• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

मडुरोपुत्रको नेपाल भ्रमण : अमेरिकी चासाे, प्रधानमन्त्रीलाई चिन्ता !

नेपाल भ्रमणमा क–कसलाई भेट्यो टोलीले ?

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका छोरा निकोलस मडुरो गुयरा १५ सदस्यीय टोलीको नेतृत्व गर्दै केही दिनदेखि नेपाल भ्रमणमा छन् । भ्रमणका क्रममा गुयराले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूलाई भेटे । स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेट्ने तयारीमा थिए । तर, प्रधानमन्त्रीसँग उनको भेट हुन सकेन । 

भेनेजुएलाका राष्ट्रपतिका छोरा सुटुक्क नेपाल आउनुले यतिबेला नेपालको राजनीति गरमागरम बनेको छ । केही समयअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेनेजुएला र अमेरिका विवादमा दिएको विज्ञप्तिका कारण पनि छोरा गुयराको नेपाल भ्रमणले बढी चर्चा पाएकाे हाे ।

गुयराले नेकपाका अध्यक्ष ‘प्रचण्ड’, नेकपाका सचिवालय सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सचिवालय सदस्य तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, सांसदहरू बलराम बास्कोटा, दिनानाथ शर्मालगायतसँग भेट गरेका थिए । नेकपाका सांसदहरूसँग गुयराकाे टाेलीले संसद भवन बानेश्वरमा अन्तरक्रिया नै गर्याे ।

सत्ताधारी पार्टी नेकपाको भ्रातृ संगठन युवा संगठन नेपालको निम्तामा नेपाल आएका छोरा गुयरा सैनिक फौज (कप्र्स अफ स्पेसल इन्स्पेक्टर्स अफ दि प्रेसिडेन्सी) का प्रमुख हुन् । युवा संघको निमन्त्रणामा नेपाल आएका मडुरोसँग सहायक शिक्षामन्त्री र नेपालका लागि भेनेजुएली राजदूत कोरोमोतो गेदाई पनि सहभागी छन् । महत्वपूर्ण जिम्मेवारीमा भएका व्यक्तिहरू उमेरले भने यूवा देखिएका छन् ।

सत्ताधारी युवा संगठन नेपाल वल्र्ड फेडेरेसन अफ डेमोक्रेटिक युथ र भेनेजुएलाको जेपिएसयुभीमा आबद्ध भएका कारणले युवा संघले उक्त टोलीलाई नेपाल भ्रमणमा निम्त्याएको युवा संघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटाले समाचार दैनिकलाई जानकारी दिए । 

नेपाल भ्रमणमा क–कसलाई भेट्यो टोलीले ?

राष्ट्रपतिपुत्र गुयरासहितको १५ सदस्यीय टोली २८ असार २०७६ (१३ जुलाई) राती नेपाल आएको हो । २९ असार २०७६ बिहान उनीसहितको टोलीलाई सत्ताधारी युवा संगठन नेपालले होटल याक एन्ड यतीमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी स्वागत गर्यो । जुन कार्यक्रममा सचिवालय सदस्य झलनाथ खनाल चिफ गेस्ट थिए । उनिहरू मंगलबार चीन तर्फ लाग्दैछन् ।

सो कार्यक्रम सकिएपछि नेता गौतमलगायतका अन्य किसान नेताहरूसँग अन्तरक्रिया गरेको थियो भने दिउँसो नेकपाका अर्का नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए । 

लगत्तै, विद्यार्थी संगठनले ललितपुरको होटल समिटमा आयोजना गरेको लन्च बैठकमा सो टोली सहभागी भयो । सो टोली साँझ युवा संगठनले डिल्लीबजारको भोजनगृहमा आयोजना गरेको डिनर तथा कल्चर कार्यक्रममा सहभागी भयो ।

१५ जुलाई अर्थात् ३० असार बिहान नेकपाका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । प्रचण्डनिवास खुमलटारमा ३० गते बिहान नै दुवै सदनका प्रतिनिधि सांसदसँग टोलीले भेटवार्ता गरेको थियो । सोही दिन दिउँसो रमणीय स्थल चन्द्रागिरी पुगेर लन्च टोलीले साँझ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेको थियो । टोलीले प्रधानमन्त्रीसँग भने भेटवार्ता गरेन । टोली आज साँझ साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रचण्डको विज्ञप्ति र मडुरोको नेपाल भ्रमण

ल्याटिन अमेरिकी देश भेनेजुएला चरम राजनीतिक संकट व्यहोरिरहेको अवस्थामा छ । विश्वको धेरै पेट्रोलियम पदार्थ उत्पादन गर्ने देश भए पनि भेनेजुएलाले घट्दो मूल्य र अव्यवस्थाको कारण ठूलो आर्थिक संकट सामना गरिरहेको छ । 

गत वर्ष भएको चुनावमा राष्ट्रपति मडुरो पुनः राष्ट्रपतिमा निर्वाचित भएपछि संकट झनै गहिरिएको छ । विपक्षी दलको नतो हुँवा गुइदोले संसद्बाट अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएला लगभग गृहयुद्धको अवस्थामा पुगेको छ ।

गुइदोलाई अमेरिकासहित ५० भन्दा बढी देशले अन्तरिम राष्ट्रपतिको रूपमा स्वीकार गरेका छन् । मुदरोलाई चीन, रुस, टर्कीसहितका देशले समर्थन गरेका छन् । भेनेजुएलाको विवादमा गत माघमा नेपाल पनि मुछिएको थियो । 

त्यसबेला नेकपाका अध्यक्ष ‘प्रचण्डले जारी गरेको विज्ञप्ति विवादमा परेको थियो । सत्तारूढ पार्टीका अध्यक्ष दाहालको विज्ञप्ति जारी भइसकेपछि अमेरिकी दूतावासले नेपाल सरकारको धारणा माग गरेको थियो । यता, नेपाल सरकारले भने भेनेजुएलामा बाह्य हस्तक्षेपबाट सत्ता परिवर्तन गर्ने कार्यको विरोध भएको थियो । 

मडुरोको भ्रमण : परराष्ट्रलाई अमेरिकी दूतावासको प्रश्न, प्रधानमन्त्री कार्यालयको चासो
प्रचण्डले जारी गरेको विज्ञप्तिले त्यतिबेला ल्याएको तरंगको प्रभाव यो भ्रमणमा पनि देखिएको छ । नेपालस्थित अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयमार्फत भ्रमणबारे चासो देखाएको मन्त्रालय श्राेतले समाचार दैनिकलाइ बतायाे । दूतावासले भेनेजुएलाका राष्ट्रपतिका छोरा गुयनासहितको टोली नेपाल किन आयो ? केका लागि आयो ? र यो भ्रमणको लक्ष के हो ? काे–काे संग भेट गर्याे ? भनेर चासो राखेको छ ।

त्यस्तै, प्रधानमन्त्री कार्यालय बालुवाटारमा समेत यो भ्रमणका बारेमा छलफल भएको छ । बालुवाटार स्रोतका अनुसार पार्टीमा कुनै छलफल नभई अध्यक्ष दाहालसँग भएको टोलीको भेटघाटलाई बालुवाटारमा त्यति मन पराइएको छैन । 

गत माघमा अध्यक्ष दाहालले जारी गरेको विज्ञप्तिले अमेरिकासँगको सम्बन्ध केही कमजोर भएको र यो भ्रमणमा सत्ताधारी पार्टीका अध्यक्षको सहज भेटघाटले झनै सम्बन्ध बिगार्न सघाउ पुगेको बालुवाटार स्रोतको दाबी छ ।

अमेरिका–नेपाल सम्बन्धमा अध्यक्ष दाहालको भेटघाटले प्रधानमन्त्री केपी शर्मा ओली पनि सन्तुष्ट छैनन् । प्रधानमन्त्रीले निकटस्थहरूसँग त्यस्ताे असन्तुषटी पाेखेका हुन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर