• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

जुत्तासँगै भविष्य सिलाउँदै पूर्वजनमुक्ति सेनाका क. ‘रन्जित’

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको वीरेन्द्र चोक असाध्यै व्यस्त चोकको रूपमा चिनिन्छ । जनआन्दोलनअघि यो चोकको बीचमा तत्कालीन राजा वीरेन्द्रको सालिक थियो । त्यसैले हो, यो चोकको नाम पनि वीरेन्द्र चोक रहेको । उसो त वीरेन्द्रनगर नगरपालिकाको नाम पनि वीरेन्द्र राजाको नामबाटै राखिएको हो । 

यो सहरलाई राजा वीरेन्द्रले मन पराएको सहरको रूपमा चिन्ने गरिन्छ । त्यसैले यसको नाम पनि वीरेन्द्रनगर नाम रहन गयो ।

अहिले यहाँ तत्कालीन राजा वीरेन्द्रको सालिक त छैन । तर, चोकको नाम भने अद्यापि वीरेन्द्र चोक नै छ । वीरेन्द्रको हत्या भएको १८ वर्ष बितिसक्यो, तर वीरेन्द्र चोक अहिले पनि आफूलाई अस्तित्वमा राखेर बाँचिरहेको छ । 

गणतन्त्र ल्याउनका लागि भएको १९ दिने जनआन्दोलन र माओवादीको सशत्र जनयुद्ध भएको बेला राजा वीरेन्द्रको सालिक ढल्यो । सालिक मात्र ढलेन २ सय ४० वर्ष भन्दा धेरै राज गरेको राजतन्त्र नै ढल्यो । त्यसैले राजाको सालिक भएको ठाउँमा सानो निसानाको रूपमा मात्र रहेको चित्र देखिन्छ । 

यो चोक हुँदै दिनहुँ हजारौं मानिस ओहोरदोहोर गर्छन् । यही चोकको माथिपट्टि सानो खाली जमिन छ । त्यही खाली जमिन भएको ठाउँबाट नेपाल प्रहरीले सर्वसाधारणलाई सुरक्षा दिइरहेको छ । अनि सोही खाली ठाउँमा हो धेरै मानिसले आफ्नो भविष्यको गोरेटो सिउने । 

यही ठाउँमा जुत्ता सिलाउनेहरूको एक समूह छ । दैनिक सयौँ जनाका जुत्ता सिलाइरहेका हुन्छ । अर्थात् भनौं, जुत्तासँग आफ्नो परिवारको भविष्य सिलाइरहेका हुन्छन् । त्यो समूह एक स्वरले भन्छ– ‘हामी च्यातिएका जुत्ता सिलाउने सियो र धागोले आफ्नो जीवनको उध्रेको भविष्य पनि सँगै सिलाउँछौं ।’

जनयुद्धका एक पूर्व जनमुक्ति सेना पनि यही समूहमा मिसिएर जीवनको भविष्य सिलाइरहेका छन् । देशको भविष्य सिलाउने तीव्र आकांक्षा लिएर जनयुद्धमा होमिएका एक योद्धा अहिले यहीँ बसेर आफ्नो जुत्तासँगै परिवारको भविष्य सिलाइरहेका छन् ।  

उनी अर्थात् कमल रोकाया, ऊर्फ ‘रन्जित’ । 

उमेरले तीन दशक पार गरेका कमलको दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ का स्थायी बासिन्दा । हिजोआज जुत्ता सिलाएर दैनिक एक हजारदेखि १५ सय रुपैयाँसम्म आम्दानी गरिरहेका कमल २०५८ सालमा आफ्नो वर्गको मुक्तिको लागि भनेर भूमिगत राजनीतिमा प्रवेश गरेका थिए ।

जनमिलिसियाको कमान्डर हँुदै जनमुक्ति सेनामा प्रवेश भएको बताउने कमल जीवनमा पहिलोपल्ट म्याग्दीमा भएको भिडन्तमा शाही सेनाको गोली हातमा लागेर घाइते भएको बताउँछन् । 

त्यो बेलामा लागेको गोलीको असरले उनको हातले अहिले पनि राम्रो काम गर्दैन । राम्रोसँग जुत्ता सिलाउन सक्दैन । 

अन्यायविरुद्ध लड्न युद्धमा होमिएको उनी अहिले आफैं अन्यायमा परेको बताउँछन् । युद्धमोर्चामा आफूलाई होम्ने कमान्डर महेन्द्रबहादुर शाही अहिले कर्णाली प्रदेशै मुख्यमन्त्री छन् । 

आफू जुत्ता सिलाउँदै गर्दा मुख्यमन्त्री शाहीको गाडीले उडाएको धुलो धेरैपटक खाएको तर मन्त्री शाहीले आफूलाई नचिनेको दुःखद अनुभव छ उनीसँग । 

‘देशमा परिबर्तन ल्याउन लडेको लडाईंप्रति उनलाई कुनै पछुतो छैन । तर, हिजो एकै थालीमा भात खाएर एउटै मोर्चामा एउटै लक्ष्यको निम्ति लडेका साथीहरूले आफुलाई चिन्न छाडेकोमा उनलाई धेरै ग्लानिबोध हुने रहेछ । 

तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले देखाएको परिवर्तनका अनेकाँै सपना मुटुमा सम्हालेर युद्धको अग्रमोर्चामा लडे उनी । तर, घुमीफिरी रुम्जाटार भनेजस्तै आज फेरि उही काम गरेर खानु परेकोमा उनी दुःखी छन् । 

भन्छन्, ‘‘गाँउघरका मानिसले त मलाई हेला गरेका थिए नै, तर आज आएर पार्टीले समेत हेला ग¥यो । मलाई अरू केही पनि आशा थिएन । मेरो वर्गलाई मुक्त बनाइदिएको भए हुन्थ्यो । मेरो समुदायलाई रोजगारी दिलाएको भए हुन्थ्यो । मेरो कर्णालीको आर्थिक अवस्था उन्नत बनाइदिएको भए पनि म खुसी नै हुन्थेँ । युद्धमा लाग्दा घाइते भएकाले गरिखान पनि कठिन भएको छ ।’
 

उनी पार्टीको आदेशको पालना गर्दै ‘ढाडमा टेकेर टाउको हान्ने’ योजनामा गण्डक अभियानभरि लडे । तर आज त्यो बेलाका सपना सबै सपनामै विलीन हुँदा उनको मन कम्ता रुँदैन । 

त्यो बेलामा उनको बिग्रेड कमान्डरको भूमिकामा रहेका ओमप्रकाश पौडेल ‘रमेश’ भने कमलको त्यो अवस्था देख्दा आफु नरमाइलो लाग्ने बताउँछन् । उनीजस्ताका लागि भनेर आफु कैयौंपकट चोटी मुख्यमन्त्रीकोमा गएको र र पूर्व जनमुक्ति सेनाका लागि केही गर्न सुझाव दिएको बताउँछन् । 

पौडेलको कमान्डरकै भूमिकामा रहेका कालीकोट पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल कमलको त्यो अवस्था देख्दा आफूलाई दुःख लागेको बताउँछन् । 

आफू पनि त्यो अवस्था अन्त्य गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारलाई विशेषगरी गरेर आन्दोलनको निम्ति लडेका साथीहरूको व्यवस्थापनका लागि लागिपर्ने सेजुवाल बताउँछन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर