सहुलियतपूर्ण कर्जामा देखिएन आकर्षण, १६ जनाले मात्रै लिए शैक्षिक कर्जा

काठमाडौं । सरकारले ल्याएको सहुलियतपूर्ण कर्जामा सर्वसाधारणको आकर्षण देखिएको छैन् । सरकारले निकै महत्वका साथ ल्याएको यस्तो कर्जा कार्यक्रमको नौ महिनाको अवधिमा ३४ अर्बभन्दा केही बढी रकमको मात्रै लगानी भएको देखिएको छ । 

नेपाल राष्ट्र बैंकले दिएको तथ्यांक अनुसार विभिन्न सात प्रकारका कर्जामा हालसम्म ३४ अर्ब ४१ करोड १० लाख ४९ हजार मात्रै लगानी भएको देखिएको छ । राष्ट्र बैंकले गत असोज ११ सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि नै जारी गरेर यो कर्जा कार्यक्रम लागू गर्न निर्देशन दिएको थियो । 

स्वरोजगार बनाउन साथै आर्थिक समृद्धिमा टेवा पुर्याउने उदेश्यका साथ शिक्षित युवा स्वरोजगार, महिला उद्यमशीलता, विदेशबाट फर्किएका युवा परियोजना, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा, भूकम्प पीडितहरुको निजी आवास निर्माण एवम् व्यवसायिक कृषि तथा पशुपंक्षी लगायतका क्षेत्रमा सहुलियपूर्ण कर्जा दिने व्यवस्था गरिएको थियो ।

तुलनात्मक रुपमा कृषि कर्जामा बढी आकर्षण

उल्लेखित सात प्रकारका कर्जामध्ये सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपन्छी क्षेत्रमा बढी कर्जा प्रवाह भएको देखिन्छ । यो नौ महिनाको अवधिमा १५ हजार ९ सय १६ जनाका लागि ३३ अर्ब ९४ करोड १२ लाख ५८ हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ । व्यावसायिक कृषि तथा पशुपक्षी कर्जामा सरकारले ५ करोड रुपैयाँसम्म प्रदान गर्ने गर्दछ ।
निकै चर्चामा रहेको शिक्षित युवा स्वरोजगार कर्जा हालसम्म १६ जनाले मात्रै लिएको तथ्यांकले देखाउँछ । नेपाल राष्ट्र बैंकका अनुसार१६ जनाका लागि हालसम्म ९३ लाख ५० हजार रुपैयाँको कर्जा स्वीकृत भएको छ । स्नातक तहसम्म उत्तीर्ण गरेको बेरोजगारले शैक्षिक प्रमाणपत्रको आधारमा ५ प्रतिशत व्याज अनुदानमा ७ लाख रुपैयाँसम्म कर्जा पाउन सकिने व्यवस्था कार्यविधिले गरेको छ । 

त्यस्तै विदेशबाट फर्केका युवाहरुको लागि दिइने कर्जा ३२ जनाले लिएका छन् ।  विदेशबाट फर्किएका युवा परियोजनो २ करोड ३१ लाख ५० हजार रुपैयाँ स्वीकृति भएको राष्ट्र बैंकले जनाएको छ । यो कर्जा ५ प्रतिशत ब्याज अनुदानमा १० लाख रुपैयाँसम्म पाउन सकिने व्यवस्था छ ।

यता, महिला उद्यमशीलता कर्जा ५३५ जनाले लिएका छन् । ५३५ महिलाले ३७ करोड २३ लाख ३५ हजार रुपैयाँको कर्जा स्वीकृत भएको छ ।  कर्जा लिएका हुन्  ।  १८ वर्ष उमेर पुगेको कम्तीमा ५ जनाको समूहले १५ लाख रुपैयाँसम्म यो कर्जा पाउने व्यवस्था छ । यसमा महिला उद्यमीले ६ प्रतिशतसम्म ब्याज अनुदान पाउँछन् । 

त्यस्तै, उच्च व्यावसायिक तथा प्राविधिक कर्जा ५७ जनाले एक करोड ५८ लाख ६६ हजार रुपैयाँ लिएका छन् भने दलित समुदाय विकास कर्जा ५० जनाले २ करोड ७२ लाख २० हजार रुपैयाँ स्वीकृति पाएका हुन् ।

त्यस्तैै भूकम्प पीडितको निजी आवास निर्माण कर्जा ७६ जनाले कर्जा लिएको तथ्यांकले देखाउँछ । भूकम्प पीडितको निजी आवास निर्माण कजा ७६ जनाले २ करोड ७८ लाख ७० हजार रुपैयाँको स्वीकृति पाएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर