीति ल्याउने तयारी गरेपछि धितोपत्रको दोस्रो बजारमा पार्ने प्रभाव बारे पनि बहस चलेको छ । ७० प्रतिशतभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुको हिस्सा रहेको नेपालको पूँजी बजारमा बिग मर्जरले प्रभावित पार्नेमा सरोकारवाला निकाय चिन्तित देखिएका छन् । 

नेपाल स्टक एक्सचेञ्ज नेप्से का प्रवक्ता मुरारी पराजुलीले बैंकहरुको मर्जर सहमतिपश्चात तय हुने स्वाप रेसियोपछि मात्रै कारोबार रोक्का हुने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाएका छन् । ‘एमओयू हुने बित्तिकै कारोबार रोकिने गरेको छ ।

यसलाई घटाएर स्वाप रेसियो निर्धारण भएपछि मात्रै कारोबार रोक्ने व्यवस्था ल्याउनु पर्छ ।’ उनले भने । नेप्सेमा राष्ट्र बैंकका दुई सञ्चालक सदस्य रहेको भन्दै यसलाई सम्बोधन गर्न हामीले धेरै दिन पहिले नै आग्रह गरेको प्रवक्ता पराजुलीले बताए । मौद्रिक नीतिका सम्बन्धमा राय–सुझाव लिन राष्ट्र बैंकले सोमबार आयोजना गरेको कार्यक्रममा समेत उक्त कुरा उठाएका पराजुलीले सो विषय सम्बोधन हुनेमा आशावादी रहेको प्रतिक्रिया दिए । यद्यपी यस विषयमा थप छलफल भने नभएको उनको भनाई छ । 

हाल दोस्रो बजारमा सुचीकृत भएका कुनै पनि मर्जरमा जाने सम्झौता गरेसँगै कारोबार रोकिने नियम रहेको छ । सो सम्बन्धमा ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले पनि कारोबार रोक्काको समय घटाउन सुझाव दिएका छन् ।

'मर्जरमा जाँदै गर्दा सबै कम्पनीहरुलाई ट्रेड गर्न रोक्दिने हो भने अहिले ४०/५० करोडको टर्नओभर  हुने बजारमा १० करोडमा झर्ने देखिन्छ ।' उनले भने, 'सेयरहोल्डरका लागि विचार गर्नेहो भने एकीकृत कारोबार हुने अघिल्लो दिनसम्म कारोबार हुन दिने र जसरी बुक क्लोजको एउटा सर्टेन पिरियडपछि हप्ता १० दिनको समय दिएर कारोबार रोक्ने स्थिती बनाउँदा उपयुक्त हुने देखिन्छ ।' यसलाई सम्बोधन हुन नसके बैंक फाइनान्स मात्र नभई समग्र क्यापिटल मार्केटलाई नै असर गर्ने उनको भनाई छ । 

त्यस्तै, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले मर्जर र एक्विजिसन गर्दा लामो समयसम्म कारोबार रोक्न नहुने बताएका छन् । 'कुल कारोबारको ७० प्रतिशत बैंक वित्तीय संस्था छन् । मर्जरका कारण कारोबार रोक्दा लगानीकर्ताको सबै पैसा लक हुन्छ ।'

अत्यन्त जरुरी भएपनि हामीले त्यो पैसा पाउँदैनौं । उनले भने, 'त्यसका कारण मर्जर र एक्विजिसनको गर्दा हप्तादिन भित्र कारोबार रोकेर गर्न सकिने जस्तो लाग्छ बाहिरको मोडेल हेरेर यसलाई सम्बोधन गर्नुहुनेछ ।' 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर