• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

कोठी सञ्चालक छुटेपछि अर्जुननरसिंहले दिए न्यायाधीशलाई धन्यवाद, सुनबहादुरलाई आशीर्वाद

पीडितको बयान– ‘सुनबहादुरले बेचेका हुन्, कारबाही हुनुपर्छ’

काठमाडौं– भारतमा कोठी सञ्चालन गर्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का वडाध्यक्षलाई उच्च अदालतले सफाई दिएको छ । चेलीबेटी बेचबिखन गरेको आरोपमा दुप्चेश्वर–१ का वडाध्यक्ष सुनबहादुर तामाङलाई जिल्ला अदालत नुवाकोटले ३७ वर्ष ६ महिना जेल सजाय सुनाइएको थियो । तर, उक्त फैसला उल्टाउँदै उच्च अदालत पाटनले सफाइ दिएको छ । 

जिल्ला अदालत नुवाकोटले तामाङसहित उनका सहयोगीहरु सोही स्थानका शुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन कैद र टीकाराम तामाङलाई ३० वर्ष कैदसहित जनही रु दुई लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो । तर उच्चले सुनबहादुरलाई सफाइ दिएको छ ।

भारतको बम्बईमा कोठी सञ्चालन गरेर चेलिबेटीबेचबिखन गरेको अभियोगमा उनलाई प्रहरीले मानवबेचबिखन मुद्धा दर्ता गरेको थियो । दुई सयभन्दा बढी चेलीबेटी बेचबिखनको आरोप लागेका तामाङलाई उच्च अदालतका न्यायाधीश रमेशबहादुर थापा र हरिप्रताप केसीको संयुक्त इजलासले सफाइ दिएको हो ।

सुन बहादुर अदालतको फैसला पछि छुटेलगतै काँग्रेस नेताको निवासमा पुगे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले तामाङलाई  बधाई दिए । छुटे लगतै उनले न्यायाधीशहरूलाइ समेत धन्यवाद दिए । नेता केसीले सुनबहादुरलाई आशीर्वाद मात्रै दिएनन्, कार्यकर्ताको भावना अनुसार गाउँमा गएर काम गर्न सुझाब दिए । उनको रिहाई पछि काँग्रेसका नेता तथा कार्यकर्ताले खुसी साटासाट गरेका छन् । रेष्टुरेण्टमा उनले सबै शुभचिन्तकलाई खाजा खुवाए । खादा ओडाएर उनलाई कार्यकर्ताले स्वागत गरेका छन् । 

प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोको अनुसन्धानमा गाउँका वडाध्यक्ष समेत रहेको सुनबहादुर मात्रै होइन चेलिबेटी बेचबिखन प्रकरणमा परिवार नै मुछिएका छन् ।  सुनबहादुरका आफ्नै गाउँका तीन जना पीडित महिलाले बम्बईबाट फर्केर आएपछि प्रहरीमा जाहेरी दिएपछि मात्रै घटना सार्वजनिक भएको थियो । पीडितको जाहेरीको आधारमा नुवाकोट प्रहरी कार्यालयले उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरेको थियो । चेलीबेटी बेचबिखन मुद्दामा उनलाई जिल्ला अदालत नुवाकोटले ७ चैत २०७४ मा ३७ वर्ष ६ महिना जेल र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

पहिलोपटक सुनबहादुरलाई चेलीबेटी बेचबिखनको मुद्दा २०५१ सालमा लागेको थियो । त्यसपछि चार जनालाई बेचबिखनमा लाने प्रयास गरेको तर सिमा नकटाएको मुद्दामा नुवाकोट जिल्ला अदालतले २०६८  असोज २६ गते सुनबहादुरलाई ६ वर्ष कैद हुने फैसला सुनाएको थियो। जिल्ला अदालतको फैसला पनि केही समय उनी फरार नै रहे । प्रहरीले उनलाई ‘फरार’ सूचीमा राख्यो ।

२०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले समेत जिल्ला अदालत नुवाकोटको मुद्दालाई सदर गरेको थियो । त्यो मुद्दामा जिल्ला अदालत नुवाकोटले उनलाई ६ वर्ष कैद सजाय तोकेको थियो । तर, उनी जेल गएनन् ।

मुद्धा कमजाेर बनाउन पीडितलाई गाउँमै बन्धक 

यही बीचमा नुवाकोट घ्याङफेदीकै बेचिएकामध्ये दुई युवती दिल्लीस्थित कोठीबाट भागेर नेपाल फर्के । उनीहरूले ०७१ जेठमा नुवाकोट जिल्ला प्रहरी कार्यालयमा सुनबहादुरबिरुद्ध उजुरी गरे । प्रहरीले उनलाई पक्राउ र्गयो। तर सुनबहादुर अदालतबाट पाँच लाख रुपैयाँ धरौटीमा छुटे । त्यसबेला उनले मुद्दा कमजोर बनाउन पीडितलाई अदालतमै उपस्थित हुन दिएका थिएनन् । गाउँमै बन्धक बनाउन आफ्ना केटाहरु लगाए । सुनबहादुरले अदालतमा उपस्थित भए पीडितको परिवार नै समाप्त गर्नेसम्मको धम्की दिएका थिए ।

यसबीचमा उनी नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भए । फरार सूचीमै रहेकै बेला सुनबहादुरले २०७४ वैशाखमा स्थानीय चुनावमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराए । कांग्रेसबाट उनले वडाध्यक्ष जिते । त्यसपछि उनलाई काँग्रेस नेताले साथ दिए । पटक पटक काँग्रेस नेताहरूले सुनबहादुर निर्दाेष रहेकाे जिकीर गरेका थिए ।

पछिल्ला मुद्दामा काठमाडौं अदालतले धरौटीमा छाड्न आदेश दिए पनि उनी अघिल्लो आदेशका आधारमा जेल चलान भएका थिए । तामाङले दिल्ली र मुम्बईमा वेश्यालय सञ्चालन गरी त्यहाँ नेपालबाट लगिने चेलीलाई काममा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । भारतबाट भागेर आएका युवतीले जाहेरी दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीमाथि अनुसन्धान थालेको थियो । पीडितको उजुरीको आधारमा सीआईबीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा सुनबहादुरले बेचिएका महिलालाई बकपत्र दिन जानसमेत रोकेका थिए । कतिपय त बुबाको मिलेमतोमा समेत बेचिएको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो । सुनबहादुरले जागिर लगाइदिएको भनेर तलबबापत वार्षिक रुपमा १०–१२ हजार रुपैयाँ ल्याएर दिने गरेका थिए ।
 

पीडितको बयान– ‘सुनबहादुरले बेचेका हुन् कारबाही हुनुपर्छ’

२०६४ सालतिर हो जस्तो लाग्छ । १२ वर्ष हुँदा गाउँकै टीकाबहादुरसँग मेरो बिहे भएको थियो, पीडित (क) ले भनिन्, तानेर उसले बिहे गरेको हो । बिहे गरेपछि उसले काठमाडौं जाऔं भन्यो । काठमाडौं आएपछि जागिरका लागि भारत जाने भन्दै सुनबहादुर लगायतका मान्छेले दिल्ली लिएर गए । त्यहाँ जागिर होला भनेको त कोठीमा बेचिएको रहेछ । सात वर्षसम्म त्यहीँ बसें । एक दिन बाहिर निस्केको बेला एक जना नेपालीसँग भेट भयो । उहाँसँगै लागेर नेपाल आएँ । सुनबहादुरले म जस्ता गाउँका धेरै जनालाई नरकमा पु¥याएर बेचेको छ । उसलाई कडा कारबाही हुनुपर्छ । कारबाही नभए उसले गाउँलेलाई दुख दिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर