• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

किन लम्बियो ‘नेकपा’ एकता ? ‘भूमरी’ मा शीर्ष नेता !

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकताको बाँकी काम टुंगोमा नपुग्दा आमनेता तथा कार्यकर्ता छटपटिएका छन् । पार्टी एकता घोषणा भएको एक वर्ष नाघिसक्दा पनि पूर्णरूपमा एकता हुन नसक्दा नेता तथा कार्यकर्तामा अन्योल छाएको हो ।

पार्टी एकतापछि महत्त्वपूर्ण तथा जटिल काम टुंगोमा पुगे पनि विभाग, स्थानीय तह, पोलिटब्युरो कमिटी तथा केन्द्रीय सदस्यको कार्यविभाजनजस्ता विषयहरूमा सकस देखिएको छ । 

पोलिटब्युरो कमिटी गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजनसहित संगठन विभाग, स्कुल विभाग, विदेश विभाग, प्रचारप्रसार विभाग र आर्थिक विभागमा दिइने जिम्मेवारी सम्बन्धमा शीर्ष नेताहरू बीचमै विवाद रहेको बुझिएको छ । 

नेकपाका नेताहरूले लामो समयसम्म पार्टी एकताको काम अघि बढिरहेको बताए पनि काम हुन नसक्दा नेताहरूमा ‘वितृष्णा’ पैदा हुँदै गएको छ । नेकपाले पार्टी एकता घोषणापश्चात् तयार पारेको राजनीतिक प्रतिवेदन पनि छाप्नका लागि लान सकेको छैन । सचिवालय बैठकमा देखिएको विवादका कारण प्रतिवेदन छाप्न समस्या आएको बालुवाटार स्रोतको दाबी छ । 

पार्टी एकता घोषणाको एक वर्षभन्दा धेरै भइसक्दा पनि शीर्ष नेताहरू विभिन्न सार्वजनिक कार्यक्रममा आज र भोलि भन्दै एकताको समय लम्ब्याइरहेका छन् । 

आखिर किन ?

यति लामो समयसम्म पार्टी एकताको विषय ढिलो भएको र यस्तो हुन नहुनेमा नेकपाकै नेताहरू स्वीकार गर्छन् । नेकपाका स्थायी समिति सदस्य वेदुराम भुसालले राजनीतिक प्रतिवेदनमा विवाद टुंगिएको र अब एकता प्रक्रिया टुंगिने बताए । 

समाचार दैनिकसँगको कुराकानीमा नेता भुसालले भने– ‘पार्टी एकता यति ढिलो हुन हुँदैनथ्यो । अब पार्टीका कामहरू अघि बढ्न थालेका छन् । राजनीतिक प्रतिवेदन छापिने तयारीमा छ । सायद यो महिनामा पार्टी एकताका कामहरू सक्ने गरी नेताहरू लागेका छन् ।’ राजनीतिक प्रतिवेदनका कारण भन्दा पनि अन्य विविध संरचनात्मक विषयका कारण एकता प्रक्रिया ढिला भएको उनको निष्कर्ष छ । 

सचिवालयकै सदस्यहरू पनि पार्टी एकता हुनपर्ने समयभन्दा केही ढिलो भएको स्वीकार गर्छन् । दुई ठूला पार्टीको एकताभित्र केही सम्बोधन गर्नुपर्ने विषयहरू अवश्य रहेको भन्दै त्यसमा लाग्नुपर्दा पार्टी एकता ढिला भएको सचिवालयहरूको तर्क छ । 

नेताहरूले ढिलोमा वैशाखको पहिलो साता एकताको काम टुंगिने बताए पनि अहिलेसम्म एकताको कामले पूर्णता पाएको छ । पार्टी एकताको काम ढिला मात्र नभई धेरै ढिला भएको स्वीकार्छन् नेकपाका स्थायी कमिटी सदस्य भीम रावल । 

समाचार दैनिकसँग कुरा गर्दै नेता रावलले पार्टी एकताको काम ढिला हुँदा सिंगो पार्टी, नेता–कार्यकतालाई मात्र नभएर सिंगो देशलाई नै असर परेको उनले बताए । कुराकानीको क्रममा नेता रावलले भने, ‘पार्टी एकताको प्रक्रिया अविलम्ब चाँडो सकिनुपर्छ । हामीले तयार गरेका प्रतिवेदनहरू सचिवालयले टुंगोमा पु¥याउनुपर्छ भनेर मैले पहिलेदेखि नै भनिरहेको छु । राजनीतिक दस्तावेज वा प्रतिवेदनमा पार्टीका मूल्य र मान्यता संलग्न हुनुपर्छ ।’

राजनीतिक प्रतिवेदन बाहिर आउँदा नेता तथा कार्यकर्ताको भावना समेटिने हुनुपर्ने भन्दै उनले एकता प्रक्रिया ढिलो हुँदा पार्टी मात्र नभई देशलाई नै क्षति पुगेको बताए । ‘पार्टी एकताको कामलाई अझै ढिलो गर्नु भनेको झनै क्षति बढाउनु हो जस्तो लाग्छ मलाई,’ पार्टी एकताको सम्पूर्ण जिम्मेवारी पार्टी अध्यक्षद्वय र सचिवालयले गरेको भन्दै उनले भने, ‘म सहज कुरा गर्दिनँ । एकताको सबै जिम्मेवारी अध्यक्षद्वयले लिनुभएको हो र उहाँहरू पछि सचिवालयले लिएको हो । स्थायी समितले एकपटक कार्यदल बनाएको थियो । उक्त कार्यदल सचिवालयले भंग गरिदियो ।’ जिम्मेवारीको हिसाबमा नेताहरूले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेकोमा उनको असन्तुष्टि छ ।

‘भूमरी’मा शीर्ष नेता

एकता प्रक्रिया ढिलो भएसँगै पार्टीका शीर्ष नेताहरू आफैं समस्यामा पर्न थालेका छन् । पार्टी एकता घोषणासभामै तीन महिनाभित्र पार्टी एकताका सम्पूर्ण कामहरू सक्ने उद्घोष गरेका नेताहरूलाई पछिल्लो समय उत्तर के दिने ? भनेर समस्या पर्न थालेको छ । 

पार्टी एकताको विषयमा आउने कुनै पनि प्रश्नको जवाफ दिन यतिबेला शीर्ष नेताहरू असक्षम देखिएका छन् । सार्वजनिक कार्यक्रममा पनि नेताहरूले स्पष्ट जवाफ दिन छाडेका छन् । 

नेकपा स्रोतका अनुसार सचिवालयमा देखिएको चरम विवाद र असन्तुष्टिले नेताहरू ‘भूमरी’मा पर्न थालेका छन् । ओली र दाहालबीच गुटको अवस्था सिर्जना भएसँगै सचिवालयका सदस्यहरू विभाजित भएका छन् ।

नवगठित नेकपाको सचिवालयमा भएका नौ सदस्यमा नयाँ समीकरण बनेसँगै कार्यविभाजनमा ढिलाइ भएको हो । सचिवालय समूहमा नै एकातिर प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल र रामबहादुर थापा बादल छन् भने अर्कातिर अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर