विवाहको २ वर्ष नबित्दै पखालियाे रंगिलाकाे सिउँदो

घरमा नेताको घुँईचो

जनकपुरधाम । १९ वर्षिया रंगिला सिंहको बिहे सर्लाही ईश्वरपुर वडा नम्बर १३ का सरोज नारायण सिंहसंग दुई वर्ष अगाडी बडो तामझामका साथ भयो । दूबैको दाम्पत्य जीवन एकदमै सुमधुर बितिरहेको थियो । उनीहरु बिचको माया पनि एकदमै गहिरो थियो । उनीहरुको बिहे भएको १६ महिना पछि छोरा पनि पाए । रंगिलाको छोरो अहिले ७ महिनाको भईसकेको छ ।

तर, बुवाको माया स्नेह नपाउँदै ७ महिने अवोध बालकको बुवा सरोज प्रहरीको बर्बरताको शिकार भई सकेका छन् । रंगिलालाई जीवनभर साथ दिने सरोजको वाचाको सामू प्रहरीको गोली शक्तिशाली सावित भयो ।

रंगिला अहिले एक्ली भएकी छन् । उनलाई अब उनको ७ महिने अवोध बालकको लालन पालनको समस्या श्रृजना भएको छ । आफ्नो श्रीमान संगको सुनौलो भविश्यको सपना बुनेकी रंगिला अहिले बोल्न सक्ने स्थितिमा छैनन् तर उनको अनुहारले भने उनी भित्रको पीडालाई सहजै अनुभव गर्न सकिन्छ । 

केही दिन अगाडी मात्रै सर्लाही र महोत्तरी जिल्लाको सीमा भएर बग्ने बाके खोलाको बालुवा गीटी खन्नका लागि क्रसर उद्योगले खनेको खाल्डोमा ईश्वरपुर वडा नम्बर १३ कै १२ वर्षिय किशोर अमित कुमार रायको डुबेर मृत्यु भएको थियो । 

अवैध रुपमा खोलामा खनिएको खाल्डोमा अमितको मृत्यु भएपछि स्थानीयहरु आन्दोलित भए । क्षतिपुर्ती तथा न्यायको माग गर्दै पूर्व पश्चिम राजमार्ग नै अवरुद्ध पारेका  थिए । अवरुद्ध राजमार्ग खोलाउनका लागि पुगेको प्रहरीले गोली चलाउँदा सरोजको पनि मृत्यु भयो । त्यस पछाडि तर्सिएका पूरै गाउँ अहिले शोकाकुल छ । 

राजमार्ग अवरुद्ध गरेको आधा घण्टा भित्रै प्रहरीले गोली चलायो  
स्थानीय १२ वर्षिय अमितको अवैध रुपमा उत्खनन् गरी बनाइएको खाल्डोमा मृत्यु भएपछि ईश्वरपुर वडा नम्बर १३ का सयौँ गाउँवासी राजमार्ग अवरुद्ध गर्न पुगेका थिए । राजमार्ग अवरुद्ध पार्नका लागि युवा, महिला, वृद्ध, वृद्धा सबै त्यहाँ पुगेका थिए । स्थानीयवासीहका अनुसार बालक अमित डुबेको ३६ घण्टा पछाडी मात्रै उनको शव खाल्डो बाट निकाल्न सकियो । यस अगाडी उनीहरुले ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज देवकोटा, सर्लाहीका प्रमुख जिल्ला अधिकारी, एसपी, डिएसपी सबैलाई शव पत्ता लगाई दिनका लागि गुहार लगाए । तर कहि कतैबाट उपाय नलागेपछि उनीहरु आफैले खाल्डोको पानी बगाएर शव पत्ता लगाउन सफल भए । 

आउने दिनमा यस्ता घटनाहरु नहोस, अवैध उत्खनन् रोकियोस र क्षतिपुर्तीको माग गर्दै हामीहरु शान्तिपूर्ण रुपमा मात्रै आन्दोलन गरेको स्थानीयहरु बताउँछन् । 

स्थानीय नन्द किशोर सिंह पनि राजमार्ग अवरुद्ध पार्न पुगेका थिए । उनका अनुसार उनीहरु टेन्ट लगाएर शान्तिपूर्ण रुपमा आन्दोलन गर्दै बाटो अवरुद्ध पारेका थिए । उनले भने ‘हामीले बाटो अवरुद्ध पारेकै थियौँ कि एक हुल प्रहरी आएर हामीले लगाएको टेन्ट तोडेर फालि दियो, त्यस पछाडी एकाएक लाठीचार्ज गर्न शुरु गर्यो, हाम्रो ५ सय जनाको भीड तितर वितर भई सकेको थियो तर प्रहरीले ताकेर पछाडीबाट टाउकोमा गोली हान्यो’ । उनले लोकतन्त्रमा आन्दोलन गर्ने अधिकार हुन्छ तर शान्तिपूर्ण आन्दोलन गरेकै भरमा टाउकोमा गोली हान्ने सरकारले कस्तो लोकतन्त्रको परिकल्पना गरेको छ प्रश्न गरे । 

स्थानीय भरत खडका भन्छन् कही कतैबाट हाम्रो माग पूरा गर्नका लागि पहल नभएपछि शान्तिपूर्ण आन्दोलनका लागि बाटो अवरुद्ध पार्नका लागि पुगेका थियौँ । तर त्यहाँ पुगेको आधा घण्टा नबित्दै प्रहरीले घेरा हाली बिना कुनै चेतावनी हामी माथि दमन गर्यो । यो त लोकतन्त्रको मजाक उडाउनु नै खडकाले भने । 

बुवा जीवछ न्यायको आशमा
सरोजका बुवा जीवछ नारायण सिंह ६६ वसन्त पार गरि सकेका छन् । उनको दुई वटा छोरा छन् । जेठो छोरा २८ वर्षिय मनोज नारायण सिंह छन् अर्का छोरा सरोज नारायण सिंह प्रहरीको गोलीके शिकार भई सकेका छन् । परिवारको आर्थिक स्थिति कमजोर भएकै कारण जीवछले कान्छो छोरो सरोजलाई वैदेशिक रोजगारका लागि मलेशिया पठाएका थिए । छोरोको बिहे गर्ने उमेर भई सक्यो भनेर उनले दुई वर्ष अगाडी मात्रै बिहेका लागि घर फर्कन भनेका थिए । 

तर जीवछलाई के थाहा उनको छोरोको लागि यो बुलावा कालको बुलावा सावित हुनेछ । तर अहिले पनि उनमा न्याय पाउने आश छँदैछ । जीवछ न्यायका लागि स्थानीय नेताहरुले पहल गर्ने विश्वास व्यक्त गर्छन् । भारी मनले विश्वास व्यक्त गर्दै जीवछले नेताहरुले जे गर्छन् त्यो नै स्वीकार हामीलाई गर्नु पर्छ । हामी जनता आखिर गोरु न हो दुःख पोख्दै भने ।
 
सरोजको घरमा नेताहरुको घुईचो
प्रहरीको गोली लागी मृत्यु भएका सरोज नारायण सिंहको बिहिबार १३औँ पुण्य तिथि मनाइएको छ । उनको घरमा अहिले प्रत्येक नेताहरुको घुईचो लागेको हुन्छ । सोही क्रममा बिहिबार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि सरोजको परिवारलाई सान्त्वना दिनका लागि पुगेका थिए ।

उनले शोकाकुल परिवारलाई सान्त्वना दिदै दोषीलाई कारबाहीका लागि नेपाली कांग्रेसले आवाज उठाई रह्ने प्रतिवद्धता व्यक्त गरे । उनले यसका लागि नेपाली कांग्रेसले सदन पनि अवरुद्ध गरेको र घटनाको छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेको जानकारी दिए । 

यस अघि सान्त्वना दिनका लागि राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतो, प्रमोद साह, उद्योग वन तथा पर्यटन मन्त्री रामनरेश राय, प्रदेशसभा सदस्य उपेन्द्र महतो लगायतका नेताहरु समेत पुगेका थिए । 

नेताहरु सान्त्वनाका लागि पुगेपनि उनीहरुको वाचामाथि स्थानीयहरुलाई विश्वास लाग्दैन । उनिहरु भन्छन्, 'नेताहरु आउँछन्, आश्वासन दिन्छन् अनि फर्केर गएपछि कहिल्यै खोजखबर गर्दैनन् ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर